१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
पथरीस्थित खुटिया नदीमा निर्माणाधीन पुल ।
२०७६ श्रावण २९ बुधबार ११:०७:००
Read Time : > 1 मिनेट
प्रदेश

पुल नबन्दा उपमहानगरकै बासिन्दालाई बजार पुग्न सास्ती 

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ११:०७:००

धनगढी मुख्य बजारबाट करिब ११ किलोमिटर दूरीमा रहेको छ पथरी गाउँ । उपमहानगरपालिकाभित्रै पर्ने भए पनि यो गाउँका बासिन्दालाई धनगढी बजारसम्म पुग्न भने सास्ती खेप्नुपर्छ । धनगढी बजार आउन खुटिया नदी पार गर्नुपर्छ, तर नदीमा पुल छैन । पुल नहुँदा वर्षायामभरि स्थानीयले नदी तर्न सास्ती खेप्नुपर्छ । नदीमा बाढी बढेपछि बजार आवतजावत नै बन्द हुने गर्छ ।  

बाढी आएर नदी पार गर्न नसकिने भएपछि बनबेहडा–अत्तरिया भएर धनगढी बजार जाने गरेको स्थानीयले बताए । त्यसरी जाँदा करिब ४० किलोमिटर घुमाउरो पर्छ । स्थानीय रामप्रसाद रानाले पथरी धनगढी बजारछेउकै बस्ती भए पनि पुल नहुँदा बजारसँग जोडिन नसकेको बताए । खुटिया नदीमा पुल नबनेकाले धनगढी बजार पुग्न समस्या हुने गरेको उनको भनाइ छ । 

पथरी गाउँलाई धनगढीसँग जोड्न सडक डिभिजन कार्यालय कञ्चनपुरले खुटिया नदीमा पुल निर्माण गरिरहेको छ । पुल निर्माण भए आवतजावत गर्न निकै सहज हुने स्थानीयको अपेक्षा छ । अबको एक वर्षभित्रै पुल निर्माण सम्पन्न हुने गरी काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

१४ करोड २१ लाखको लागतमा एक सय ५० मिटर लामो पुल निर्माण भइरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर महेन्द्र पन्तले जनाए । तीन वर्ष निर्माण अवधि रहेको पुलको दुई वर्ष लगाएर ६५ प्रतिशत निर्माण कार्य पूरा भएको उनले जानकारी दिए । पाँच स्पानको पुलको एक स्पान राखिएको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी २७ असार ०७४ मा सपना केएस जेभीसँग सम्झौता भएको थियो ।

बाढी आउँदा बजारमा पुग्दैन तरकारी
धनगढी बजार पुग्न भोग्नुपर्ने सास्तीले आफूहरू नगरवासी होइनौँ कि भन्ने लाग्ने गरेको स्थानीय सीताराम चौधरीले गुनासो गरे । शिक्षा, स्वास्थ्य, किनमेल, दैनिक कारोबारलगायत सबै कामका लागि बजार नपुगी सुख छैन । ‘तर, उपमहानगरभित्रकै बस्ती भएर पनि हामीलाई बजार पुग्न सहज छैन,’ उनले भने ।

नदीमा पुल नबनेकाले विद्यालय र क्याम्पस पढ्न दैनिकजसो धनगढी जाने विद्यार्थीलाई बढी समस्या हुने गरेको छ । पथरी गाउँका अधिकांश स्थानीय व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । उत्पादित तरकारी बिक्रीका लागि धनगढी पु-याउनुको विकल्प उनीहरूसँग छैन । तर, नदीमा बाढी आएको दिन किसान उत्पादन गरेको तरकारी बजारसम्म लैजान सक्दैनन् ।

स्थानीय चमेली चौधरीले बजार पु-याउन नसकेको दिन बारीबाट टिपेको तरकारी खेर जाने गरेको बताइन् । बाढी आएको दिन नदी तर्न नसकिने भएकाले तरकारी बजारसम्म पु-याउन नसकिने उनको भनाइ छ । अरु वेला सहजै तर्न सकिने खुटिया नदी वर्षायाममा बाढी आएको वेला भने तर्न नसकिने भएकाले आवतजावत नै बन्द हुने गरेको वडा नम्बर १७ का अध्यक्ष माधव रानाले बताए ।