मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २ सोमबार १०:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

दक्षिण सुडानमा सशस्त्र प्रहरी थप हुने

Read Time : > 2 मिनेट
२०७६ भदौ २ सोमबार १०:२३:००

जिम्मेवारी धेरै तथा जनशक्ति थोरै भएपछि संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त अफ्रिकी देश दक्षिणी सुडानमा खटिएका सशस्त्र प्रहरीको संख्या थप गर्ने भएको छ । बोर र वाउ सेक्टरमा खटिएका नेपाल एफपियू–२ को जनशक्ति थप गर्न लागिएको हो । 

हाल १४० जनाको नेपालको एफपियूलाई दुईवटा ठाउँमा खटाइएको छ । जसले गर्दा काम गर्न समस्या भएपछि नेपालको आग्रहमा जनशक्ति थप हुन लागेको हो । नेपाल एफपियू–२ का कमान्डर एसपी शान्तिकुमार कार्कीका अनुसार कम्तीमा २० जना जनशक्ति थप हुने निश्चित भएको छ । ‘हामीले ४० जना थप गर्न प्रस्ताव गरेका छौँ,’ उनले भने, ‘अनमिसले (दक्षिण सुडानका लागि राष्ट्रसंघीय शान्ति मिसन) कम्तीमा २० जना थप्ने जानकारी दिएको छ ।’ 

दक्षिण सुडानमा सशस्त्र प्रहरी बल, नेपालका दुईवटा एफपियू छन् । राजधानीमा जुबामा १८० जनाको टोली कार्यरत छ । त्यस्तै, १४० जनाको टोली बोर प्रान्तमा खटिँदै आएकोमा गत वर्षदेखि आकस्मिक रूपमा सो टोलीमध्ये ८० जनालाई वाउ सेक्टरमा अनमिसले खटाएको छ । वाउमा खटिएको घानाको एफपियूले आचरणविपरीत काम गरेपछि उनीहरूलाई फर्काएर नेपाल एफपियूलाई जिम्मेवारी दिइएको हो ।

यसरी तीन महिनासम्म मात्र अन्यत्र खटाउन सक्ने प्रावधान भए पनि एक वर्षदेखि नेपाल एफपियूलाई दुई ठाउँमा खटाइएको छ । आर्थिक समस्याका कारण एउटै एफपियूलाई दुई ठाउँमा खटाउनुपरेको अनमिसका अधिकारीले बताएका छन् । 

शरणार्थी क्याम्पको सुरक्षाको जिम्मेवारी नेपाल एफपियूलाई
वाउमा नेपाल एफपियूको मुख्य जिम्मेवारी भनेको अनमिसको कार्यालयवरिपरि बस्दै आएका आन्तरिक शरणार्थीको सुरक्षा गर्नु हो । करिब १३ हजार शरणार्थी रहेको क्याम्पमा रहेका दुईवटा गेटमा २४सै घन्टा सुरक्षाको जिम्मेवारी नेपाल एफपियूलाई दिइएको छ । शरणार्थी शिविरभित्र विभिन्न आपराधिक गतिविधि र झैँझगडासमेत हुने भएकाले त्यसमा संलग्नलाई पक्राउ गरेर नेपाल एफपियूले स्थानीय प्रहरीलाई बुझाउने गरेको छ ।

पछिल्लो एक वर्षमा शिविरबाट करिब दुई सय धारिलो हतियार बरामद गरी स्थानीय प्रहरीलाई बुझाइएको एसपी कार्कीले बताए । शरणार्थीका क्याम्पको सुरक्षाका साथ वाउमा सिटी पेट्रोलिङसमेत नेपाल एफपियूले गर्दै आएको छ । त्यस्तै, शिविरभित्र नियमित रूपमा सर्च अप्रेसनसमेत नेपाल एफपियूले गर्दै आएको छ । 

नेपाल एफपियूको काम राम्रो : साम मुहुमुरे, प्रमुख, अनमिस फिल्ड अफिस
वाउमा नेपाल एफपियूले राम्रो काम गर्दा आफूहरूलाई धेरै सहज भएको वाउस्थित अनमिस फिल्ड अफिसका प्रमुख साम मुहुमुरेले बताए । ‘गत वर्ष आकस्मिक रूपमा घानाको एफपियूलाई फर्काएपछि यहाँ निकै समस्या भएको थियो,’ उनले भने, ‘नेपाल एफपियू केही दिनमै यहाँ खटिएर जुन काम गरेको छ, त्यसबाट म निकै प्रभावित भएको छु ।’ वाउस्थित फिल्ड अफिसमा कार्यरत अनमिस प्रहरी   बोरमा रहेको एफपियूको टोलीको पनि प्रमुख जिम्मेवारी शरणार्थी शिविरको सुरक्षा नै हो । बोरमा रहेको शरणार्थी शिविरमा बस्नेको संख्या थोरै भएकाले ठूलो टोलीलाई वाउमा सारिएको छ ।

विगतमा बोरमा नेपाल एफपियू–२ को मुख्य कार्यालय रहेकामा अब वाउलाई मुख्य कार्यालय बनाउने निर्णय अनमिसले गरिसकेको छ । सो एफपियूको कमान्डरका रूपमा एसपी मनीष थापाको नेतृत्वमा हालै नयाँ टोली दक्षिण सुडान आएको छ । 

एउटै एफपियू दुवैतर्फ खटाउँदा विभिन्न किसिमका समस्या झेल्नुपरेको एसपी कार्कीले सुनाए । पर्याप्त स्रोत–साधनको अभाव भएको र दुई ठाउँमा बारम्बार गइरहनुपर्ने भएकाले समस्या हुने गरेको उनको भनाइ छ । अभावका बीच पनि जिम्मेवारीमा कमी हुन नदिइएको उनले बताए ।

दक्षिण सुडानमा २०१३ देखि नै जातीय द्वन्द्व
सन् २०११ मा जनमतसंग्रहमार्फत सुडानबाट टुक्रिएर दक्षिण सुडान बनेको यहाँ २०१३ देखि नै जातीय द्वन्द्व सुरु भएको थियो । डिंका जातिका राष्ट्रपति साल्भा किर र निउर जातिका उपराष्ट्रपति रिक माचारबीच द्वन्द्व चल्दै आएको छ ।

माचारले सेना नै फुटाएर किरको सरकारविरुद्ध सशस्त्र संघर्ष सुरु गरेकोमा हालसम्म पनि उनीहरूबीचको सत्ताको विवाद मिल्न सकेको छैन । २०१६ जुलाईमा वार्ता चलिरहेकै वेला दुई पक्षबीच गोली हानाहान भएपछि माचार भागेर विदेश गएका थिए । असुरक्षित महसुस गरी उनी स्वदेश फर्किन सकेका छैनन् । उनकै सैनिक विभिन्न ठाउँमा शिविर बनाएर बसेका छन् ।

करिब आठ महिनाअघि युद्धविराम भएकाले हाल हिंसात्मक घटनामा कमी आएको छ । तर, करिब चार लाख सर्वसाधारण राज्य पक्षबाटै असुरक्षित महसुस गरी शरणार्थी शिविरमा बस्दै आएका छन् । जहाँ राष्ट्रसंघले उनीहरूलाई सुरक्षा दिँदै आएको छ भने विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्दछ । दक्षिण सुडानमा करिब २१ हजार अनमिसको टोली छ । जसमा करिब एक सय ६ सय सेनासहित दुई हजारजना नेपाली छन् ।