मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जुलियो क्वाजिओट्टो  प्रमुख, युएनडिपीका लागि क्षेत्रीय इन्नोभेसन सेन्टर, एसिया तथा प्यासिफिक 
२०७६ भदौ १ आइतबार ०७:२१:००
Read Time : > 2 मिनेट
अर्थ

नवप्रवर्तनमार्फत उद्यमी बन्न चाहनेका लागि नेपालमा पनि एक्सिलेरेटर ल्याब

Read Time : > 2 मिनेट
२०७६ भदौ १ आइतबार ०७:२१:००

जुलियो क्वाजिओट्टो संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को क्षेत्रीय इन्नोभेसन सेन्टर फर एसिया प्यासिफिक थाइल्यान्ड प्रमुख हुन् । उनले इन्टरनेसनल डेभलपमेन्ट एन्ड पब्लिक सेक्टर अर्गनाइजेसनको इन्नोभेसन स्किल टिमको वरिष्ठ कार्यक्रम व्यवस्थापकका रूपमा काम गरिसकेका छन् । दुबई सरकारको सेन्टर फर गभर्मेन्ट इन्नोभेसनमा समेत काम गरेको अनुभव छ । केही दिनअघि नेपालमा एक्सिलेरेटर ल्याब शुभारम्भका लागि नेपाल आएका उनले ल्याबमार्फत नवप्रवर्तनको विकासका लागि सहयोग पुग्ने बताएका छन् ।

एक्सिलेरेटर ल्याब के हो ? यसले कसरी काम गर्छ ?
‘नवप्रवर्तन सोच’ भन्नाले विकासका चुनौतीलाई समाधान गर्न नयाँ तरिकाबाट सोच्नु र त्यसलाई यथार्थमा परिणत गरी कार्यान्वयनमा ल्याउनु हो । विकासका क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने नवप्रवर्तनलाई अघि बढाउनुपर्छ । समाजमा धेरै समस्या रहेका हुन्छन् । ती समस्यासँग हामी लडिरहेका हुन्छौँ । चुनौतीलाई समाधान गर्ने उपायहरू उपलब्ध भइरहेका हुँदैनन् । यसकारण समस्यालाई समाधान गर्न सजिलो छैन । तर, तपाईंसँग समस्या समाधान गर्ने नवप्रवर्तन विचार छ भने एक्सिलेरेटर ल्याब त्यसका लागि उपयुक्त स्थान हुन सक्छ । त्यस्ता विचार छन् भने आएर कुरा गर्न सक्नुहुन्छ । नयाँ तरिकाबाट सोच्ने र त्यसलाई कार्यान्वयनमा ल्याउन प्रोत्साहन गर्ने अभियानका रूपमा यो रहेको छ । यसकारण हामीले भोगिरहेका समस्या समाधान गर्ने उपायका लागि यो अवधारणा ल्याइएको हो । नवप्रवर्तनलाई अघि बढाउनका लागि नै एक्सिलेरेटर ल्याब आवश्यक परेको हो । 

विकासशील देशको अवस्थामा नेपाल छ । तपाईंको अनुभवमा नेपाल वा यस्तै अवस्थामा रहेका अन्य देशको विकासका चुनौती र अवसर के हुन्जस्तो लाग्छ?
मैले नेपाललाई राम्रोसँग बुझिनसकेका कारण यसै भन्न सक्दिनँ । तर, अन्य केही देशमा काम गरेको अनुभवमा कुनै एउटा देशमा भएको नवप्रवर्तन अर्को देशमा जस्ताको जस्तै काम गर्छ भन्ने हुँदैन । इन्डोनेसियामा जे विषय प्रभावकारी रूपमा कार्यान्वयन भयो, त्यो नेपालमा नहुन सक्छ । यसकारण नवप्रवर्तनलाई ‘कपी एन्ड पेस्ट’ गर्दा अझ कठिन बन्न पुग्ने सम्भावना हुन्छ । स्थानीय समुदायमा रहेका समस्या समाधान गर्ने स्थानीय उपाय खोज्नु उत्तम हुन्छ । तर, यसका साथसाथै बाहिर के भइरहेको छ भनेर पनि जानकार हुन जरुरी हुन्छ । बाहिर पत्ता लगाएको उपायलाई यहाँ प्रयोग गर्ने वा ठीक छ वा छैन भनेर परीक्षण गर्न सकिन्छ ।   

त्यस्तै, कुनै समस्या समाधान गर्ने उपाय प्राप्त हुनासाथ त्यसलाई परीक्षण गरिहाल्नुपर्छ । त्यसका लागि ठूला योजना बनाउनुभन्दा पनि नवप्रवर्तनले काम गर्छ वा गर्दैन भन्नेमा केन्द्रित हुनुपर्छ । नेपालमा भएको नवप्रवर्तनले यहाँ मात्र गर्छ वा इन्डोनेसियामा पनि काम गर्छ भन्ने त्यसपछि मात्र थाहा हुन्छ । नेपालको नवप्रवर्तनमा केही तत्व थपेपछि मात्र इन्डोनेसियाका लागि त्यो प्रभावकारी पनि हुन सक्छ । अर्कोतिर जुन विषयले नेपालमा काम गर्छ, त्यसको नक्कल अन्य देशमा गर्न कठिन हुन्छ । त्यसले नेपालमै जसरी काम गर्छ भन्ने पनि हुँदैन ।

धेरै देशले अनुभवअनुसार पनि कम प्राथमिकता दिएको देखिएको छ । यसो हुनुमा ती देशको इच्छा नहुनु, लगानी नहुनु वा अन्य कारण हुन सक्छन् । तर, वित्तीय रूपमा मात्र लगानी नगरेर नीतिगत रूपमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्नु राम्रो हो ।

नेपालमा विभिन्न समयमा हुने गरेका नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रतियोगिता तथा कार्यक्रममा सहभागी हुने मानिसले आफ्नो नवप्रवर्तनका बारेमा बताउने गरेका छन् । तर, कहिल्यै पनि उनीहरूको नवप्रवर्तनको उपाय यथार्थमा परिणत गरी व्यावहारिक समस्या समाधान गर्ने  तहसम्म पुग्ने गरेको छैन । तपाईं त्यस्ता व्यक्तिहरूलाई के सुझाब दिन चाहनुहुन्छ । जसले गर्दा उनीहरूको नवप्रवर्तन विचार यथार्थमा परिणत गर्न सकियोस् ?

अवश्य पनि । कुनै कार्यक्रम गरेर देशको भष्ट्राचार समाधान गर्न सकिँदैन, त्यस्तै, जलवायु परिवर्तनलाई रोक्न सकिँदैन । किनकि, यी धेरै नै जटिल मुद्दाहरू हुन् । तर, तपाईंले विभिन्न कार्यक्रम गरेर समाजमा के समस्या छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने छलफल गर्न सकिन्छ । कुनै कार्यक्रम भनेको नवप्रवर्तनको थालनी मात्र हो । त्यसलाई समाधान गर्ने अवस्थासम्म पुर्‍याउन सबैसँग आवश्यक क्षमता, इच्छाशक्तिलगायतका आवश्यक तत्वहरू नहुन सक्छन् । केही पुरस्कार प्राप्त गर्ने चाहनाले मात्र आउँछन् । पुरस्कार जित्छन् र हराउँछन् । तर, केही भने समस्या समाधान गर्न साँच्चिकै प्रतिबद्ध हुन्छन् । त्यस्ता व्यक्तिले भने गाउँ वा नगरपालिका तहबाट पनि आफ्नो कामलाई अघि बढाउन सक्छन् । त्यसका लागि मानिसहरूसँग जोडिन सक्नुपर्छ, अघि  बढाउन  आवश्यक प्रतिबद्धता चाहिन्छ । सहायता गर्ने निकाय आवश्यक पर्छ । त्यस्तो नवप्रवर्तनको विचार भएका व्यक्तिहरूलाई एक्सिलेरेटर ल्याब सहयोगी बन्न सक्छ । त्यस्तैले साँच्चै काहीँ प्रतिबद्ध छ भने त्यसलाई सहयोग गर्न सकिन्छ ।
 
सरकारी बजेट र निजी क्षेत्रले पनि नवप्रवर्तनलाई धेरै प्राथमिकतामा राखेको पाइँदैन । नेपालजस्तो देशले नवप्रवर्तनलाई प्राथमिकता दिएर लगानी गर्नु उपयुक्त हो कि अन्य ठाउँमा विकसित भएको नवप्रवर्तनको नमुनालाई कार्यान्वयनमा ल्याउनु सही हो ?

नेपालबारे जानकारी नभएकाले नवप्रवर्तन सोचले नीतिगत प्राथमिकता नपाएकोबारे म यसै भन्न सक्दिनँ । तर, अन्य धेरै देशहरूको अनुभवअनुसार पनि कम प्राथमिकता दिएको देखिएको छ । यसो हुनुमा ती देशहरूको इच्छा नहुनु, लगानी नहुनु वा अन्य कारण हुन सक्छन् । यसै हो भनेर म पनि भन्न सक्दिनँ । तर, वित्तीय रूपमा मात्र लगानी नगरेर नीतिगत रूपमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्नु राम्रो हो । यस क्षेत्रका धेरै देशले नवप्रवर्तनलाई प्राथमिकता दिएका छन् । तर, त्यो एउटै निकाय वा मन्त्रालयमा केन्द्रित धेरैतिर बाँडिएर रहेको छ । त्यस्तै, अर्को महत्वपूर्ण विषय भनेको यसमा युवा सहभागिता बढ्न आवश्यक छ । नवप्रवर्तनका लागि भोक जाग्नुपर्छ । त्यसो भएमा यसमा सरकार र निजी क्षेत्र दुवैले प्राथमिकताको विषय बनाउन सक्छन् ।