मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १ आइतबार १३:२९:००
Read Time : > 1 मिनेट
प्रदेश

धरानमा उपनिर्वाचनको चहलपहल सुरु

Read Time : > 1 मिनेट
२०७६ भदौ १ आइतबार १३:२९:००

रिक्त स्थानमा जनप्रतिनिधि चयनका लागि निर्वाचन आयोगले मिति सार्वजनिक गरेसँगै धरानमा पनि निर्वाचनको चहलपहल सुरु भएको छ । स्थानीय, प्रदेश र संघीय संसद्को रिक्त स्थानमा निर्वाचन गर्न आयोगले १४ मंसिरका लागि मिति तय गरेको छ ।

धरान उपमहानगरपालिकामा मेयर र एक वडाध्यक्ष पद रिक्त छ । मेयर तारा सुब्बाको एक वर्षअघि निधन भएपछि उपमेयर मञ्जु भण्डारीले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । आयोगले मिति घोषणा गरेपछि मुख्यतया नेकपा र कांग्रेसले चुनावको तयारी सुरु गरेका हुन् ।

कांग्रेसको तयारी पनि तीव्र
कांग्रेसले पार्टीकै प्रतिष्ठाका रूपमा धरानको निर्वाचनलाई हेरेको छ । नेकपाको लालकिल्ला तोड्ने गरी साना दलसँग गठबन्धन गर्ने तयारी कांग्रेसको छ । ‘हामी संगठन विस्तार, भेला र छलफलको प्रक्रियामा छौँ,’ कांग्रेसका धरान नगर सभापति तिलक राईले भने, ‘उपनिर्वाचन जित्ने गरी हामीले माहोल बनाइरहेका छौँ ।’  

राई १४ असार ०७४ को निर्वाचनमा एमाले उम्मेदवार स्व. तारा सुब्बासँग करिब ४ हजार ८ सय मतान्तरले मेयरमा पराजित भएका थिए । साना दलसँग गठबन्धन गरेरै भए पनि यसपटक नेकपाका उम्मेदवारलाई हराउने रणनीति कांग्रेसले बनाएको छ । 

सभापति राई, जिल्ला सचिव सुजेन्द्र गोले, पूर्वनगरसभापति किशोर राई, महाधिवेशन प्रतिनिधि पर्वत राईलगायत नेता मेयरका आकांक्षी देखिएका छन् । कांग्रेसका जिल्ला नेता तथा बिपी प्रतिष्ठान धरानका अध्यक्ष विकास आचार्यले धरान उपमहानगरपालिकामा हुन लागेको उपनिर्वाचनमा यसपटक पतदाताले जातलाई भन्दा क्षमतालाई प्राथमिकता दिने दाबी गरे ।

वडाध्यक्षको पनि निर्वाचन
धरानमा आदिवासी जनजातिको बाहुल्यता छ । १४ मंसिरमा धरान उपमहानगरपालिकामा मेयरसहित ७ नम्बर वडाध्यक्ष पदको लागि निर्वाचन हुँदै छ । मेयर स्व.तारा सुब्बाको मृत्युपछि धरानका महत्वकांक्षी योजनामा विवाद देखिएको छ । खानेपानी आयोजना, बस पार्क निर्माण, एयरपोर्ट निर्माण, कर वृद्धिजस्ता विषयले धरानमा तीव्र विवाद हुँदै आएको छ ।

सधैँ वामपन्थी विजयी
०४६ सालपछिका हरेक निर्वाचनमा धरानबाट वामपन्थी उम्मेदवार विजयी हुँदै आएका छन् । सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए । धरानमा पुरानो साख कायम राख्न नेकपा धरान नगरकमिटीले आन्तरिक तयारी सुरु गरेको छ । 

सुनसरीका सबै स्थानीय तहमा नेकपाको कमिटी घोषणा भइसकेको छ । तर, धरानमा तत्कालीन एमाले नेता नारायण सुवेदीलाई अध्यक्ष तोकिए पनि आन्तरिक विवादका कारण शपथग्रहण भने भएको छैन । निर्वाचन तयारीका लागि वडास्थरीय भेला र छलफल भने सुरु भइसकेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपाभित्रबाट धेरै दाबेदार देखिएका छन् । नेकपा सुनसरीका जिल्ला सचिवालय सदस्य प्रकाश राई, जिल्ला सचिव रमेश बस्नेत, प्रदेश १ का सदस्य मुक्सामहाङ मेन्याङ्बो, अइन्द्रविक्रम बेघा, पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बो, जिल्ला सदस्य पदम इस्वो, नगरअध्यक्ष नारायण सुवेदी, मोती सुनुवार, विजय राईलगायत आकांक्षी देखिएका छन् । नेकपा नगर कमिटीले भने प्रकाश राईलाई अध्यक्षमा अघि सार्ने सम्भावना बलियो रहेको नेकपा श्रोतले जनाएको छ ।