मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १ आइतबार १२:०१:००
Read Time : > 2 मिनेट
नयाँCity

गाउँको गीत : श्रवण मुकारूङ

Read Time : > 2 मिनेट
२०७६ भदौ १ आइतबार १२:०१:००

तिमी तारे भिर, म त लहरा
तिमीमै लहराउँछु, तिमी सहारा

अक्करे भिरमै लहराउँछन् लहरा, भिर नै लहराको सहारा हो । यस गीतमा कवि÷गीतकार श्रवण मुकारुङले ठ्याक्कै खिपेका छन्, अक्करे भिर र त्यसमा झाँगिएका लहरालाई प्रेमी र प्रेमिकाका रूपमा । त्यसैले हो, ‘तिमी तारे भिर, म त लहरा’ गीत सदावहार बनेको पनि ।

उनी कविता लेखिसक्छन् र त्यसबाट धीत मार्न सकेनन् भने त्यसभन्दा फरक ‘थिम’मा गीत तयार पार्छन् । ‘तिमी तारे भिर’ पनि त्यस्तै फरक थिमको गीत हो । यो गीत रचना गर्नुअघि नै उनले ‘तारे भिर’ कविता लेखिसकेका थिए, जुन उनको पहिलो कवितासंग्रह ‘देश खोज्दै जाँदा’मा संग्रहित छ । कविताले बटुलेको लोकप्रियताबाट उनलाई त्यसकै थिममा रहेर गीत तयार पार्ने इच्छा जाग्यो । र, ०५० सालतिर यो गीत रचना गरे ।

त्यतिवेला गीत रेकर्ड गर्ने एक मात्र थलो थियो, रेडियो नेपाल । गीत रेकर्ड गराउन ६ महिनासम्म पर्खिनुपथ्र्यो । त्यतिवेला नारायणगोपाल, भक्तराज आचार्य, दीप श्रेष्ठलगायत जुन गायकको गीत सुने पनि उस्तैजस्तो लाग्थ्यो मुकारुङलाई । भन्छन्, ‘मलाई त्यसभन्दा फरक बाटोमा हिँडेर आफ्नो छुट्टै पहिचान बनाउनु थियो । गाउँका भाषिकाहरू टिपेर कविता÷गीत रचना गर्ने धार रोजेँ ।’ त्यतिवेलासम्ममा उनमा नेपाली मौलिक सौन्दर्य चेत आइसकेको थियो । 

०४८ सालमा कवि रमेश क्षितिजसँग उनको पहिलो भेट भयो । ‘तपाईंले लेखेका कवितामा तपाईंको नाम लुकाए पनि प्रस्टै चिनिन्छ’ भनेर क्षितिजले उनलाई फुर्र्काए । त्यतिवेला उनलाई आफू सही बाटोमा रहेछु भन्ने लाग्यो रे । त्यसपछि मुकारुङ र क्षितिजको दोस्ती जम्यो ।

गीत तयार भएपछि संगीतकार शान्तिराम राईलाई संगीत भर्न लगाए । सुरुमा मनिला सोताङलाई गाउन दिने कुरा थियो, उनले समय निकाल्न नसकेपछि त्यतिवेलाकी चर्चित गायिका पवित्रा सुब्बाले स्वर दिइन् । ‘शैली’ एल्बमका लागि ‘साङ’ स्टुडियोमा गीत रेकर्ड भएपछि कोठामा लिएर आए । नयाँ गीत सुन्न पुष्पहरि क्याम्पा राई, रमेश क्षितिज, विप्लव ढकाल, खुमनारायण पौड्याल, रमेश पौड्याललगायत साथी भेला भए । पुष्पहरिले एकै बसाइमा डेढ दर्जनपटक गीत सुने । सबैजना गीतमा लोभिए । नभन्दै, रेडियो नेपालबाट बज्न थाल्नासाथ ‘तिमी तारे भिर’ लोकप्रिय बन्यो ।

 नेपालभित्र विकट गाउँमा पुग्दा ‘तिमी तारे भिर’ र ‘माथि–माथि सैलुंगेमा चौँरी डुलाउनेलाई’ गीतको गीतकारका रूपमा चिन्नासाथ उनको वरिपरि प्रशंसकको भिड तयार हुन्छ । 

‘तिमी तारे भिर’लाई मुकारुङ मानव जीवनदर्शनको गीत मान्छन् । प्रेमी र प्रेमिका, महिला र पुरुष, श्रीमान् र श्रीमतीबीचको अन्योन्याश्रित सम्बन्धको यथार्थ चित्रण पाइन्छ, गीतमा । ‘तारे भिर’ कविता लेख्ने वेला उनी २० वर्षका थिए । गीतको सिद्धान्त र रस माधुर्यको चेतना आइसकेको थिएन उनमा । मात्र आफ्नो भोगाइको अनुभूति थियो त्यो कविता । उनले कसैलाई मन पराए, तर व्यक्त गर्न सकेनन् । आफूभित्र गुम्सिएको प्रेममा समर्पित भएर ‘तारे भिर’ कविता कोरे ।

प्रेमीलाई भिरको बिम्ब दिए भने प्रेमिकालाई लहरा । आफूभित्र झाँगिएको प्रेमलाई भिर र पहराबीचको प्रेमिल सम्बन्धको मालामा उने । खासमा, ‘तिमी तारे भिर’ गीत पुरुषको स्वरमा रेकर्ड गरेको भए पनि हुन्थ्यो । तर, पूर्वीयदर्शन र काव्यशास्त्रले नारीलाई कोमलता र पुरुषलाई कठोरताको प्रतीक मानेकाले उनले गायिका नै रोजे । यो गीत लोकप्रिय भइसकेको धेरैपछि मात्र म्युजिक भिडियो बन्यो ।

‘तारे भिर’सँग जोडिएका थुप्रै किस्सा छन् मुकारुङसँग । एकपटक कार्यक्रमको सिलसिलामा कतार पुग्दा त्यहाँ रहेका नेपालीले उनलाई सहरको सयर गराए । फर्किने वेलामा ढिलो भइसकेकाले उनीहरू बसेको ठाउँसम्म ट्याक्सीचालक जान मानेनन् । तर, एउटा ट्याक्सीभित्र ‘तिमी तारे भिर’ बजिरहेको थियो । उनका साथीले ट्याक्सीचालकलाई भने, ‘यो गीत लेख्ने दाइ हुन् यिनी ।’ चालक तत्काल तयार भए र गीत सुनाउँदै बसेको ठाउँसम्म पु¥याइदिए । नेपालभित्र पनि विकट गाउँमा पुग्दा ‘तिमी तारे भिर’ र ‘माथि–माथि सैलुंगेमा चौँरी डुलाउनेलाई’ गीतको गीतकारका रूपमा चिन्नासाथ उनको वरिपरि प्रशंसकको भिड तयार हुन्छ । उनी भन्छन्, ‘सहरमा भन्दा गाउँमा बढी सुनिएको गीत हो तिमी तारे भिर ।’