१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ भदौ १ आइतबार १४:४९:००
Read Time : > 1 मिनेट
प्रदेश

दाङ–सुर्खेत सडक निर्माणमा ढिलाइ 

Read Time : > 1 मिनेट
२०७६ भदौ १ आइतबार १४:४९:००

कर्णाली र प्रदेश ५ जोडने दाङ–सुर्खेत सडकखण्ड निर्माणमा ढिलाइ भएको छ । आर्थिक वर्ष ०७२÷७३ बाट सुरु भएको सडक निर्माणको काम ०७७ सम्म सक्ने भनिए पनि लक्ष्यअनुसार काम नभएको हो । 

सडक डिभिजन कार्यालय दाङका अनुसार ०७७ सम्ममा ७९ किलोमिटर सडक निर्माण हुनुपर्नेमा तीन वर्ष बित्दासम्म जम्मा ३४ किलोमिटर सडकको काम मात्र सम्पन्न भएको छ । डिभिजन कार्यालय दाङले तुलसीपुरदेखि सल्यान र सुर्खेतको सिमाना काल्चे डाँडासम्मको ६५ किलोमिटरको आयोजना हेरिरहेको छ । काल्चेडाँडादेखि सुर्खेत बोटेचौरसम्मको १४ किलोमिटर खण्ड सुर्खेतले हेर्नेछ । 

अबको एक वर्षभित्र आधा काम गरिसक्नुपर्ने भएकाले निर्धारित अवधिमा काम सकिने सम्भावना न्यून छ । सडक डिभिजन कार्यालय दाङका इन्जिनियर लीला भण्डारीले विभिन्न अवरोधका कारण कामले गति लिन नसकेको बताए । ‘काम निकै ढिला भएको छ । नदीजन्य पदार्थको अभाव, सडकखण्डमा पर्ने रूख कटानका लागि वन कार्यालयसँगको अनुमतिलगायत कारण काममा ढिलाइ भएको छ,’ उनले भने ‘सो सडकखण्डमा पर्ने बबई गाउँपालिकाले पनि सडक सम्पन्न गर्नका लागि तदारुकता देखाएको छैन ।’ सडक डिभिजन कार्यालय दाङले हेर्दै आएको ६५ किलोमिटरको सडकका लागि चारवटा ठेक्का सम्झौता गरी कालिका प्यासिफिक जेभी सुकेधारा काठमाडौंले काम गर्दै आएको इन्जिनियर भण्डारीले बताए । 

४५ वर्षदेखि निर्माण जारी
०३१ देखि कागजी प्रक्रिया सुरु भए पनि ०४३ सालदेखि कोदालोले खनेर सडकको नक्सा निकालेका थिए । दाङ, सल्यान र सुर्खेतका जनताले खनेर सुरु गरेको सडकका लागि तत्कालीन सरकारले प्राविधिक सहयोग मात्रै उपलब्ध गराएको जानकारहरू बताउँछन् । दाङ–सुर्खेत सडक खण्डका लागि भनेर सरकारले ०५२÷५३ देखि मात्रै बजेट विनियोजन सुरु गरेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पछिल्लो पाँच वर्षयता यो सडकखण्को निर्माण कार्यले गति लिएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेले बताउँछन् । ‘विसं ०७२ मा केन्द्रीय सरकारले बजेट छुट्याएपछि सडकको काम अगाडि बढेको छ । उनले भने, ‘तर नदीजन्य पदार्थको अभावका कारण पटक–पटक सडक निर्माणमा ढिलाइ भइरहेको छ ।’ सडक निर्माणसँगै कालोपत्रे गर्नका लागि ८४ करोड ६६ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन भएको छ । 

बहुउपयोगी सडक
दाङ–सुर्खेत सडकखण्डलाई जिल्लाको विकासका लागि बहुउपयोगी मानिएको छ । दुई प्रदेशलाई जोड्ने भएका कारण यसले जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने सरोकारवालाको अपेक्षा छ । साथै, यसले दाङसहित सल्यान, रोल्पा, प्युठानका बासिन्दालाई सुर्खेत पुग्न बाँकेको कोहलपुर भएर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । कोहलपुर भएर सुर्खेतको वीरेन्द्रनगर पुग्न १२० किलोमिटर पार गर्नुपर्छ । तर, दाङ–सुर्खेत सडकखण्ड ७९ किलोमिटर मात्रै छ । 

सडक कालोपत्रेपछि भेरी क्षेत्रका पहाडी जिल्ला र कर्णालीलाई दाङसँग सीधै जोड्न सकिनेछ । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङ–सुर्खेत सडकखण्ड बहुउपयोगी महत्वको भएको बताए । यसले दुई प्रदेशबीच सहज र छोटो यातायात दूरीको सम्बन्ध स्थापना गर्नुका साथै आर्थिक गतिविधिलाई थप चलायमान बनाउन मद्दत पुग्ने उनले बताए ।