१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तीर्थराज बस्नेत काठमाडौं
२०७६ भदौ २ सोमबार १०:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

दुई वर्षमा चार टेन्डर तर, पूरा भएन मेलम्चीको पानी वितरण प्रणाली 

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत काठमाडौं
२०७६ भदौ २ सोमबार १०:३३:००

मेलम्चीको पानी वितरण गर्ने सिस्टम सुपरभिजनरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) प्रणाली विकास गर्ने प्रयास दुई वर्षसम्म पनि सफल हुन सकेको छैन । दयस अवधिमा तीन टेन्डर आह्वान भएका छन्, तर उपयुक्त कम्पनी फेला पर्न सकेको छैन । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले गत साता प्रणाली विकासका लागि चौथोपटक टेन्डर आह्वान गरेको हो । ‘दुई वर्षमा हामीले चौथोपटक टेन्डर आह्वान गरेका हौँ,’ निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले भने, ‘यसअघिका टेन्डर प्रक्रियामा सहभागी भएका कुनै पनि कम्पनीको प्राविधिक योग्यता पुगेको देखिएन ।’

पहिलोपटक गरिएको टेन्डर प्रक्रियामा चिनियाँ र भारतीयकम्पतीले समेत प्रस्ताव हालेका थिए । तर, ती कम्पनी योग्य देखिएनन् । दोस्रोपटकमा कुनै पनि कम्पनीको आवेदन नपरेको निर्देशनालयले जनाएको छ । तेस्रोपटकमा एक फ्रेन्च कम्पनी योग्य देखिए पनि लागत स्टिमेटभन्दा सय प्रतिशतभन्दा बढीको प्रस्ताव हालेका कारण कम्पनी छनोट हुन नसकेको खत्रीले बताए ।  

७१ करोडको टेन्डर 
स्काडाको टेन्डर ७१ करोडबराबरको हो । तेस्रोपटकसम्म पनि कम्पनी छनोट हुन नसकेपछि निर्देशनालयले स्टिमेट परिवर्तन गरेर चौथोपटक टेन्डर आह्वान गरेको जनाएको छ । ‘हामीले स्टिमेटमा केही परिवर्तन गरेका छौँ । यसपटक भने उपयुक्त कम्पनी छनोट हुने विश्वास लिएका छौँ,’ खत्रीले भने, ‘छनोट भएको कम्पनीले प्रणालीलाई आवश्यक उपकरण खरिद, जडान र त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ ।’ छनोट हुने कम्पनीले दुई वर्षभित्र काम सक्नुपर्ने छ । 

मेलम्चीको पानी काठमाडौं आइसक्दा प्रणाली जडान गरिसक्नुपर्ने बाध्यता रहेको निर्देशानालयले जनाएको छ । ‘अहिले जसरी (म्यानुअली) पानी वितरण गर्दा ठूलो जनशक्ति आवश्यक पर्छ । त्यसैले पनि पानी काठमाडौं आउँदा यो प्रणाली जडान गरिसक्नुपर्ने छ,’ खत्रीले भने, ‘यसपटक पनि उपर्युक्त कम्पनी छनोट नहुने हो की भन्ने चासो र चिन्ता हामीमा छ ।’

के हो स्काडा प्रणाली ? 
यो एक पानी वितरण गर्ने डिजिटल प्रणाली हो । एकै कक्षबाट कम्प्युटरको सहयताले पानी वितरण, नियन्त्रण र बन्द गर्न सकिने प्रणाली नै स्काडा प्रणाली हो । मेलम्चीको पानी वितरणका लागि जडान गरिने यो प्रणालीको मुख्य कक्ष त्रिपुरेश्वरमा हुनेछ । यस्तै, पानीपोखरीमा समेत अर्को कक्ष रहने निर्देशनालयले जनाएको छ । स्काडा प्रणालीबाट कुन क्षेत्रमा कति पानी बगिरहेको छ भनेरसमेत हेर्न सकिन्छ ।

‘मिटर रिडिङबाहेक अन्य काम स्वचालित ढंगले गर्न सकिन्छ,’ खत्रीले सुनाए, ‘यसलाई अटोमेसनसमेत भनिन्छ । यसबाट ट्यांकी, पाइप र भल्वको अवस्था समेत पत्ता लाग्छ ।’ निर्देनालयले उपत्यकालाई विभिन्न क्षेत्र र एकाइमा विभाजित  गरेर समानुपातिक पानी वितरणको लक्ष्य राखेर स्काडा प्रणालीको विकास गर्न लागिएको जनाएको छ । म्यानुअली पानी वितरण गर्दा पाँच सयभन्दा बढी जनशक्ति चाहिने तर, आटोमेसन प्रणालीमा भने करिब १५० कर्मचारी पर्याप्त हुने बताइएको छ ।