१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जेफ्री स्याक्स काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०९:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

बेलायत र अमेरिकाका गलत निर्वाचन

Read Time : > 2 मिनेट
जेफ्री स्याक्स काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०९:०८:००

विश्वले बेलायत र अमेरिकाका राजनीतिक प्रणालीलाई सम्मानित र प्रभावशाली लोकतान्त्रिक व्यवस्था मान्दै आएको थियो । तर, अहिले ती देशको नेतृत्वमा बोरिस जोनसन र डोनाल्ड ट्रम्पजस्ता लोकतन्त्रका मूल्यप्रति मतलव नगर्ने नेता पुगेका छन् । यो अवस्था कसरी आयो ?  ट्रम्प स्वयंले जोनसनलाई ‘बेलायतको ट्रम्प’ उपमा दिएका छन् । तर, तिनको उदय, समान व्यक्तित्व वा शैलीको मात्र कुरा होइन, त्यस्ता व्यक्तिलाई सत्तामा पु-याउने राजनीतिक संस्थामा रहेका कमजोरी पनि महत्वपूर्ण  पक्ष हुन् । 

आइरिस मनोचिकित्सक आयन हग्सको भाषामा भन्ने हो भने ट्रम्प र जोन्सन दुवैमा ‘विकारयुक्त मानसिकता’ देखिन्छ । ट्रम्प सधैँका ढँटुवा, नश्लवादका सम्वाहक र ठूलो परिमाणमा कर छली गर्ने व्यक्ति हुन् । त्यसबाहेक ट्रम्पलाई २० भन्दा धेरै महिलाले यौनशोषणको आरोप लगाएका छन् । लिक भएको एउटा अडियो टेपमा महिलामाथि बलजफ्ती गर्ने आफ्नो स्वभावप्रति ट्रम्प गर्व भावसाथ कुरा गरिरहेको सुनिन्छ ।

सन् ०१६ को राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको अनुसन्धानमा ट्रम्पले बारम्बार अवरोध पु-याएको कुरा रोबर्ट मुलरले बताइसकेका छन् । जोनसनको व्यक्तिगत स्वभाव पनि उस्तै अस्थिर खालको छ । उनी धेरैमाझ ढँटुवा र अव्यवस्थित जीवनशैलीका लागि परिचित छन् । जोनसन प्रधानमन्त्री हुनु केही समयअघि उनको प्रेमिकासँग झगडा भएको खबर मिडियामा आएको थियो । जोनसनले सन् २०१६मा बेलायतलाई युरोपबाट निकाल्नुपर्ने अभियानको नेतृत्व गरेका थिए । त्यस समय उनले बेलायत युरोपबाट छुट्टिँदा जे–जे फाइदा हुन्छ भन्ने दाबी गरेका थिए, अहिले ती गलत प्रमाणित भएका छन् । 

दुवै नेता त्यहाँका पाका मतदातामाझ तुलनात्मक रूपमा लोकप्रिय रहे पनि तिनको समग्र लोकप्रियतामा कमी आएको सर्वेक्षणले देखाएका छन् । यी दुई सम्मानित लोकतन्त्रको सत्तामा कसरी ‘विकारयुक्त मानसिकता’ भएका नेता पुगे भन्नेमा एउटा स्पष्ट जवाफ छ– ट्रम्प र जोनसन दुवैले पाको जनसंख्याको त्यो हिस्साबाट ठूलो समर्थन जुटाउन सके जसले दशकाैँदेखि आफूलाई बेवास्तामा परेको ठानिरहेका थिए ।

त्यो समूहमा मुख्यतः व्यापार तथा प्रविधिका कारण र अन्य आधार, जस्तैः अश्वेत, महिला र यौनिक अल्पसंख्यक भएकै कारण सीमान्तीकरणमा परेको मानसिकता विकास भयो ।  जोनसनले चाहिँ अद्योगिक क्षेत्र कमजोर हुँदै जाँदा रोजगारी गुमाएका पाका मतदाता र बेलायती स्वाभिमानको गौरवशाली दिन पुनः फर्कियोस् भनी कामना गर्ने मतदातालाई आकर्षित गरे । यद्यपि, यो पूर्ण व्याख्या होइन ।

ट्रम्प र जोनसनको उदयले गहिरो राजनीति असफलतालाई प्रतिविम्बित गर्छ । तिनका प्रतिद्वन्द्वी पार्टी डेमोक्र्याट र लेबरले विश्व्यापीकरणबाट विस्थापित कामदारका आवश्यकता सम्बोधन गर्न असफल भएपछि तिनले विकल्प खोजे ।

सत्तामा पुगेपछि ट्रम्प धनाढ्यले तिर्नुपर्ने कर कटौती गर्ने र जोनसन सहमति नगरी ‘ब्रेक्जिट’को टुंगोे लगाउने नीति पछ्याउँदै छन् । यी नीतिले जुन वर्गको मत पाएर ती सत्तामा पुगेका हुन्, त्यही वर्गलाई हानि गर्छ । 

दुई देशको राजनीतिक प्रतिनिधित्वको संयन्त्रमा रहेको साझा खोट तिनले अवलम्बन गरेको पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीमा छ । एकजना सदस्य चुन्ने निर्वाचन क्षेत्रमा सामान्य बहुमतले जनप्रतिनिधि चुनिने प्रक्रियाले गर्दा ती देशमा दुई राजनीतिक दल हावी हुने अवस्थालाई बढावा दिएको छ । जबकि पश्चिम युरोपका अधिकांश देशमा समानुपातिक प्रतिनिधित्व प्रणाली लागू छ, जसले धेरै पार्टीको संसद्मा प्रतिनिधित्व गराउँछ ।

दुई पार्टी प्रणालीमा जुन पार्टीले जित्छ, सबै कुरा उसैको लागू हुन्छ । यसले अन्य धेरै पक्षका आवाजको प्रतिनिधित्व हुन पाउँदैन । पश्चिम युरोपेली राष्ट्रमा सरकार बनाउनका लागि गठबन्धन बनाउनुपर्छ, जसले गर्दा त्यहाँ गठबन्धनमा सहभागी तीन–चार दलका कार्यान्वयन गर्न सकिने साझा मुद्दामा छलफल गरेर टुंगोे लगाइन्छ । उदाहरणका लागि अमेरिकाको राजनीतिक परिदृष्यलाई नै लिऊँ ।

 

२९ प्रतिशत अमेरिकी नागरिक आफूलाई ट्रम्पको रिपब्लिकन पार्टीसम्बद्ध मान्छन् । त्यस्तै, २७ प्रतिशतले आफूलाई डेमोक्र््याट्स मान्छन्, तर ती दुई पार्टीलाई समर्थन गर्नेभन्दा धेरै अर्थात् ३८ प्रतिशत अमेरिकीले चाहिँ आफूलाई स्वतन्त्र दाबी गर्छन् । यी अमेरिकाका दुवै ठूला पार्टीसँग असहमत छन् । यो वर्गको कुनै प्रतिनिधित्व नै हुँदैन । जित्नेको सबै हुने राजनीतिक प्रणालीकै कारण दुईजना खतरनाक व्यक्तित्व दुई महत्वपूर्ण  लोकतान्त्रिक देशको नेतृत्वमा पुगेका छन् । 

जनचाहनालाई पूर्ण रूपमा नीतिमा बदल्न सक्ने राजनीतिक प्रणाली कतै पनि छैन । त्यहीँमाथि, राजनीतिक अभिमत प्रायः अस्पष्ट, गलत सूचनाले निर्देशित गर्ने खतरनाक चाहनाबाट बहकिने गर्छ । राजनीतिक संस्थाको संरचनामा निरन्तरको विकासको चुनौती हुन्छ । यद्यपि, आजको दिनमा समय गुज्रेको राजनीतिक प्रणाली अवलम्बन गरेका कारण विश्वका सबैभन्दा पुराना र सम्मानित दुई लोकतान्त्रिक मुलुक खराब र खतरनाक रूपमा अघि बढिरहेका छन् । 

(कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्स संयुक्त राष्ट्र संघको ‘दिगो विकास समाधान सञ्जालका’का निर्देशक हुन् )   

ë Project Syndicate 2019

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य