१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २९ बुधबार ०६:३३:००
Read Time : < 1 मिनेट
समाचार

प्रशासनको निर्देशनले रोकियो रेडक्रसको साधारणसभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २९ बुधबार ०६:३३:००

नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय वार्षिक साधारणसभा अकस्मात स्थगित भएको छ । देशभरबाट प्रतिनिधि काठमाडौं आइपुगेको अवस्थामा सभा स्थगित भएको हो । मंगलबार बिहान नौ बजेदेखि काभ्रेको बनेपामा बोलाइएको केन्द्रीय सभा स्थगित गर्नुपर्दा मर्माहित भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले बताए । 

मंगलबार पत्रकार सम्मेलन गरी थापाले सभा स्थगित गर्नुपर्ने परिस्थितिबारे स्पष्ट पारेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा स्थागित गर्न भन्दै पठाएको निर्देशनात्मक पत्रका कारण केन्द्रीय वार्षिक साधारणसभा स्थगित गरिएको उनले स्पष्ट पारे ।

प्रशासन कार्यालयको पत्रबमोजिम २४ घन्टाभित्र साधारणसभा स्थगित गरी त्यसको जवाफ पनि पठाइसकिएको उनले जानकारी दिए । ‘सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको नेरेसोको सर्वोच्च निकायका रूपमा रहेको महाधिवेशन र वार्षिक साधारणसभा शृंखलाबद्ध रूपले स्थगन गरिएको छ,’ रेडक्रसद्वरा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 यसअघि देशभरका रेडक्रसकर्मी धरान आइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनात्मक पत्रकै कारण २३ देखि २५ वैशाखसम्मका लागि सुनसरीमा तय भएको ४८औँ महाधिवेशन स्थगित गर्नुपरेको थापाले पत्रकार भेटघाटमा गुनासो गरे । 

सरकारले निर्वाचित समितिलाई भंग गरी तदर्थ समिति बनाएपछि निर्वाचित रेडक्रसका पदाधिकारीले सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वाेच्चले निर्वाचित समितिलाई नै पूर्ववत अवस्थामा काम गर्न दिनु भन्दै आदेश जारी गरेको थापले बताए । 

सोहीबमोजिम आफूहरूले नियमित कामकारबाहीअन्तर्गत केन्द्रीय वार्षिक साधारणसभा बोलाएर रेडक्रसको वार्षिक बजेट तथा कार्यक्रम, रणनीति र रेडक्रस कानुनका विषयमा छलफल गर्ने योजना भए पनि अदालतमा अन्तिम फैसला भइनसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा रोक्न पुनः निर्देशनात्मक पत्र पठाएकोप्रति रेडक्रसले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।