मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण २९ बुधबार ०७:१५:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्से घट्यो, कारोबार रकम बढ्यो

Read Time : > 3 मिनेट
२०७६ श्रावण २९ बुधबार ०७:१५:००

मंगलबार पनि नेप्सेले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ । नेप्से ओरालो लागे पनि यस दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । सोमबार ३१ करोडबराबरको सेयर खरिद–बिक्री भएको बजारमा यस दिन ४८ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । सूचीकृत कम्पनीहरूले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने क्रम जारी छ । औसतमा कम्पनीहरूले नाफा आर्जन गरेका छन् । 

यसका साथै बजार निरन्तर ओरालो लागेका कारण सेयरमूल्य तुलनात्मक रूपमा सस्तिएको छ । केही लगानीकर्ता कम्पनीको विश्लेषण गरी सस्तोमा सेयर खरिद गर्नतर्फ लाग्दा यस दिन कारोबारमा सुधार भएको एक ब्रोकरले बताए । अधिकांश लगानीकर्ता पुँजीगत लाभकर विवादमा अल्झिरहेका वेला दीर्घकालीन लगानीकर्ता सेयर खरिद गर्नतर्फ लागेको उनको भनाइ छ । केही कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा पनि गरिसकेका छन् । कम्पनीहरूको सही विश्लेषण गरी दीर्घकालीन लगानीका लागि सेयर खरिद गर्नु अहिले उपयुक्त समय भएको एक विश्लेषकले बताए । 

बजार सारांश
मंगलबार नेप्से परिसूचक २ दशमलव ७८ अंक घटेर १ हजार २ सय ३१ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ५८ अंक घटेर २ सय ६७ दशमलव १४ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ६ अंक घटेको छ । यस दिन १ सय ६५ कम्पनीको ९ हजार ३ सय ७५ पटकको कारोबारमा ४८ करोड १६ लाख २९ हजार ७ सय ६० रुपैयाँबराबरको १८ लाख ९६ हजार ४ सय ५४ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको आरएसआई यस दिन ३३ दशमलव ७२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ६९ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये ५८ कम्पनीको सेयरमूल्य बढेको छ भने ८४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे पहिलो टेवा १ हजार २ सय २७ दशमलव ८० बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय २४ दशमलव ५४ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे नेप्सेले १ हजार २ सय ३५ दशमलव ४१ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ३९ दशमलव ७६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिनको पिभट बिन्दु १ हजार २ सय ३२ दशमलव १५ बिन्दु रहेको छ । 

माछापुच्छ्रेको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ४८ पटकको कारोबारमा १२ करोड ९६ लाख ७१ हजार रुपैयाँबराबरको ५ लाख ७ हजार ७ सय ७ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको लक्ष्मी बैंकको यस दिन ८ करोड ६१ लाख १ हजार ४ सय ३० रुपैयाँबराबरको ४ लाख ३ सय ७० कित्ता सेयर खरिद–बिक्री भएको छ । मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर, नेपाल बैंक, रसुवागढी हाइड्रोपावर कम्पनी र फस्र्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको कारोबार रकम यस दिन १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन पनि रसुवागढी पहिलो स्थानमा रहेको छ भने सान्जेन दोस्रो स्थानमा रहेको छ । रसुवागढीको यस दिन २ हजार ७३ पटक र सान्जेनको १ हजार ९ सय ८३ पटक सेयर किनबेच भएको छ । 

सेयरमूल्य फरकदर न्यून
यस दिन कारोबारमा आएका सबै कम्पनीहरूको सेयरमूल्य अघिल्लो दिनको तुलनामा धेरै घटबढ भएको छैन । यस दिन युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७ दशमलव ६२ प्रतिशत बढेको छ ।वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । 

अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । यस दिन कुनै पनि कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छैन । एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी, ज्योति विकास बैंक, नेसनल हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।   

१० समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये १ समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव शून्य ९ प्रतिशत घटेको छ । अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ६७ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३३ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३० प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव १२ प्रतिशत घटेको छ । कारोबारमा आएका जलविद्युत् समूह, निर्जीवन बिमा समूह र लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।

मूल्य समायोजन
मंगलबार नेप्सेले लक्ष्मी भ्यालु फन्ड–१ को मूल्य समायोजन गरेको छ । योजनाको १५ प्रतिशत लाभांश समायोनपछिको मूल्य ९ दशमलव ४३ रुपैयाँ तोकिएको छ । साउन १५ गते बसेको यस योजनाको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

रसुवागढीको लकइन सेयर बिक्री गर्न नपाइने
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको लकइनमा रहेको सेयर ३ वर्ष पूरा नभएसम्म बिक्री गर्न नपाइने भएको छ । कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता, कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्ला सम्बन्धित स्थानीय तहका कर्मचारी, कर्मचारी सञ्चयकोषका कर्मचारी र कम्पनीका कर्मचारीमा बाँडफाँड गरेको सेयर लकइनमा राखेको थियो । लकइन सेयर धारण गरेका लगानीकर्ताले सेयर बिक्री गरेमा सोअनुसारको जरिवाना तिर्नुपर्ने कम्पनीले बताएको छ । 

फर्स्टको मर्जर तथा प्राप्ति समिति गठन
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरूसँग गाभ्ने–गाभिने अथवा प्राप्ति गर्ने प्रयोजनका लागि समिति गठन गरेको छ । साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर तथा एक्विजिसनसम्बन्धी छलफल गर्न तथा गृहकार्य गर्न सो समिति गठन गरेको हो । समितिका संयोजक विवेकमानसिंह शाक्य रहेका छन् भने उमेश कटुवाल र युवराज क्षत्री सदस्य तथा भेषराज पन्थी सदस्य सचिव रहेका छन् । 

लाभांश पारित
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ दशमलव ८९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।