२०७६ श्रावण २९ बुधबार ०९:२८:००
नयाँ पत्रिका, काठमाडाैं

साग तयारी : महिला फुटबलले किर्गिस्तानमा खेल्ने

नेपाली महिला फुटबल टोलीले आसन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरूप किर्गिस्तानमा प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएबअअनुसार नेपाली महिला टोलीले आगामी भदौको अन्तिम साता किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगिता खेल्ने भएको हो । नादेज्दा कप कप २२ देखि २६ भदौसम्म चल्नेछ ।

प्रतियोगितामा आयोजक किर्गिस्तान र नेपालसहित ताजकिस्तान र उज्बेकिस्तान गरी चार टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको समूहगत चरणको पहिलो प्रतिस्पर्धामा नेपालले २२ भदौमा आयोजक किर्गिस्तानसँग खेल्नेछ । यस्तै, २३ भदौमा उज्बेकिस्तान र २४ भदौमा ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाली महिला टोली हाल साग खेलकुदको तयारीमा रहेको छ । आगामी मंसिर १५–२४ सम्म सञ्चालन हुने साग खेलकुदको अन्तिम तयारी स्वरूप नेपाली महिला टोलीले किर्गिस्तानमा प्रतियोगिता खेल्न लागेको हो । 

साग खेलकुदमा नेपाली महिला टोली सधैँ उपाधिको दाबेदार रहने गरे पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाली महिला टोली साग फुटबलको स्वर्णको होडमा सधैँ भारतसँग पराजित हुँदै आएको छ । 

नेपालको खेल तालिका
२२ भदौमा किर्गिस्तानविरुद्ध
२३ भदौमा उज्वेकिस्तानविरुद्ध
२४ भदौमा ताजकिस्तानविरुद्ध