मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

असुरक्षित गर्भपतनले निम्त्याउँछ अनेक समस्या 

Read Time : > 1 मिनेट
मञ्जु टेलर काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:३८:००

डा. नवीन दर्नाल
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
परोपकार प्रसूतिगृह

गर्भपतन आजको समयमा महत्वपूर्ण विषय हो, तर अझै पनि धेरैमा यसबारे जानकारी छैन । सामान्यतया गर्भ रहेको केही समयपश्चात् महिलाले आफ्नो स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ । नेपालमा १२ हप्तासम्मको  गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । स्वास्थ्य संस्थामा गएर अनुभवी चिकित्सकद्वारा गर्भपर्तन गराएमा खासै असर पर्दैन । तर, समाजमा बेइज्जत हुने डर, अनिच्छित गर्भधारण आदि विभिन्न कारणले गर्दा धेरैले असुरक्षित गर्भपतन गराउँछन् । औषधिको सेवन र औजारको प्रयोगबाट गर्भपतन गराइन्छ । औषधिको प्रयोगबाट ९ हप्ताको गर्भ र औजारको प्रयोगबाट १२ हप्ताको गर्भपतन गर्न सकिन्छ । तर, अनुभवी चिकित्सकबाट गर्भपतन नगराउँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ । 

गर्भपतन महिलाको स्वेच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्नुपर्छ । तर, समाजमा बेइज्जती हुने डरका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । खासगरी अनिच्छित गर्भपतन गराउने अविवाहित महिलाको संख्या धेरै पाइन्छ ।

गर्भपतन पूर्ण रूपमा नहुनु
औषधि पसलबाट किनेका विभिन्न औषधिको आफूखुसी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजान सक्छ । गर्भ आधा मात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना धेरै रहन्छ । जसले संक्रमण भई क्यान्सर हुने डरसमेत रहन्छ ।

पाठेघरको संक्रमण पाठेघरमा मात्र सीमित नभई रगतमा पनि फैलिन सक्छ । जुन निकै घातक हुने गर्छ । 

अत्यधिक रक्तस्राव
कतिपयले मेडिकलबाट औषधि किनेर सीधै प्रयोगमा ल्याउने गर्छन् । यस्तो अवस्थामा स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नहुने हुँदा स्वास्थ्यमा विभिन्न असर पर्छन् । अत्यधिक रक्तश्रावले ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरनको कमी हुने गर्छ ।

पाठेघरको संक्रमण
खासगरी औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने वा पाठेघर फुट्न सक्ने जोखिम रहन्छ । यसले विभिन्न संक्रमण हुन सक्छ । जसकारण सेतो पानी बग्ने, पाठेघरमा क्यान्सर हुनेसमेत हुन्छ । कतिपय अवस्थामा पछि गएर बाँझोपनको समस्या पनि हुने गर्छ । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा ज्यान पनि जान सक्छ । तसर्थ गर्भपतन गराउँदा सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्था र अनुभवी चिकित्सकको पूर्ण निगरानीमा मात्र गराउनुपर्छ ।