मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लियोनिड रागोजिन काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०८:५५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

मस्कोमा पुटिनको पकड गुम्ने जोखिम

मस्कोका सडकमा सुरु भएको आन्दोलन नैतिक धरातलमा उभिएको छ, यो अनुदार र अनैतिक राजनीतिक सहयोगीबाट मुक्त छ

Read Time : > 2 मिनेट
लियोनिड रागोजिन काठमाडाैं
२०७६ श्रावण २९ बुधबार ०८:५५:००

विपक्षीहरूले १० अगस्टमा रुसी राजधानी मस्कोमा सामूहिक जनप्रदर्शन गरे, लगातार पाँचौँ शनिबार । निर्वाचन आयोगले मस्को सिटी संसद्को चुनावमा विपक्षी उम्मेदवारलाई उठ्न अयोग्य घोषणा गरेको विरोधमा यस्तो प्रदर्शन भएको हो, यो शक्तिहीन निकायले मेयर सर्गेई सोबियनिनको नीति–निर्माणमा रबरस्ट्याम्प लगाउने काम गर्दै आएको छ । 

यसअघिका दुई प्रदर्शनले महानगरबाट स्वीकृति लिएका थिएनन्, जसका कारण दंगा फैलियो । यसपटक महानगरले विरोधका लागि स्वीकृति दियो र झन्डै ५० हजारदेखि ६० हजार व्यक्ति प्रदर्शनमा सहभागी भए । यो २०११–१२ पछिकै ठूलो -याली हो, डिसेम्बर २०११ मा भएको संसदीय निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै त्यतिवेला बोलोत्नायामा प्रदर्शन भएको थियो । यही आन्दोलनको प्रतिक्रियास्वरूप राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको आन्दोलनमा कडा प्रतिक्रिया देखाए ।

अन्ततः पुटिनले क्रिमियामा कब्जा जमाए । पूर्वी युक्रेनमा द्वन्द्व सुरु भयो । केही वर्षसम्म यस्तो देखियो कि छिमेकी देशमा राजनीतिक द्वन्द्व फैलाउन उनले प्रायोजन गरेका छन् । उनको लोकप्रियताले आकाश छोयो, विपक्षीहरू विभाजित भएर सीमान्तकृत बने । पुटिनको राष्ट्रवादी निर्णयको प्रभाव अहिले नकारात्मक देखिँदै छ । आजको दिनमा उनीप्रतिको भरोसा घटेर २०१० कै सुरुवाती वर्षमा फर्किएको छ ।

विपक्षीले फेरि संगठित हुने र जनतालाई ठूला -यालीमा परिचालन गर्न सक्ने क्षमता देखाएका छन् । सर्वेक्षणअनुसार ३७ प्रतिशत मस्कोवासीले प्रदर्शनलाई समर्थन गरेका छन्, २७ ले विरोध गरेका छन् भने ३० प्रतिशत तटस्थ छन् । यो अनुमान लगाउन गाह्रो छ, कुन पक्ष यस नतिजाले धेरै स्तब्ध भएको छ– क्रेमलिनको सत्ता, जसले आन्दोलनकारीलाई वास्तविक लोकप्रियता नभएको निम्छरो देखेको थियो वा उदार विपक्षी, जसले शक्तिशाली पुटिनलाई माया गर्ने समाजको अल्पसंख्यक विद्रोहीकै रूपमा आफूलाई स्विकारिसकेको थियो । 

मस्कोमा यस्तो अवस्था देखिनु असान्दर्भिक होइन, रुसजस्तो केन्द्रीकृत राज्यमा सम्भवतः राजधानी मात्रै यस्तो ठाउँ हो, जसले शासन परिवर्तनमा प्रभाव पार्न सक्छ । वास्तवमा त्यो मस्कोमै भएको अगस्ट १९९१ को शान्तिपूर्ण आन्दोलन थियो, जसले कम्युनिज्म अन्त्य ग-यो र अचानक सोभियत युनियन ढल्यो । आजको विरोध त्यतिवेलाजस्तो छैन, तर बढ्दो छ । गत शनिबार आयोजित -यालीमा सहभागीको संख्या अघिल्लो महिनाको तुलनामा दोब्बर थियो । यसको एउटा प्रमुख कारण सत्ताले विपक्षीमाथि देखाएको त्रास र दमन थियो ।

पुटिनको राष्ट्रवादी निर्णयको प्रभाव अहिले नकारात्मक देखिँदै छ, आजको दिनमा उनीप्रतिको भरोसा घटेर २०१० कै सुरुवाती वर्षमा फर्किएको छ
 

अनुमति नलिई गरिएका यसअघिका दुई -यालीलाई अधिकारीले सामूहिक हुलदंगाको व्यवहार गरेका थिए, जब कि त्यो शान्त र कानुनसम्मत थियो । रणनीतिक रूपमा सरकारले विपक्षी नेतालाई निसाना बनाएको थियो, मौका पाएका वेला प्रदर्शनकारीमाथि दमन गरियो र दुर्भाग्यवश प्रदर्शनस्थलमा पुगेका सर्वसाधारणलाई पनि छाडिएन । २७ जुलाई र ३ अगस्टको प्रदर्शनमा २ हजारभन्दा बढी जनता समातिएका थिए । केहीलाई चरम यातना दिइयो ।

प्रहरीले इन्सुलिन खोसेपछि मधुमेहका रोगी टिभी निर्माता डिमिट्री भाल्सियभ आकस्मिक कक्षमा जानुप-यो । आन्दोलनकारी डिमिट्री र ओल्गा प्रोकाजोभबाट उनीहरूका एक वर्षे छोराको अभिभावकत्व खोस्ने धम्की दिइयो किनकि उनीहरू बच्चा बोकेर आन्दोलनमा गएका थिए । १३ प्रदर्शनकारीले अहिले आपराधिक अभियोग खेपिरहेका छन्, जसले उनीहरूलाई ८ वर्षसम्म जेलमा राख्न सक्छ । 

सर्वसाधारणमाथि सजाय दिने सुरक्षा एजेन्सीले विपक्षी नेता एलेक्जाई नाभेल्नीको भ्रष्टाचारविरोधी कोषलाई पनि ध्वस्त बनाएका छन्, यसले रुसका विपक्षीको नेटवर्क व्यवस्थापन गर्ने र माथिल्लो तहका भ्रष्टाचार अनुसन्धान गर्ने गर्छ । त्यसैले शनिबार जब प्रदर्शन भयो, त्यतिवेला नाभेल्नीसहित उनका अधिकांश सहयोगी हिरासतमा थिए । रुसी आन्दोलनकी चर्चित पात्र लाइयुवोभ सोबोललाई प्रदर्शन सुरु हुनुभन्दा केहीअघि नाटकीय रूपमा गिरफ्तार गरियो ।

यसपटक विपक्षीले राम्रो समर्थन पाए । उनीहरूले आन्दोलनका लागि राम्रोसँग जनशक्ति परिचालन गरे । रुसमा लोकप्रिय भिडियो ब्लगर युरी डुड, -यापर अक्समाइरोनलगायत सेलिब्रेटीले -यालीमा खुलेआम समर्थन जनाए । आजको दिनमा मस्कोका सडकमा सुरु भएको आन्दोलन नैतिक धरातलमा उभिएको छ, यो अनुदार र अनैतिक राजनीतिक सहयोगीबाट मुक्त छ । यसले पुटिनको अति दक्षिणपन्थी निरंकुश शासनलाई कानुनी मैदानमा आउन र स्वस्थ निर्वाचनमार्फत शक्तिको प्रतिस्पर्धा गर्न बाध्य बनाउने चाहना राखेको छ ।

(रागोजिन स्वतन्त्र पत्रकार हुन्) अलजजिरा डट कमबाट