मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २९ बुधबार १०:१३:००
Read Time : > 2 मिनेट
खेलकुद

सकियो क्यान जिल्ला निर्वाचन

Read Time : > 2 मिनेट
२०७६ श्रावण २९ बुधबार १०:१३:००

नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला निर्वाचन सकिएको छ । मंगलबार काठमाडौं जिल्ला संघको निर्वाचन सम्पन्न भएसँगै क्यानअन्तर्गत सबै ३९ जिल्लाको निर्वाचन सम्पन्न भएको छ । यसले क्यान निलम्बन फुकुवा प्रक्रिया सहजतातर्फ अघि बढेको संकेत गरेको छ । यसअघि अन्य तीन प्रदेशमा निर्वाचन भइसक्दासमेत काठमाडौं जिल्ला संघमा निर्वाचन हुने–नहुने अनिश्चितता देखिएको थियो । 

जिल्लाका निवर्तमान अध्यक्ष दिवाकर घलेसहित केही पदाधिकारीमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)द्वारा गठित स्वतन्त्र समितिले चुनावी प्रक्रियामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएपछि काठमाडौंको निर्वाचनमा अनिश्चितता देखिएको थियो । 

निवर्तमान अध्यक्ष घले, किरण राणालगायत पदाधिकारीले त्यसविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । यद्यपि, अदालतले त्यस सम्बन्धमा अन्तिम फैसला दिनुअघि नै उनीहरूले निर्वाचन गरी नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएका छन् ।

‘हामीमाथि स्वतन्त्र समितिले अन्यायपूर्ण निर्णय गरेको छ । यद्यपि, हामीले नेपाली क्रिकेटलाई यो संकटबाट मुक्त बनाउनुपर्छ भन्ने उद्देश्यले नेतृत्व हस्तान्तरण गरेका छौँ,’ निर्वाचनपछि क्यान निर्वाचित समितिका उपाध्यक्षसमेत रहेका घलेले भने, ‘हामीमाथि भएको अन्यायपूर्ण निर्णयबारे पछि लडौँला । अहिलेलाई क्रिकेटको हितमा व्यक्तिगत मुद्दालाई पछि छाडेका छौँ ।’

स्वतन्त्र समितिको निर्णय कार्यान्वयन
आइसिसीद्वारा यसअघि गठित सल्लाहकार समूहले तयार पारेको विधानअनुसार क्यान निर्वाचित समितिले यसअघि नै जिल्ला निर्वाचन सम्पन्न गरेको थियो । त्यसअन्तर्गत ३९ मध्ये ३७ जिल्लाले नयाँ सदस्यतासहित निर्वाचन गराएका थिए । बाँकी दुई जिल्ला ललितपुर र भक्तपुरले निर्वाचन गराएका थिएनन् । 

आइसिसीले सम्पन्न भइसकेको ३७ जिल्लाको निर्वाचनको वैधानिकताको अध्ययन गर्न र बाँकी प्रदेश तथा केन्द्रको निर्वाचनको सञ्चालन र अनुगमनका लागि स्वतन्त्र समिति गठन गरेको थियो, जसमा आइसिसीकै तीन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्यान निर्वाचित समितिबाट एक–एक गरी पाँच सदस्य छन् । 

सो समितिले यसअघि नै निर्वाचन भइसकेका ३७ मध्ये २० जिल्लाको निर्वाचन सदर गरेको थियो । बाँकी १७ जिल्लालाई पुनः निर्वाचन गर्न निर्देशन दिएको थियो । त्यसमध्ये काठमाडौंले पनि पुनः निर्वाचन गर्नुपरेको हो । स्वतन्त्र समितिको यो निर्णयमा धेरै जिल्ला संघहरूमा विवाद देखिएको थियो । यसअघि विभिन्न पदमा निर्वाचित भइसकेका व्यक्तिहरूको सदस्यता नै खारेज हुँदा उनीहरूले अदालतमा मुद्दा दायर गरेका थिए । यद्यपि, समितिको निर्णयअनुसार नै सबै जिल्ला संघको निर्वाचन सम्पन्न भएको छ । 

काठमाडौंमा पाण्डे अध्यक्ष
काठमाडौं जिल्लामा अमितवीर पाण्डे अध्यक्ष चुनिएका छन् । स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठ आफैँ उपस्थित भएर गराएको साधारणसभामार्फत पाण्डे सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । उनीसँगै १४ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको हो । 

संघको उपाध्यक्षमा विजयकुमार शर्मा, सचिवमा वसन्तराज सत्याल, कोषाध्यक्षमा युग बस्नेत चुनिएका छन् । यस्तै, सदस्यहरूमा हिमालराज गिरी, मनीष ढुंगेल, अजयवीर पाण्डे, रमण श्रेष्ठ, सामसंगजंग थापा, प्रफुल्ल वैद्य, रितेश डंगोल, महेश्वरी डंगोल, धीरेन्द्र श्रेष्ठ र विजितध्वज चन्द चुनिए ।

साधारणसभाले अध्यक्ष अमितवीर पाण्डेलाई केन्द्रीय प्रतिनिधिका रूपमा समेत चयन गरेको छ । यस्तै, प्रफुल्ल वैद्य, अजयवीर पाण्डे, महेश्वरी डंगोल र राजु बस्नेतलाई प्रदेश प्रतिनिधिका रूपमा चयन गरेको छ ।

अक्टोबरमा निलम्बन फुकुवाको सम्भावना 
स्वतन्त्र समितिले क्यानअन्तर्गत सदूरपश्चिम प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशको निर्वाचन यसअघि नै सम्पन्न गरिसकेको छ । अब प्रदेश २, प्रदेश ३ र प्रदेश ५ प्रदेशको निर्वाचन हुन बाँकी रहेको छ । 

आगामी सेप्टेम्बरभित्र यी चार प्रदेश र केन्द्रको पनि निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्नसकेको अवस्थामा अक्टोबर महिनापछि क्यानमाथिको निलम्बन फुकुवा हुनेछ । आइसिसीको गत १८ जुलाईमा लन्डनमा सम्पन्न वार्षिक साधारणसभाले जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्न सकेको अवस्थामा क्यानमाथिको निलम्बन फुकुवा गरिने निर्णय गरेको छ । त्यसका लागि साधारणसभाले अर्काे साधारणसभा कुर्नु नपर्ने गरी निलम्बन फुकुवाको अधिकार आइसिसी बोर्डलाई नै दिएको छ । 

सोही निर्णयअनुसार आइसिसीले आगामी सेप्टेम्बरसम्म केन्द्रमा नयाँ कार्यसमिति चयन गर्न सकेको अवस्थामा अक्टोबरमा हुने बोर्ड बैठकमार्फत क्यानमाथिको निलम्बन फुकुवा गरिने पत्र नेपाललाई पठाएको छ ।