छोरी जन्मिँदा परिवार नै वैरी : छोरा जन्मिए सिन्दुर जात्रा, छोरी जन्मिए घर निकाला

२०७६ श्रावण ३० बिहीबार ०७:००:००

पातारासी गाँउपालिका–२ तल्फीकी ३५ वर्षीया पुतली महताराले १३ साउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा छोरी जन्माइन् । तीन दिनकी सुत्केरी पुतलीलाई अस्पतालमै छाडेर पति वीरबहादुर महतारा भागे । केही दिन त पुतली अस्पतालमै बसिन् । तर अस्पतालबाट डिस्चार्ज भएपछि उनी अलपत्र परिन् । 

नवजात शिशु बोकेर हिँडेर घर जान खोजिन् । तर, उनका हातगोडा काँपे । घर जान नसकेपछि जुम्ला सदरमुकाम खलंगाका धेरै घरमा वास मागिन् । कसैले घरमा पस्न दिएनन् । कसैले भर्खरको सुत्केरीलाई घरमा बस्न नदिने भने, कतिले बस्ने ठाउँ छैन भनेर टारे । 

केही उपाय नलागेपछि उनी कर्णाली पुस्तकालयको तल्लो तलाको गल्लीमा बसिन् । पुस्तकालयको माथिल्लो तलामा सामुदायिक रेडियो नारी आह्वानको कार्यालय थियो । गल्लीमा कसैको आवाज सुनेपछि रेडियोका कर्मचारीले सोधीखोजी गरे । अलपत्र फेला परेकी १० दिनकी सुत्केरी पुतलीले रुँदै भनिन्, ‘छोरी जन्मेकाले बूढा भागे । बस्ने ठाउँ कहीँ पाइनँ । यही गल्लीमा सुत्न खोज्दै छु ।’ उनको पीडा सुनेपछि रेडियो प्रबन्धक दिलमाया शाहीले पुतलीलाई प्राविधिक कोठामा लगेर राखिन् । 

प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले पुतलीको अवस्थाका बारेमा जानकारी पाएपछि तत्काल आश्रयका लागि उनलाई मध्यरातमा पुनः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइयो । स्थानीय प्रशासनले पति वीरबहादुरलाई बोलाएर सुत्केरी स्याहार गर्न पहल ग-यो ।

२३ साउनमा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, प्रहरी प्रमुख सीताराम रिजाल, पुतलीको परिवारका सदस्यसहित छलफल भयो । गाउँपालिका अध्यक्ष बोहोराको पहलमा एम्बुलेन्सको व्यवस्था गरी पुतलीलाई घर पु-याइएको छ । 

छोरी जन्मिँदा परिवारबाटै विभेद र अमानवीय व्यवहार भोग्ने पुतली एक्ली महिला होइनन् । कनकासुन्दरी गाउँपालिका–६ की झनमाया रोकायालाई लगातार तीनवटी छोरी जन्माएको भन्दै पति गंगारामले घर निकाला गरे । गत कात्तिकदेखि उनी माइतीमा छिन् । ‘छोरी जन्मेपछि निकै दुक्ख पाएँ,’ झनमाया भन्छिन्, ‘परिवार नै वैरी बन्यो । आफ्नो कोही भएनन् ।’

तिला गाउँपालिका–३ फुयालवाडाका पुसे नेपाली अहिले ६५ वर्षका भए । उनले १४ वर्षको उमेरमा रिठु नेपालीसँग विवाह गरे । बिहे गरेको वर्ष दिन नबित्दै छोरी जन्मिइन् । छोरा नभए समाजले हेप्ने, मर्दा दाहसंस्कार गर्ने मान्छे नहुने र सम्पत्तिको हकदार पनि छोरा नै हुनुपर्ने रुढीका कारण उनीहरूले सन्तान जन्माउँदै गए ।

पुसे र रिठुले छोराको आसमा ११ छोरी जन्माए । स्वाभाविक रूपमा यति धेरै सन्तानको राम्ररी लालनपालन गर्ने हैसियत पुसेसँग थिएन । तीनवटी छोरीको त पहिले नै मृत्यु नै भयो । चारजनाको बालविवाह भयो । अहिले चारवटी छोरी र पतिपत्नी घरमा छन् । 

वास्तवमा कर्णालीमा धेरैले छोरीलाई सन्तान नै मान्दैनन् । छोरी जन्माउने महिलाका लागि परिवार नै बैरी बन्छ । छोरी जन्मिँदा हेरचाहमा कमी मात्र हुँदैन, कतिपय अवस्थामा नवजात शिशुसहित आमालाई घरबाट निकालिन्छ । 

अस्पतालमा होस या घरमा, छोरा जन्मिए सिन्दूरेजात्रा गर्ने र खुसी साट्ने चलन छ । छोरी जन्मिए सुत्केरीको स्याहारसमेत राम्ररी गरिँदैन । भिडियो एक्सरे गरी भ्रूण पहिचान गरी छोरी भए गर्भमै हत्या गर्ने चलनसमेत बढिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । छोराको आसमा धेरै सन्तान जन्माउने र तिनीहरू कुपोषणको सिकार बन्ने गरेका छन् ।

छोरीलाई नपढाउने, सानै उमेरमा बिहे गरिदिने, तिनले फेरि कम उमेरमै बच्चा जन्माउने दुष्चक्र जुगौँदेखि चल्दै आएको छ । शिक्षित व्यक्तिले नै चरम विभेद गर्ने गरेको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढा बताउँछिन् । 

 

 

सम्बन्धित समाचार