मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ ४ बुधबार ०८:१८:००
Read Time : < 1 मिनेट
अर्थ

आयातीत तरकारीको विषादी परीक्षण सुरु भएन

Read Time : < 1 मिनेट
२०७६ भदौ ४ बुधबार ०८:१८:००

प्रदेश–१ सरकारले स्थापना गरेको विषादी अन्वेषण प्रयोशालामा अझै विदेशबाट आयात गरिएका तरकारीको परीक्षण हुन सकेको छैन । विराटनगर भन्सार कार्यालयले मान्यता नदिँदा प्रदेश सरकारको कृषि, भूमि तथा सहकारी मन्त्रालयले विराटनगरमा स्थापना गरेको ‘विषादी दु्रत विश्लेषण प्रयोगशाला’मा भारतबाट आयात भएका तरकारीको अझै परीक्षण नभएको हो । ‘विषादी दु्रत विश्लेषण प्रयोगशाला’मा २३ असारदेखि नै फलफूल र तरकारीको विषादी परीक्षण गर्न थालिएको थियो । तर, अझैसम्म भन्सारले कुनै पनि तरकारी परीक्षणका लागि नपठाएको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बताए । सचिव विष्टका अनुसार आयात गरिएका तरकारी परीक्षण गराउन पठाउनका लागि अनुरोध गर्दा पनि भन्सार कार्यालयले चासो दिएको छैन ।

विराटनगर भन्सारले अझैसम्म आयात गरिएका तरकारीको विषादी जाँच गर्न झापाको बिर्तामोडमा रहेको प्रयोगशालामा पठाउने गरेको छ । तर, विराटनगर भन्सारका एजेन्टले चाहिँ विराटनगरमै प्रयोगशाला स्थापना भइसक्दा पनि अझै एक सय किलोमिटर टाढा बिर्तामोड पुगेर परीक्षण गराउनुपर्ने अवस्थाको चाँडो अन्त्य गर्न माग गरिरहेका छन् । 

विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम पौडेलले विभागबाट परिपत्र नभएकाले प्रदेश सरकारको प्रयोगशालामा आयात भएका तरकारी परीक्षणका लागि पठाउन नसकेको बताए । उनले यसबारेमा माथिल्लो निकायमा परिपत्र भइसके पनि जावाफ प्राप्त नभएको बताए । प्रदेश सरकारले १८ लाखमा मेसिन, ४ लाखमा ल्याब सामग्री र ३ लाखमा ल्याबशाला निर्माण गरेर २३ असारदेखि विषादीको अवशेष परीक्षण गर्न थालेको हो । हालसम्म उक्त प्रयोगशालाले बजारबाट संकलन गरेर १४ सय ९४ वटा विषादीको नमुना परीक्षण गरिसकेको जनाएको छ । जसमा २ वटा तरकारीका नमुना खान अयोग्य पाइएको थियो । बाँकी १४ सय ८१ नमुनामा विषादी प्रयोग गरेको देखा परे पनि खानयोग्य पाइएको थियो ।