मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३ मंगलबार ०८:४५:००
Read Time : > 1 मिनेट
सम्पादकीय

बजेट खर्च गर्नै सकस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ३ मंगलबार ०८:४५:००

हरेक आर्थिक वर्षको आरम्भमा गएको वर्ष यस्तै भयो, आउने वर्षमा बजेट पूराका पूरा खर्च गरिन्छ भन्ने वचन अर्थमन्त्री र अर्थ मन्त्रालयका पदाधिकारीले दोहो-याउने गरेको दशकौँ भयो । तर, हरेक वर्षान्तमा उही अवस्था दोहोरिने गरेको छ । सडकमा पोखिने बजेटको गति हेर्दा यस्तो बजेटको एउटा हिस्सा खर्च गर्नकै लागि मात्र खर्च गर्ने गरी असारतिर सडक र ढल बन्न थाल्छन् र वर्षासँगै तिनको बेहाल पनि सुरु हुन्छ ।

बजेट खर्च गर्ने संरचनागत आधार बलियो नबनाई गरिने वाचाको परिणाम यस्तो हुने नै भयो । यसलाई सम्बोधन गर्न भन्दै असारको साटो १५ जेठमै बजेट ल्याउन थालियो । तर, त्यसले पनि लागेको रोग निको भएन । गत वर्ष पनि पूरा बजेट समयमै खर्च हुन सकेन । यसको अर्थ एकातिर तोकिएका आयोजना सम्पन्न भएनन् ।

अर्कातिर बजेट खर्च नहुँदा अर्थतन्त्रमा गतिशीलता आउन मुद्राको जुन भूमिका हुन्छ, बजेटले रोजागारी सिर्जना गर्ने र लगानी वृद्धिसँगै कुल गार्हस्थ उत्पादन वृद्धिमा योगदान गर्ने जे अपेक्षा गरिएको हुन्छ, त्यो पनि पूरा भएन ।

यस वर्षको बजेट पेस हुनुअघि संसद्मा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले यो वर्ष यस्तै भयो, अर्को आर्थिक वर्षमा दिन गनेर बस्नुस्, खर्च गर्छु भनेर वाचा गरेका थिए । तर, साउनमा बजेट खर्चको प्रगति अत्यन्त निराशाजनक छ । यो महिनाभरि केबल ०.१५ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । यसले आउने वर्षमा पनि पूरा बजेट खर्च हुने र आयोजनाहरू समयमै सम्पन्न हुनेमा शंका जन्माउँछ ।

जेठमा बजेट पेस गर्नुअघि अर्थमन्त्री खतिवडाले यस आर्थिक वर्षमा बजेट खर्च गरिछाड्ने वाचा गरे पनि साउनमा बजेट खर्चको प्रगति अत्यन्त निराशाजनक छ

यतिवेला विश्वभर आर्थिक वृद्धिदर घट्दै गएको छ । विश्व अर्थतन्त्रमा दश वर्षअघि देखिएको ठूलो मन्दीबाट अर्थतन्त्र उक्सन नपाउँदै अर्को मन्दीको भय उत्पन्न भएको छ । अमेरिकालाई महान् बनाउन भन्दै सत्तामा आएका डोनाल्ड ट्रम्पले लिएको अनुदारवादी नीतिले विश्वकीकरणलाई रोक्दै व्यापारका स्थापित संस्था र प्रणालीलाई भत्काउँदै छन् । पहिलो र दोस्रो ठूला अर्थतन्त्र व्यापार युद्धमा छन् । विश्व अर्थतन्त्रको एकतिहाइ वृद्धिलाई सहयोग गर्दै आएको चीनको आर्थिक वृद्धिदर खस्केको छ ।

जर्मनी मन्दीतिर जाँदै छ । भारतकै आर्थिक वृद्धिका सूचक दुई वर्षदेखि ओरालो लागेका छन् । विश्व अर्थतन्त्रमा आउने परिवर्तनले नेपालका लागि पार्ने प्रभाव त्यति ठूलो नभए पनि यसका बाछिटा यहाँसम्म आउने निश्चित छ ।

आफ्नै बलबुतामा लगानी बढाउने, उद्योग स्थापनाका लागि आन्तरिक र बाह्य लगानीको वातावरण निर्माण गर्ने, पूर्वाधारको विकासमार्फत उद्योग र व्यापारको लागत घटाउने, प्रतिस्पर्धा र तुलनात्मक लाभका क्षेत्र पहिचान गरेर त्यसलाई प्रोत्साहित गर्दै औद्योगिकीकरणको बाटो नसमात्ने हो भने विश्वमा आउन सक्ने मन्दीले हाम्रो श्रम गन्तव्य मुलुकको अर्थतन्त्रलाई पार्ने प्रभावबाट पर्न सक्ने दबाब थेग्न हामी असमर्थ हुनेछौँ ।

यसका लागि सरकारले गर्न सक्ने महत्वपूर्ण  काम भनेकै बजेटले परिकल्पना गरेको वृद्धिदर हासिल हुने गरी बजेट खर्च गर्नु हो । यसैमा सरकार चुक्दै गयो भने हामी नयाँ दुश्चक्रमा फस्ने सम्भावना हुन्छ । अर्थमन्त्रीको ध्यान यसमा जानु जरुरी छ ।