मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ भदौ १ आइतबार ११:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपालले किर्गिस्तानको सामना गर्ने 

Read Time : < 1 मिनेट
२०७६ भदौ १ आइतबार ११:५६:००

नेपालले सोमबार किर्गिस्तानविरुद्ध खेल्दै पहिलोपटक घरमै आयोजना हुन लागेको एसियाली भलिबल संघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ । प्रतियोगिताका लागि शनिबार सार्वजनिक गरिएको ‘टाइसिट ड्र’मा आयोजक नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको छ ।  नेपाल किर्गिस्तान र माल्दिभ्स रहेको समूह एमा परेको हो । समूह बीमा साबिक विजेता तुर्कमेनिस्तान, साबिक उपविजेता बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान छन् । 

एक जितले सेमिफाइनल अवसर
प्रतियोगितामा एक खेल जितेको अवस्थामा समेत नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने सम्भावना छ । दुवै खेल जित्दा नेपाल समूह एको विजेताका रूपमा प्रतियोगिताको अन्तिम चारमा पुग्नेछ । प्राविधिक टोलीले सार्वजनिक गरेको टाइसिटअनुसार नेपालले प्रतियोगिताको पहिलो दिन किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल सोमबार दिनको ४ बजे लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा हुनेछ । 

अफगानिस्तान र तुर्कमेनिस्तान भिड्दै
सोमबार नै साबिक विजेता तुर्कमेनिस्तान र अफगानिस्तान भिड्नेछन् । यो खेलपछि प्रतियोगिताको उद्घाटन समारोह चल्नेछ । त्यसपछि नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलपछि नेपालले प्रतियोगितामा समूहगत चरणको आफ्नो अन्तिम खेलमा बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ । 

उज्बेकिस्तान आइतबार आइपुग्ने
प्रतियोगितामा सहभागी हुने ६ विदेशी टोलीमध्ये पाँच टोली नेपाल आइपुगेका छन् । अफगानिस्तान यसअघि नै नेपाल आइसकेको छ । तुर्कमेनिस्तान, किर्गिस्तान, माल्दिभ्स र बंगलादेश शुक्रबार आएका थिए । उज्बेकिस्तान भने आइतबार मात्रै नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ । उज्बेकिस्तान आइतबार बिहान १० बजे नेपाल आइपुग्नेछ । उज्बेकिस्तानले २४ घन्टाको अन्तरमै सोमबार बंगलादेशविरुद्ध खेल्दैछ ।