मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०९:०५:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

विद्यार्थीलाई १२ कक्षापछि एक वर्ष नपढाऔँ

Read Time : > 6 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०९:०५:००

सन् १९७३ देखि हार्बड विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई भर्नापछि भन्ने गरेको छ, ‘हामीले तपाईंलाई लियौँ, के तपाईं घुम्न, स्वयंसेवा गर्न, पढाइको उद्देश्य खोज्न, काम सिक्न केही समय बिदा ‘ग्याप इयर’ अर्थात् ‘विश्राम वर्ष’ लिन चाहनुहुन्छ ?

‘हार्वर्डकै अध्ययनअनुसार यसरी विश्राम वर्षबाट फर्केर आएका विद्यार्थीले पढाइमा झन् राम्रो गर्ने, अध्ययनलाई झन् गम्भीरताका साथ लिने गरेको पाइएको थियो । त्यही अध्ययनमा यस्ता विद्यार्थी जीवनमा पनि तुलनात्मक रूपमा सन्तुष्ट रहने गरेको पाइयो ।

मिडलवरी कलेजले गरेको अर्को एउटा अध्ययनमा विश्राम वर्ष लिएर कलेज पढ्ने विद्यार्थीको औसत प्राप्तांक त्यसो नगर्नेको भन्दा राम्रो हुने गरेको पाइएको थियो । अरू अध्ययनले पनि विश्राम वर्ष लिएका विद्यार्थी आफ्नो वृत्तिमा बढी सन्तुष्ट रहेको पाइएको थियो ।

अर्थपूर्ण ‘विश्राम वर्ष’ किन ?
संसारले के माग्दै छ छोडिदिनुस्, काम गर्नुहोस्, जसले तपाईंलाई जिउँदो बनाउँछ । किनकि, संसारले जिउँदो जागरुक मान्छे खोजेको छ । हामी आफ्नो रुचि के हो थाहा नपाई कलेज पढ्छौँ, अनि जीवनमा के गर्ने भन्ने थाहा नभई कलेज छाड्छौँ । ‘म केका लागि राम्रो छु’ भन्ने प्रश्नको उत्तर नपाईकनै पढाइ सकिन्छ ।

सर्वेक्षण गर्ने एक अमेरिकी कम्पनी ‘ग्यालप’ले विभिन्न देशमा गरेको सर्वेक्षणअनुसार करिब ७० प्रतिशत मान्छे आफ्नो कामबाट खुसी छैनन् । रुचि अनि कामको तालमेल नमिलेको ठान्छन् ती । यसको कारण पनि विद्यार्थी जीवनमा आफूले आफैँलाई बुझ्न नसक्नु हो । 

यही अवस्थालाई चिर्नका निम्ति स्कुल अनि कलेज बीचको समयमा विश्राम लिन जरुरी छ । यस्तो विश्रामको समय सिक्ने, घुम्ने, आफ्ना विभिन्न रुचि पत्ता लगाउने तथा अनुभव बटुल्ने अवसर हो । आफ्नै देशभित्रका अलिखित इतिहासको अध्ययन र आफ्नो कुल, परम्परा, कला–संस्कृतिको अध्ययनका लागि पनि यस्ता ‘विश्राम समय’ महत्व पूर्ण हुन सक्छन् ।

विश्राम वर्षले युवालाई आफ्नो दृष्टिकोणको क्षितिजको दायरा फराकिलो बनाउन मद्दत गर्छ । विद्यार्थीमा अनुभव भर्ने अनि जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ । समाजमा घुमेर र बुझेर पाएको ऊर्जा, क्षमता अनि साहस नै त काम लाग्ने हो । यही यात्राको दौरान भेटिएका मान्छे, सिकाइ, अनुभव अनि दृष्टिकोणले नै विद्यार्थीको आगामी पथ निर्धारण गर्छ ।

यही अनुभवले आफ्नो रुचिअनुरूपको विषय र कलेज छनोट अनि जीवनमा महत्व पूर्ण निर्णय गर्न सघाउँछ । शिक्षाले विद्यार्थीको जीवनको उद्देश्य पूर्ति गर्ने हो, न कि तिनका उद्देश्यमा भाँजो हाल्ने । विश्राम वर्षले शिक्षालाई अर्थपूर्ण बनाउँछ ।

विश्राम वर्ष सिकाइकै पाटो हो । यसले विद्यार्थीलाई दिशा दिन मद्दत गर्छ । अनुभव दिन्छ, अनुभवको लम्बाइ, चौडाइ र गहिराइ बढाउँछ, आफ्नो वरिपरिको संसार चिनाउँछ । यो आत्मसमीक्षाका लागि निकालिएको समय पनि हो ।

विश्राम वर्षले विद्यार्थीलाई वास्तविक जीवनका लागि तयार गर्छ । लगातारको स्कुले जीवनको दबाबबाट मुक्ति पनि हो । भिन्न समाजको संस्कृति महसुस गर्न पाउने अवसर हो । आफूलाई चिन्ने, रुचि महसुस गर्ने अनि ती रुचिलाई व्यावसायिक पाटोसँग जोड्ने बाटो पनि हो । आफूले लिन लागेको विधाको बारेमा जान्ने अनि केही समय काम गर्ने मौका हो । सोही दौरान आएका समस्यासँग जुध्न पाउनु उत्तम अवसर हो । पदयात्रा गर्ने वा -याफ्टिङ गर्न आँट्ने उमेर पनि यही हो । साथीहरू बनाउने समय पनि त यही हो ।

अहिले संसारका प्रसिद्ध नौ सय ८५ कलेज अनि विश्वविद्यालयले भर्नापछि योजनाबद्ध रूपमा विश्राम वर्षलाई प्रोत्साहन गर्ने गरेको पाइएको छ । हार्वर्ड, प्रिन्स्टन, नर्थ क्यारोलाइना विश्वविद्यालय, कोलोराडो कलेजलगायतले यसलाई बढावा दिएका छन् । यसरी छुट्टी लिएर आएका विद्यार्थी कलेज फर्कंदा अध्ययनमा अझ बढी केन्द्रित तथा परिपक्व र लगावका साथ आउने गरेको पाइएको छ । सिड्नी विश्वविद्यालयका अध्येता एन्ड्रयु जे. मार्टिनले गरेको एउटा अध्ययनले विश्राम वर्षको लाभ लिएका विद्यार्थी योजना निर्माण, कामको व्यवस्थापन तथा निरन्तरतामा अब्बल पाइएका थिए । 

मेरो प्रस्ताव
मेरो एउटा प्रस्ताव छ । १२ कक्षाको परीक्षा दिएपछि विद्यार्थीलाई एक वर्ष औपचारिक शिक्षा बन्द गर्नुपर्छ । त्यो समयमा विद्यार्थीले घुम्ने, आफू पढ्न चाहेको विधामा इन्टर्नसिप गर्ने, सामाजिक कार्यमा स्वयंसेवा गर्ने, देश–विदेशमा रहेका विविधताको बारेमा अध्ययन गर्नेजस्ता कार्य गर्न, गराउन जरुरी छ । हामीले कि पढेर सिक्छौँ कि परेर । म यहा“ परेर सिक्ने सिकाइबारे चर्चा गर्दै छु । १२ कक्षासम्म पढेर जति सिक्यौँ, त्योभन्दा बढी यो एक वर्षको सिकाइ फलदायी हुन्छ भन्ने मेरो तर्क हो ।

१२ कक्षा सकिएपछि हाम्रा विद्यार्थीलाई दुईवटा ठाउँ, एउटा देशभित्रको अनि अर्को देशबाहिर घुम्न जान छान्न पाउने नियम बनाऊँ । तिनले उक्त स्थानको भूगोल, समाज, राजनीति, अर्थतन्त्र, कला, संस्कृतिबारे अध्ययन गर्नेछन् । अध्ययनको रिपोर्ट पेस गरेसँगै शिक्षा मन्त्रालयअन्तर्गत खडा गरिएको बोर्डसँग समन्वय गर्दै टोली मिलाएर भ्रमण गर्नेछन् । केही महिनाको देश अनि विदेश भ्रमणमा विद्यार्थीले जति सिक्छन्, त्यसले विद्यार्थी निकै खारिनेछन् ।

हार्बड विश्वविद्यालयको एक अध्ययनअनुसार विश्राम वर्षबाट फर्केर आएका विद्यार्थीले शैक्षिक रूपमा झन् राम्रो गर्ने, आफ्नो अध्ययनलाई गम्भीरताका साथ लिने गरेको पाइएको थियो, त्यही अध्ययनमा यस्ता विद्यार्थी जीवनप्रति तुलनात्मक रूपमा बढी सन्तुष्ट रहको पाइयो

वास्तविक जीवनसँगको यो ठोक्काइले धेरै सिक्न पाउँछन् । अल्बर्ट आइन्सटाइनले सिद्धान्त निकालेको घरको भ्रमणले हाम्रा विद्यार्थीमा भौतिकशास्त्रप्रतिको रुचि जगाउन मद्दत गर्नेछ । कलाकारिता सिक्न चाहनेका लागि हलिउड र बलिउडको यात्रा जीवनलाई रूपान्तरण गर्ने अवसर ठहरिन सक्छ । हाम्रा डाँडा, पाखा, पहरा, तराई, मधेसका गाउँ, सहरका अनगिन्ती समस्या र अभावको अनुभवबाट समाधानरूपी नयाँ आविष्कार र नयाँ सिद्धान्तले जन्म लिन सक्छ । भ्रमणले तिनको सोच अनि सिकाइको दायरा फराकिलो अवश्य बनाउनेछ ।

विद्यार्थीले आफू जान चाहेको विधामा केही समय स्वयंसेवा वा अनुभव हासिल गर्न पनि सक्छन् । कोही बैंकर बन्न चाहनेका लागि बैंकका प्रक्रिया बुझ्नु फलदायी हुन सक्छ । कोही डाक्टर पढ्न चाहन्छ भने उसले हस्पिटलमा गएर केही महिना स्वयंसेवा गर्न सक्छ । स्वयंसेवासँगै उसले आफू डाक्टर बन्नुको कारण भेटाउन सक्छ वा यो बाटो नै आफ्नो नरहेको स्विकारेर अन्य विषय रोज्न सक्छ ।

जीवनभर पछुताउनुको साटो सुरुमै आफ्नो गन्तव्यबारे बुझ्नु उपयुक्त हुनेछ । यो एक वर्षमा विद्यार्थीले आफ्नो रुचिलाई माझ्ने अवसरसमेत पाउ“छन् । बन्जी जम्प गर्ने, भिडियोग्राफी सिक्ने वा कुनै उपन्यास पढ्न वा लेख्न सक्नेछन् । 

तपाईं ती सबै काम गर्न सक्नुहुन्छ, जो तपाईंको पाठ्यक्रममा राखिएका छैनन् । विद्यार्थीले संसारका सुख–दुःख सबै बुझ्नुपर्छ । मिहिनेतपछिको आनन्द बुझ्नुपर्छ । यी घुमाइ, गराइ अनि भोगाइले त्यस्ता अनुभव सिकाउँछन् । साँचो शिक्षा त यस्तै भोगाइ होइनन् र ? व्यक्ति अनि व्यक्तित्व विकास शैक्षिक विकासले मात्र सम्भव छैन । यो कुरा हाम्रो शिक्षा प्रणालीले बुझ्न जरुरी छ ।

हामी राम्रो जिपिए ल्याउने सबैलाई राम्रो भनिरहेका हुन्छाैँ, तर हामी के हौँ वास्तविक जीवनसँग ठोक्किएपछि मात्र थाहा हुन्छ । यसरी प्राप्त हुने सिकाइलाई केही वर्ष पुनः औपचारिक शिक्षाले माझ्न सकियो भने शिक्षा झन् अर्थपूर्ण हुन सक्छ । त्यो मौका विश्राम वर्षले जुराउन सक्छ । 

प्रश्न अनि चुनौती
देश–विदेश भ्रमणका लागि चाहिने अर्थ व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि त्यति ठूलो मुद्दा बनाइनुहुँदैन । विद्यार्थीको भ्रमणले देशलाई फाइदा हुन्छ । त्यसैले, यसका लागि राष्ट्रले नै लगानी गर्नुपर्छ । शिक्षा मन्त्रालयले भ्रमण गरिने देशको सहयोग लिन सक्छ । असारमा जथाभावी बजेट खर्चने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत झारपात उखेल्ने कार्यक्रमलाई नियन्त्रण गरेर विद्यार्थीको वृत्रिविकासमा लगानी गर्न सक्छौँ ।

बालुवाटार अनि सिंहदरबारको खर्च कटौती गर्न सक्छौँ । मन्त्रीले किन नौवटा गाडी चढ्नुप-यो ? पेट्रोलमा एक रुपैयाँ अतिरिक्त कर बढाएरै भए पनि यो कार्यका निम्ति पैसा संकलन गर्न जरुरी छ । रेमिट्यान्सको थोरै प्रतिशत जम्मा गरेर पनि सुरुवाती खर्च जुटाउन सक्छौँ । समस्या पैसाको होइन, इच्छाशक्ति र सोचको हो ।

एक कक्षामा विद्यार्थी भर्ना भएदेखि केही रुपैयाँ अभिभावकले, केही स्कुलले अनि केही सरकारले खातामा जम्मा गरेर ‘विद्यार्थी कोष’ खडा गर्न सकिन्छ । १२ वर्ष जम्मा गरेको रकमले नै विद्यार्थीलाई विश्राम वर्षका लागि अनि उच्च शिक्षाका लागि सहयोग गर्नेछ । हामीलाई लाग्दो हो, यति ठूला–ठूला काम बाँकी छन्, कहाँ विश्राम वर्षलाई पैसा खर्च गर्ने ?

हाम्रो देश विकास नहुनुको पछाडि हाम्रै शिक्षाको अपूर्णता जिम्मेवार छ । हाम्रै विद्यार्थीको मनोबल अनि क्षमताको कमी छ । तसर्थ, दक्ष अनि उत्साहित जनशक्तिका निम्ति यो सबैभन्दा ठूलो लगानी ठहरिन सक्नेछ ।

विद्यार्थीको एक वर्ष खेर जान्छ भन्ने प्रश्न पनि उठ्न सक्छ । चार वर्षको स्नातक अब पाँच वर्ष लाग्ने भयो भन्ने हो । अहिलेसम्म शिक्षाका बारेमा हाम्रो मानसिकता एसइई गर्ने, प्लस टु पास गर्ने, कलेज सक्ने अनि जागिर खाने भन्ने नै छ । अहिले हामीले सीधा बाटो भएझैँ सोच्दै छौँ । तर, जीवनको बाटो सीधा होइन, निकै घुम्तीसहित आउँछ । हाम्रो अहिलेको शिक्षाले त्यो कुरा बुझाउन सकेको छैन ।

विश्राम वर्षले त्यो कुरा विद्यार्थीलाई राम्ररी बुझाउनेछ । तसर्थ, एक वर्ष खेर जाने होइन कि आफ्ना लागि लगानी हो भन्ने बुझ्न जरुरी छ । वास्तविक जीवनसँग नठोक्किएको हालको शिक्षाले विद्यार्थीको मानसिक स्वास्थ्यमा समस्या ल्याउन थालेको छ । ऊर्जा, उमंगमा ह्रास ल्याउन थालेको छ । हाम्रो शिक्षा अनि विद्यालयले यी युवामा आत्मविश्वास, आत्मसचेतना, अनुकूलता बढाउने काम कहिले गरेको छ ? यो एक वर्षले विद्यार्थीलाई पाठमा नरहेको अनि परीक्षामा नसोधिएको यी विषय सिकाउनेछ ।

नर्वेमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीले विश्वविद्यालय भर्ना हुनुअघि विश्राम वर्ष लिन्छन् । अस्ट्रेलिया अनि न्युजिल्यान्डमा युवा अवस्थामा समुद्रपार घुम्न जाने प्रचलन छ, बेल्जियम, डेनमार्क, इजरायल, जापान, दक्षिण अफ्रिकालगायत मुलुकमा यो प्रावधान शैक्षिक कार्यक्रमका रूपमै प्रचलनमा छ

हामीलाई लाग्न सक्छ, यसरी एक वर्ष नपढ्दा विद्यार्थीले काम गर्न थालेर बाटो नै मोडिने पो हो कि ? अनि, फेरि नपढ्ने पो हुन् कि ? यहाँ केही नगरेर विद्यार्थीलाई एक वर्ष त्यत्तिकै छोड्ने तर्क गरिएको होइन । विद्यार्थीको एक वर्षलाई प्रभावकारी बनाउने कुरा गर्दै छौँ । अनुभव हासिल गर्लान्, तर काम नै गराउने होइन । तर, काम नै गरेछन् भने पनि उसले निकै कम पैसा कमाउँछन् । किनकि उनीहरूसँग पूर्ण सीप अनि दक्षता हुँदैन ।

बरु काम गर्दा भोगेका  अप्ठ्याराले थप पढाइ किन आवश्यक रहेछ भन्ने ज्ञान उनीहरूलाई प्राप्त हुन्छ । एक वर्ष नपढ्दा सबै बिर्सिन्छन्, ‘मोमेन्टम’ नै खुस्किन्छ भन्ने तर्क पनि आउला । हालको एकोहोरो शिक्षाको लय टुट्नै जरुरी छ । अहिले शिक्षा उद्देश्यमुखी छैन ।

यो एक वर्षले विद्यार्थीलाई उद्देश्य खोज्न मद्दत पु-याउनेछ । अनि, विद्यार्थी एक वर्षपछि पर्छन् भन्ने तर्क गर्नेले यो समय आफैँमा लगानी हो भन्ने बुझ्नुपर्छ । कलेज सकिएपछि हामी यसै पनि एक–दुई वर्ष के गर्ने भनेर भाैँतारिने गरेका छौँ । त्यो एक वर्षले विद्यार्थीको जीवन रूपान्तरण गर्न सक्छ भन्ने बुझ्नुपर्छ । आफूले आफैँलाई खोज्ने वर्ष हो यो ।

कैयौँ अभिभावकलाई यो विषय सुन्नासाथ ज्वरो आउन सक्छ । औसत अभिभावकलाई यो कुरा बुझाउन सजिलो छैन । तर, यसको महत्व अभिभावकले पनि बुझ्न जरुरी छ । व्यवहारमूलक विज्ञानका प्राध्यापक डेभिन जी. पोप तथा बब क्लागेटका अध्ययनले पनि अर्थपूर्ण विश्राम वर्ष लिँदा अनि त्यसपछि कलेज फर्कंदा ग्रेड बढ्ने गरेको देखिएको थियो ।

सोच्नुस् त, तपाईं २२ वर्षे भर्खरै पढाइ सकेको अनि त्यसवेलासम्म पढाइ मात्र गरेको युवालाई जागिर दिनुहुन्छ कि चुनौतीको सामना गरिसकेको अनि आफ्नो जीवनको उद्देश्य बुझेको २३ वर्षे युवालाई ? उत्प्रेरणा, नेतृत्व, अनुभवको पाटोमा विश्राम वर्षले ठूलो महत्व  राख्छ ।

निष्कर्ष
नर्वेमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीले विश्वविद्यालय भर्ना हुनुअघि विश्राम वर्ष लिन्छन् । अस्ट्रेलिया अनि न्युजिल्यान्डमा युवा अवस्थामा समुद्रपार घुम्न जाने प्रचलन छ । बेल्जियम, डेनमार्क, घाना, इजरायल, जापान, नाइजेरिया, दक्षिण अफ्रिकालगायत मुलुकमा यो प्रावधान शैक्षिक कार्यक्रमका रूपमै चल्दै आएको छ । हाम्रा विद्यार्थीले पनि इटालीको गल्लीमा साइकल किन नचलाउने ?

आफ्नै देशका निमुखाका लागि घर किन नबनाउने ? साथीसँग अफ्रिकाको जंगल किन नघुम्ने ? अहिले शिक्षा नीतिबारे छलफल हुँदै गर्दा हामीले यो विषयमा पनि गहन छलफल गर्न जरुरी छ । विकास भनेको बाटो बनाउनु मात्र होइन, आफ्नो जीवनको बाटो पहिल्याउनु पनि हो । मेरा एकजना मित्रले भनेको सम्झन्छु, ‘हामी बुबा, मलाई गितार किनिदिनुस् भन्छौँ’ तर ‘बुबा, तपाईं मलाई गितार किनिदिनुस्, म सुपरस्टार बनेर देखाउँछु’ भन्ने साहस कति राख्छौँ भन्ने हो ।

विश्राम वर्षले यस्तो साहस, स्पष्टता अनि आत्मविश्वास दिलाउन सक्छ ।केही दिनअघि म वसन्तपुरनजिकै साथीलाई कुर्दै थिएँ । दुई विदेशी युवा त्यहाँ घुम्दै थिए । मलाई देखेर ‘फ्रिक स्ट्रिट’ कहाँ हो भनेर सोधे । मैले बाटो पहिल्याउन सहयोग गर्दै अन्य कुराकानी गर्न सुरु गरेँ । सोध्दै, बुझ्दै जाँदा उनीहरू नेदरल्यान्डमा १० कक्षा सकेर नेपाल घुम्न आएका रहेछन् ।

उनीहरूकहाँ १० कक्षा सकेर घुम्न जाने चलन रहेछ । उनीहरू उडेको पक्षीजस्तै रमाइरहेका थिए । घुम्दै थिए, सिक्दै थिए, जिउँदै थिए । उनीहरू गएपछि पनि लामो समय सोचमग्न भएछु । कुनै दिन हाम्रा विद्यार्थी पनि एम्स्टर्डमका गल्लीहरूमा घुम्दै गरेको दृश्य कल्पन थालेछु ।