१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०७:१०:००
Read Time : > 2 मिनेट
नयाँCity

लेकसाइड रातभरि खुल्नुपर्छ : गणेशबहादुर थापा

Read Time : > 2 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०७:१०:००

रात छिप्पिँदै जाँदा आठ बजेतिर पोखराको लेकसाइडमा चहल–पहल बढ्न थाल्छ । तर, त्यो तीन घन्टा पनि टिक्दैन । कारण, राति ११ बज्दा नबज्दै होटेल र रेस्टुराँ बन्द भइसक्छन् । अरू व्यवसाय पनि खुला रहने कुरै भएन । रात्रि जीवनको मजा लिन आएका पर्यटकले ११ नबज्दै सुत्नुपर्छ । जबकि, पर्यटक रातभरि रमाउन आएका हुन्छन्, सुत्न होइन ।

भारतका लखनउ, पटनालगायत सहरबाट दिउँसो हिँडेका पाहुना राति ११ बजेतिर पोखरा आइपुग्छन् । कतिपय भारतीय पाहुनाले लखनउ, पटनाबाटै आफू आउँदै गरेको जानकारी फोनमार्फत दिन्छन् । काठमाडौं, बुटवल, चितवन, वीरगन्ज, विराटनगरलगायत ठाउँबाट शुक्रबार कार्यालय छुट्टी भएपछि पोखरातर्फ हुइँकिने पाहुना पनि धेरै हुन्छन् । उनीहरू पनि पोखरा आइपुग्दा १०/११ बजेको हुन्छ ।

खासगरी, शुक्रबार र शनिबार पोखरा भरिभराउ हुन्छ । स्वदेशी पाहुना शुक्रबार पोखरा आउने र रात्रिजीवनमा रमाउने अनि शनिबार घुमफिर गरेर आइतबार अफिस भेट्ने गरी फर्किन चाहन्छन् । तर, शुक्रबार राति यहाँ आइपुग्ने पाहुनालाई खाना खान पनि मुस्किल हुन्छ ।अन्नपूर्ण सर्किटमा ट्रेकिङ जाने प्रस्थान र अन्तिम बिन्दु पोखरा हो । ट्रेकिङ गएका पर्यटक कति बजे फर्किन्छन्, पत्तो हुँदैन । राति ११÷१२ बजे ट्रेकिङबाट फर्केका पर्यटक खानपिन गरेर थकान मेट्न चाहन्छन् । तर, यहाँ पानी पिउने ठाउँ पनि भेटिँदैन, लेकसाइड निदाइसकेको हुन्छ ।

शुक्रबार र शनिबार परिवार लिएर रेस्टुराँमा खान जाने संस्कृति बढ्दो छ । पोखराकै बासिन्दाले पनि बिदाको दिन परिवारसँग रेस्टुराँमा डिनर गर्न चाहन्छन् । उनीहरू कार्यालय बिदा भएपछि परिवार लिएर सात÷आठ बजेतिर लेकसाइड आउँछन्, क्लब जान चाहन्छन् । तर, आठ बजे रेस्टुराँ पुगेपछि खानपिन गर्दा १०/११ बजिसक्छ । घर फर्किनै हतार हुन्छ ।

पोखरा आउने मान्छे फेवातालको किनार र लेकसाइडमा जाग्राम बस्न खोज्छन् । पोखरा आउने पर्यटक राति रेस्टुराँमा मीठा परिकार खान र क्लब जान खोज्छन् । खाना खाइरहेका पाहुनालाई छिटो गर्नुस्, रेस्टुराँ बन्द गर्ने वेला भयो भनेर अत्याउनुपर्छ । रमाइलो गर्न आएका पाहुनाले छिट्टै होटेलमा पुगेर सुत्नुपर्दा कस्तो अनुभव गर्लान् ? रमाइलो गर्न पाइँदैन भने किन लेकसाइड आउनु ?

खाना खाइरहेको पाहुनालाई छिटो गर्नोस्, रेस्टुराँ बन्द गर्ने वेला भयो भनेर अत्याउनुपर्छ । रमाइलो गर्न आएका पाहुनाले छिटै होटेलमा पुगेर सुत्नुपर्दा कस्तो अनुभव गर्लान् ? रमाइलो गर्न पाइँदैन भने किन लेकसाइड आउनु ?
 

कुनै पनि व्यवसाय खोल्ने र बन्द गर्ने व्यवस्था अहिलेका कुनै कानुनमा छैन । कानुनले बन्देज नलगाएको र आवश्यकता पनि भएकाले लेकसाइड २४सै घन्टा खुल्नुपर्छ । त्यसबाट पर्यटक संख्या र व्यापार बढ्छ । संसारका अधिकांश पर्यटकीय गन्तव्य रातभर जागा रहन्छन् । त्यसैले, विदेशी पर्यटक पनि रातभरि रमाउन खोज्छन् । लेकसाइडको रात्रि व्यवसायलाई शान्ति सुरक्षासँग जोडिएको छ । तर, शान्ति सुरक्षा भंग हुने गतिविधि भएमा प्रहरीले कारबाही गर्नुपर्छ । लेकसाइड पर्यटकीय क्षेत्र हो । यहाँ मान्छेको चहल–पहल हुन्छ । यस्तै, चहल–पहल हुने काठमाडौंका न्युरोड, असन र इन्द्रचोकमा पनि त होहल्ला हुन्छ नि ।

स्थानीय बासिन्दाको गुनासोका आधारमा प्रशासनले ११ बजेपछि रेस्टुराँ खोल्न नदिएको हो । जबकि, लेकसाइडका व्यवसायीले स्थानीयवासीकै अनुमतिमा व्यवसाय गरेका हुन् । स्थानीय बासिन्दाले व्यवसायीलाई मासिक मोटो रकम बुझाउने सर्तमा आफ्नो घर भाडामा दिएका हुन् । रातभरि व्यवसाय गर्न नदिए व्यवसायीले महँगो घरभाडा कसरी तिर्नु ? यहाँका रेस्टुराँ, क्लब, पब, बार मात्र होइन, सबै व्यवसायी रातभरि जागा रहन तयार छन् । तर, तीन घन्टाको व्यापारले न व्यवसाय चलाउन सकिएको छ, न त पर्यटक रमाएका छन् ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउँदै छ । त्यसका लागि नयाँपन दिन सक्नुपर्छ । लेकसाइडको रात्रिजीवनले भ्रमण वर्ष सफल पार्न सघाउँछ । राति व्यवसाय खोल्दा व्यवसायीले कमाउँछन्, राज्यलाई कर प्राप्त हुन्छ, रोजगारी सिर्जना हुन्छ र पर्यटक पनि रमाउँछन् ।