१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण २९ बुधबार १०:१३:००
Read Time : > 1 मिनेट
समाचार

किशोरीलाई भारत पुर्‍याएर जबर्जस्ती यौन व्यवसायमा लगाउने एक महिला पक्राउ

Read Time : > 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १०:१३:००

मोरङकी एक किशोरीलाई भारतमा लगेर यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । १५ वर्षीया किशोरीलाई भारतको पञ्जाव पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–९ की ४२ वर्षीया गीता ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । केही समयदेखि भारतमा लुकीछिपी बस्दै आएकी गीतालाई घर आएको मौकामा सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

अन्य आठजना फरार
किशोरीलाई भारत पुर्‍याउने कार्यमा नौजनाको संलग्नता पाइएको प्रहरीले जनाएको छ । अन्य आठजना फरार छन् । गीतासहित सुनवर्षी–९ का रोहित ऋषिदेव, विजली ऋषिदेव, छुटरू भनिने कैलाश ऋषिदेव, गोविन्द ऋषिदेव, दीपचन्द ऋषिदेव, भागो ऋषिदेव, सागर ऋषिदेव र श्रीचन्द ऋषिदेवले किशोरीलाई भारत पुर्‍याएर यौन व्यवसायमा लगाएको प्रहरीको भनाइ छ ।

रोहित र विजली गीताका छोरा र पति हुन् । पक्राउ परेकी महिलाविरुद्ध सोमबार अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक दाहालले बताए । 

२ फागुन ०७५ मा घरबाट हराएकी किशोरीलाई जरर्जस्ती भारत पुर्‍याउने काममा नौजनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । साढे पाँच महिनापछि किशोरीलाई भारत र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर नेपाल ल्याइएको दाहालले बताए । 

 नौजनाविरुद्ध उजुरी
किशोरीले आफूलाई जबर्जस्ती भारतको पञ्जाव पुर्‍याएर बन्धक बनाएर यौन धन्दामा लगाएको बताएकी छन् । किशोरीलाई भारत पुर्‍याउने कार्यमा संलग्न नौजनाविरुद्ध उनका अभिभावकले किटानी जाहेरी दिएका छन् । जाहेरी परेपछि गीतालाई प्रहरीले पक्राउ गरेको हो । ‘अन्य आठजना भने भारततिरै फरार भएका छन्, हामी उनीहरूको खोजी गरिरहेका छौँ,’ दाहालले भने ।

अपहरणपछि बलात्कार
प्रहरीका अनुसार सुरुमा गीता, उनका पति र छोराले परिवारभित्र सल्लाह गरेर किशोरीलाई भारत पुर्‍याउने योजना बनाएको देखिन्छ । ‘दुईवटा मोटरसाइकलमा आएका चारजनाले जबर्जस्ती मोटरसाइकलमा राखेर किशोरीलाई भारततर्फ लिएर गएको अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक दाहालले भने, ‘अरूले भारतको पञ्जावसम्म पुर्‍याउने, बन्धक बनाउने र यौन धन्दामा लगाउने काममा सहयोग गरेको देखिन्छ ।’ भारत लैजाने क्रममा अपहरणकारीले किशोरीलाई बाटोमा बलात्कारसमेत गरेका प्रहरीले जनाएको छ ।