Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २ सोमबार ११:४४:००
Read Time : > 1 मिनेट
खेलकुद

किर्गिस्तानसँग खेल्दै नेपाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २ सोमबार ११:४४:००

नेपालमा पहिलोपटक आयोजना हुन लागेको एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिता सोमबारबाट सुरु हुँदै छ । एभिसीको बी श्रेणीमा रहेका एसियाका उत्कृष्ट सात टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोह भव्य बनाउने तयारी आयोजक नेपाल भलिबल संघले गरेको छ । नेपाल भलिबल संघका सचिव जगदीश भट्टले पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी भएको नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘हामी यो प्रतियोगिता पहिलोपटक आयोजना गर्दै छौँ,’ सचिव भट्टले भने, ‘त्यसैले हामीले यसलाई अविस्मरणीय बनाउने प्रयास गरेका छौँ । त्यसको सुरुवात उद्घाटन समारोहबाटै हुनेछ ।’ लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक प्रशिक्षक तथा खेलकुद केन्द्रमा हुने उद्घाटन समारोहमा सांस्कृतिक तथा विशेष प्रस्तुतिहरू रहनेछन् । 

किर्गिस्तानविरुद्ध तयार
प्रतियोगिताको उद्घाटनलगत्तै आयोजक नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल यो खेलमा जितसहित सुखद सुरुवात गर्ने योजनामा छ ।  किर्गिस्तान प्रतियोगिताको बलियो टोली हो । सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले किर्गिस्तानसँग दुईपटक प्रतिस्पर्धा गरेको छ । सन् २०१५ मा भएको सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमै नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।  त्यो भेटमा जित हात पारेको नेपालले गत वर्ष बंगलादेशमा भएको चौथो संस्करणमा किर्गिस्तानसँग हारको सामना गर्‍यो । 

घरेलु कोर्ट र दर्शकको साथ
नेपालले यसपटक घरेलु कोर्ट र दर्शकको अपार साथ पाउनेछ । पुनः एकपटक किर्गिस्तानसँग आमने–सामने हुँदा नेपालको लक्ष्य जित नै रहनेछ । ‘पछिल्लोपटक प्रतिस्पर्धा गर्दा किर्गिस्तान हामीभन्दा केही माथि थियो,’ नेपाली टोलीका कप्तान इमबहादुर रानामगर भन्छन्, ‘यसपटक हामी घरमै प्रदर्शन गर्दै छौँ । हामीलाई परिचित मैदान र घरेलु दर्शकको साथ हुनेछ । त्यसैले पनि हामी सुखद सुरुवात गर्नेमा ढुक्क छौँ ।’ 

क्षमताअनुरूप प्रदर्शन हुने
नेपाली टोलीका प्रशिक्षक सुदेश रिमाल नेपाली खेलाडीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गरेको अवस्थामा किर्गिस्तानविरुद्ध जित निश्चित रहेको बताउँछन् । ‘यसपटक हाम्रो तयारी राम्रो भएको छ । खेलाडीले आफ्नो जिम्मेवारीबारे राम्रोसँग बुझेका छन्,’ प्रशिक्षक रिमाल भन्छन्, ‘यदि नेपाली टोलीले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्छन् भने जित हाम्रो निश्चित छ । किर्गिस्तान पनि राम्रो टोली हो । उनीहरूविरुद्धको योजना भने हामी अवस्था हेरेर मैदानमै तय गर्नेछौँ ।’

इम र धनबहादुर फिट
प्रतियोगिताको तयारीस्वरूप यसअघि खेलिएको मैत्रीपूर्ण खेलका क्रममा घाइते बनेका कप्तान इम र ओपन स्पाइकर धनबहादुर भट्ट किर्गिस्तानविरुद्धको खेलका लागि ‘फिट’ भएका छन् । नेपाली टोलीका व्यवस्थापक मंगल श्रेष्ठका अनुसार दुवै खेलाडीले किर्गिस्तानविरुद्ध खेल्नेछन् । दुवै नेपाली टोलीको पहिलो रोजाइका खेलाडी हुन् । अफगानिस्तानविरुद्धको खेलमा इमको खुट्टा फर्किएको थियो भने सट ब्लक गर्नेक्रममा विपक्षी खेलाडीले कुल्चिदिएपछि धनबहादुरको खुट्टामा चोट लागेको थियो । सोही कारण दुवै खेलाडीले अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेलेका थिएनन् ।