१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २९ बुधबार १०:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

एभिसी सेन्ट्रल जोन भलिबलको सम्पूर्ण तयारी पूरा

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १०:०६:००

नेपाल भलिबल संघले अर्काे साताबाट सुरु हुने एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता २ देखि ७ भदौसम्म लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा सञ्चालन हुँदै छ । 

संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । संघले प्रतियोगिताका लागि ‘भेन्यु’ र प्राविधिक पक्षको सबै तयारी पूरा गरेको जनाएको छ । 

‘प्रतियोगिता सञ्चालन हुने ‘कोर्ट’देखि खेलाडीका लागि आवश्यक चेन्जिङ रुम, शौचालय र आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ,’ पत्रकार सम्मेलनमा महासचिव जितेन्द्रबहादुर चन्दले भने, ‘त्यसका साथै सहभागी टोलीका लागि स्थानीय यातायात, होटेल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी पूरा भएको छ ।’

विमानस्थलमा ‘हेल्प डेस्क’
संघले सहभागी टोली नेपाल ओर्लंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र सहयोगका लागि छुट्टै डेस्कको व्यवस्थासमेत गरिएको जनाएको छ । सेन्ट्रल जोन भलिबल प्रतियोगिता नेपालले पहिलोपटक आयोजना गर्न लागेको हो । यो प्रतियोगिता संघले आयोजना गर्न लागेको एभिसीको क्यालेन्डरमा समावेश पहिलो प्रतियोगिता पनि हो । 

प्रतियोगितामा आयोजक नेपालसहित एभिसीले वर्गीकरण गरेका एसियाली क्षेत्रका दोस्रो स्तरका टोलीहरू अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दै छन् । 

सात दिनअघि नै आइपुग्यो अफगानिस्तान
प्रतियोगितामा सहभागी हुन अफगानिस्तान ७ दिनअघि नै काठमाडौं आइपुगेको छ । अफगानिस्तानको टोली मंगलबार काठमाडौं उत्रिएको हो । अफगानी टोली मैत्रीपूर्ण खेल र अभ्यासका लागि प्रतियोगिताभन्दा साता दिनअघि नै काठमाडौं आएको हो । आयोजक नेपाल भलिबल संघले प्रतियोगितामा सहभागी टोलीहरू शनिबारसम्म काठमाडौं आइसक्ने जानकारी दिएको छ ।