मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पामेला ड्रकरम्यान काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:४१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

के तपाईं अंग्रेजी बोल्नुहुन्छ ?

Read Time : > 3 मिनेट
पामेला ड्रकरम्यान काठमाडाैं
२०७६ श्रावण २८ मंगलबार ०८:४१:००

यो वर्षको पर्यटन सिजनमा पेरिस आएका लाखौँ अमेरिकी आश्चर्यमा छन् । पेरिसका वेटर, बैंकर, ट्याक्सी ड्राइभरलगायत जोसँग उनीहरूको भेट हुन्छ, लगभग जो पनि अंग्रेजीमा बोल्न सक्ने थिए । फ्रान्समा मात्र होइन । युरोपमा अहिले अंग्रेजी बोल्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । संख्यामा मात्र होइन, तिनको भाषाको स्तरमा पनि निकै परिष्कार देखिन्छ ।

सन् २०११ देखि विभिन्न मुलुकका समग्र अंग्रेजीको स्तर मापन सुरु गरियो । यसप्रकारको मापनमा अंग्रेजीमा उच्चस्तरमा रहेका २७ राष्ट्रमध्ये २२ युरोपमा छन् । इतिहासदेखि फ्रेन्चभाषीले अंग्रेजीलाई आफ्नो प्रतिस्पर्धीको रूपमा हेर्ने भएकाले उनीहरूमाझ त्यति प्रयोगमा हुन्नथ्यो । त्यसकै प्रभावका कारण फ्रान्सेली अझै पनि अंग्रेजीमा कमजोर नै देखिन्छन्, तर उनीहरूमा सुधारको चाहना देखिन्छ । 

अंग्रेजी दोस्रो विश्वयुद्धदेखि नै युरोपको सम्पर्क भाषा रहँदै आएको छ । तर, पछिल्लो समय विशेषतः स्टकहोमदेखि स्लोभेनियासम्मका युवा मातृभाषीकै हाराहारीमा शुद्ध अंग्रेजी बोल्न थालेका छन् । यसमा सुधार हुने क्रम जारी छ । युरोपका ८० प्रतिशत प्राथमिक विद्यालयका विद्यार्थी अंग्रेजी पढ्छन् । सन् २००४ मा यो दर ६० प्रतिशत थियो । माध्यामिक तहका ९४ प्रतिशत विद्यार्थी विदेशी भाषा छनोट गर्दा अंग्रेजी नै छान्छन् ।

युरोपियनले धेरै पहिलेदेखि अंग्रेजी भाषाका टिभी कार्यक्रम र फिल्म हेर्दै आएका छन् । तर, विगतमा जर्मनी र फ्रान्समा तिनलाई उल्था गरेर हेरिन्थ्यो । अब तिनले नेटफ्लिक्सका फिल्म अंग्रेजी भाषाका सबटाइटलमा हेर्न थालेका छन् । यो वर्षको सुरुमा नेदरल्यान्डले पूर्ण रूपमा अंग्रेजी भाषा प्रयोग हुने व्यावसायिक अदालत सुरु गरायो । अब मैले काम गर्ने गरेको पेरिसको कार्यालय क्षेत्रमा विभिन्न कोलम्बियन, जर्मन, इटालियन र फ्रेन्च छिमेकी शुद्ध अंग्रेजी बोल्छन् । यस्तै दृश्य कोपनहेगन, बर्लिन र धेरै अन्य सहरमा देखिन्छ । 

यो सबै अंग्रेजी मातृभाषीका लागि शुभ समाचारजस्तो सुनिन्छ, तर यो खतराको संकेत हो । डच किशोर–किशोरीदेखि रोमानियाका नागरिकसम्मले अंग्र्रेजीमा निपुणता हासिल गर्दा अंग्रेजी मातृभाषी बेलायती र अमेरिकीलाई के फरक पर्छ ? अमेरिकाका विश्वविद्यालयका लागि यो खतरा हो । युरोपका विश्वविद्यालयले बढ्दो संख्यामा स्नातक र स्नातकोत्तर डिग्री पूर्णतः अंग्रेजी भाषामा प्रदान गर्न थालेका छन् ।

सन् २००९ मा युरोपमा ५५ वटा स्नातक कार्यक्रम अंग्रेजीमा हुन्थे । तर, सन् २०१७ सम्म आइपुग्दा तिनको संख्या बढेर २९ सय पुगेको थियो । ती विश्वविद्यालयको अध्ययन शुल्क भने अमेरिकी विश्वविद्यालयका तुलनामा धेरै कम पर्छ । विश्वविद्यालयको विश्वव्यापी वर्गीकरणले पनि यी विश्वविद्यालयको तुलनात्मक श्रेणी सबैका सामु राखिदिएको छ ।

जस्तो, टाइम हाइअर एजुकेसनमा बेल्जियमको केयू लुभेन विश्वविद्यालय विश्वभरका उच्च शिक्षा संस्थानमध्ये ४८औँ स्थानमा छ । त्यहाँ युरोपबाहिरका विद्यार्थीले व्यवसायसम्बन्धी स्नातकका लागि वर्षको एक हजार सात सय ५० युरो तिरे पुग्छ । त्यस्तै वर्गीकरणमा ६२औँ स्थानमा रहेको युनिभर्सिटी अफ एम्स्टर्डम राजनीति शास्त्रको स्नातकका लागि वर्षमा नौ हजार तीन सय युरो तिर्छन् । अमेरिका र बेलायतका अधिकांश कुलीन विश्वविद्यालय विश्वव्यापी वर्गीकरणमा शीर्ष स्थानमा रहे पनि तिनको लागत अत्यधिक उच्च छ । 

जब विश्वले उत्कृष्ट अंग्रेजी बोल्न थाल्छ, अंग्रेजी भाषा बोल्ने समाजको जटिलता बुझ्न र तिनलाई प्रभावित बनाउन सजिलो हुन्छ । सन् २०१६ को निर्वाचनअघि, रुसी सरकारले यही गरेको थियो । तिनले झन्डै अमेरिकीको जस्तो अंग्रेजीमा पकड भएका युवा रुसीलाई प्रयोग गरेर सामाजिक सञ्जाल प्रभावित बनाउने अभियान सञ्चालन गरेका थिए । तर, असल विचार पनि तीव्र रूपमा प्रसार हुन्छ ।

विगतदेखि, वैज्ञानिक अनुसन्धान मुख्यतः अंग्रेजीमा प्रकाशन हुँदै आएका थिए । अहिले आएर सामाजिक आन्दोलनको भाषा पनि अंग्रेजी भएको छ । यही वसन्तमा अंग्रेजी भाषा बोल्ने १६ वर्षीया ग्रेटा थर्नवर्गले जलवायु परिवर्तन रोक्न तत्काल कदम चाल्न विश्वभरका बालबालिकालाई आन्दोलन गर्न प्रेरित गरिन् । ग्रेटाको आह्वानलाई अनुशरण गरेर लिस्वनदेखि इस्तानबुलसम्म सडकमा उत्रिएका बालबालिकाले बोकेका प्लेकार्ड अंगे्रजीमै थिए । मूल अंग्रेजी भाषा अब मानक नरहन सक्छ ।

युरोपियनले हिजोआज राम्रो अंग्रेजी बोल्न थालेका छन्, अंग्रेजी मूलभाषीका लागि यो राम्रो समाचारजस्तो सुनिएला, तर यो खतराको संकेत हो 

अधिकांश मानिस अंग्रेजी गैर–मातृभाषीसँग सञ्चार गर्नका लागि पनि अंग्रेजी सिक्न थालेका छन् । तिनको अधिकांश शिक्षक पनि मातृभाषी हुँदैनन् । त्यसैले तिनले मानक अंग्रेजीका विशेषता छुटाउँछन् । भाषाशास्त्री जेनिफर जेन्किन्सले युरोपेली संघको सम्मेलनमा एउटा रमाइलो किस्सा सुनाइन् । त्यसमा अंग्रेजीका गैर–मातृभाषी एक–अर्कासँग राम्रोसँग कुरा गरिरहेका थिए । तर, जब तिनले ब्रिटिस वा आइरिसको बोली सुन्नुपथ्र्याे ती उल्था गर्ने हेडफोन लगाउँथे ।  

अंग्रेजी परिवर्तन हुँदै छ । ‘विश्व अंग्रजी’बारे हालै सम्पन्न आइरिस सम्मेलनमा ‘नयाँ अंग्रेजीको रूपमा इजिप्टेली अंग्रेजी’ र ‘कजाखस्तानको भाषिक परिदृष्यमा अंग्रेजी’जस्ता सत्र थिए । युनिभर्सिटी अफ ज्युरिचकी भाषाशास्त्री मेरियन हन्डका अनुसार अंग्रेजीका गैर–मातृभाषीले धेरै प्रयोग गर्ने, तर मानक अंग्रेजीमा अशुद्ध मानिने पदावली बिस्तारै अंग्रेजीका मूलभाषीले प्रयोग गर्न सक्नेछन् । मूल अंग्रेजीभाषीले प्रतिस्पर्धात्मक अवसर गुमाउने खतरा पनि उत्तिकै छ ।

अझै पनि केही रोजगारीमा पूर्ण रूपमा शुद्ध अंग्रेजीको आवश्यकता हुन्छ । तर, कर्पोरेट विश्वमा अंग्रेजी भाषा राम्रै छ भने पनि चल्न थालेको छ । यसले प्रतिस्पर्धाको समयमा अंग्रेजी मूलभाषीले पाइरहेको फाइदालाई अन्त्य गर्नेछ । थप महत्वपूर्ण कुरा, सर्वत्र अंग्रेजी बोलिने अवस्था भएपछि अंग्रेजी भाषा बोल्नेले अन्य भाषा जान्नुपर्ने आवश्यकता नै महसुस गर्न छाडेका छन् ।

हालै म एम्स्टर्डममा भएको एउटा रात्रिभोजमा गएको थिएँ, जहाँ सबैले राम्रो अंग्रेजी बोलिरहेका थिए । तर, जब म उठेर ढोकासम्म पनि पुगेको थिइनँ, ती डच भाषामा बोल्न थाले । यदि अंग्रेजीभाषीले अंग्रेजीबाहेक अरू भाषा जान्ने आवश्यकता महसुस गरेनौँ भने बाँकी विश्वले हामीबारे के भनिरहेका छन्, थाहा पाउने छैनौँ ।

(पामेला ड्रकरम्यान लेखक तथा स्तम्भकार हुन्)

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य