मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १ आइतबार १३:५१:००
Read Time : > 1 मिनेट
प्रदेश

चिकित्सकको पुर्जाविना औषधि बेच्ने पक्राउ

पोलिक्लिनिक अनुगमन

Read Time : > 1 मिनेट
२०७६ भदौ १ आइतबार १३:५१:००

चिकित्सकको पुर्जा (प्रेसकिप्सन)विना औषधि बेच्ने एकजना औषधि पसले पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका ६ मा रहेको आनन्द मेडिकोले चिकित्सकको पुर्जाविना औषधि बेच्दै गरेको फेला परेपछि अवैध पोलिक्लिनिक, औषधि पसलको अनुगमनमा निस्किएको टोलीले पक्राउ गरेको हो । 

अनुगमन टोलीले औषधि पसलमा चिकित्सकको पुर्जाविना औषधि बेच्ने मीनकुमार लामालाई पक्राउ गरेको टोली प्रमुखसमेत रहेका इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले बताए । यता अनुगमन टोलीले सदरमुकाम सिरहा र गोलबजारमा तेस्रो दिन पनि अवैध पोलिक्लिनिक र औषधि पसलहरूको अनुगमन गरेको छ । 

तेस्रो दिन गोलबजारमा विनादर्ता सञ्चालनमा रहेको सगरमाथा डाइग्नोसिस सेन्टर, गोलबजार हेल्थ केयर एन्ड डाइग्नोसिस संस्थामा ताल्चा लगाएको छ । 

त्यस्तै, अनुगमन टोली देखेर आकाशगंगा पोलिक्लिनिक र नवउदय पोलिक्लिनिकका सञ्चाकहरूले सटर बन्द गरेर भागेको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्रप्रसाद यादवले बताए ।

सदरमुकाम सिरहाका ल्याबमा ताल्चा
अनुगमन टोलीले सदरमुकाम सिरहामा निजी क्षेत्रका प्याथोलोजी ल्याबहरूमा ताल्चा लगाएको छ । अनुमति बेगरका सेवा सञ्चालन गरेको भन्दै पण्डित ल्याब र यादव ल्याबमा ताल्चा लगाएको प्रमुख डा. यादवले बताए । 

साथै, औषधि पसलहरूका अगाडि राखिएका चिकित्सकका बोर्ड हटाउन लगाइएको छ । सिरहा अस्पताल अगाडिका औषधि पसलमा विनाअनुमति चिकित्सकहरू आएर उपचार गर्दै गरेको तथा अनुमतिविनाका प्याथोलोजी ल्याब सञ्चालनमा रहेको गुनासाका आधारमा अनुगमन भएको डा. यादवले बताए ।

अनुगमन टोलीले पहिलो दिन सिरहाको लहान र दोस्रो दिन मिर्चैयामा अवैध सञ्चालनमा रहेका पोलिक्लिनिकहरूमा ताल्चा लगाएको थियो । जिल्लाभरिमा ९० जति पोलिक्लिनिक विनाअनुमति सञ्चालनमा रहेका छन् । नियमित अनुगमनको अभावमा अनुमति बेगर सञ्चालनमा रहेका पोलिक्लिनिकहरूले चर्को शुल्कसमेत उठाउँदै आएका छन् । अनुगमन टोली आउनुअघि सदरमुकाम सिरहा, गोलबजार, मिर्चैया र ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका पोलिक्लिनिक बन्द गरेर सञ्चालकहरू फरार भएका थिए ।

इलाका प्रशासन, स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, उपभोक्ता मञ्चको टोलीले अनुगमन गरेको हो ।