१८ घन्टासम्म मादल घन्काएँ : खर्कबहादुर बुढा वाद्यवादक

मादल मोह

२०७६ श्रावण २९ बुधबार ०७:४८:००

सल्यानतिर दसैँको सप्तमीका दिन कालरात्रि जगाएपछि दिनभरि नाच्ने चलन छ । मादलको तालको रन्को मेरो दिमागमा बाल्यकालमै बस्यो । टप्पा, झ्याली, झुमाजस्ता गीतमा म नाच्थेँ, बजाउँथेँ ।

घरमै लुकीलुकी मादल बजाउँथेँ । तर, बई (हजुरआमा)ले गाली गर्नुहुन्थ्यो । झिँझो मानेर मलाई खेतमा पठाउनुहुन्थ्यो । घर फर्केपछि म बईको आँखा छलेर फेरि मादल बजाउन थाल्थेँ । मादल बजेको सुन्नासाथ बईले गाली गर्नुहुन्थ्यो ।

गीत गाउने रहरले मादल सिकेँ । मादल बजाउँदै, दोहोरी गाउँदै बिहे पनि गरेँ । गाउँघरमा मादल बजाएर धोको मेटिएन । राप्तीका टप्पा र पैसारुले मलाई रेडियो नेपाल सम्झाइरहे । त्यही लहडमा ०४३ सालतिर काठमाडौं आएँ र रेडियो नेपालको प्रतिस्पर्धामा भाग लिएँ । तेस्रो स्थानमा नाम निकालेँ । मेरा गीत पनि रेडियोमा घन्किन थाले ।

०४५ सालतिर राष्ट्रिय नाचघरमा आवेदन दिएँ । वाद्यवादनमा महिनाको सात सय रुपैयाँको जागिर पाएँ । तर, नाच्न, गाउन छुट्यो । नाच्न, गाउन आएको थिएँ, वाद्यवादक भएँ । धिमे, खीँ, ढोलक, कोचकीलगायत भाकामा १८ घन्टासम्म मादल घन्काएको छु ।