मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २८ मंगलबार ०६:२०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय

अबोध बालबालिकामाथि राजनीति : दुई प्रमुख दलले विद्यालय फुटाएर विद्यार्थीलाई यता र उता बनाए 

Read Time : > 3 मिनेट
२०७६ श्रावण २८ मंगलबार ०६:२०:००

नेकपा पक्षधर भवनमा ९१ विद्यार्थी अध्यनरत 

  •  प्रारम्भिक वालविकास : ३३  विद्यार्थी
  • कक्षा १ : ७  विद्यार्थी
  • कक्षा २ : ११  विद्यार्थी
  • कक्षा ३ : ६  विद्यार्थी
  • कक्षा ४ : ७  विद्यार्थी
  • कक्षा ५ : ७  विद्यार्थी
  • कक्षा ६ : २  विद्यार्थी
  • कक्षा ७ : १२  विद्यार्थी
  • कक्षा ८ : ६ विद्यार्थी

नेकपापक्षीय विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्द रोकाया आफै भन्छन्, ‘विद्यालय दुई कित्तामा बाँड्नु ठीक होइन, बालबालिकाको पढाइ समस्यामा पार्नुहुन्न’ 

हामी विद्यालय व्यवस्थापन समितिमा आएको दुई साता मात्र भएको छ । यस विषयमा केही जानकारी छैन । विद्यालय अहिले दुई कित्तामा बाँडिएको प्रस्टै छ । तर, एउटै हुन आवश्यक छ । बालबालिकाको पढाइ समस्यामा पार्नुहुन्न । हामी राजनीति गर्ने हो, तर बालबालिकाले पढ्ने हो । तर, अभिभावकको राजनीतिले कलिला बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ, यसमा हामी चिन्तित छौँ । प्रतिस्पर्धी दल पनि समझदारीमा आउनुपर्छ ।

कांग्रेस पक्षधर भवनमा ९५ विद्यार्थी अध्ययनरत 

  • प्रारम्भिक बालविकास : ५  विद्यार्थी
  • कक्षा १ : १४ विद्यार्थी
  • कक्षा २ : १२ विद्यार्थी
  • कक्षा ३ : ८ विद्यार्थी
  • कक्षा ४ : ६ विद्यार्थी
  •  कक्षा ५ : १३  विद्यार्थी
  • कक्षा ६ : ७ विद्यार्थी
  • कक्षा ७ : १५  विद्यार्थी
  • कक्षा ८ : १५विद्यार्थी

कांग्रेसपक्षीय विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलसिंह रोकाया भन्छन्, ‘पहिले नेकपा पक्षधर नै नयाँ भवन बनाउन लागे, अहिले विरोध गर्दै छन्’

पुरानो ठाउँमा नयाँ भवन निर्माणका लागि जग्गा नमिलेपछि गाउँकै सहमतिमा नयाँ ठाउँमा विद्यालय सार्ने सहमतिमा भौतिक संरचना निर्माण गरिएको हो । त्यतिवेला नेकपा पक्षधरले नै विद्यालय सार्ने भनेर स्थानीय व्यक्तिका जग्गा विद्यालयको नाममा गरेर भौतिक संरचना निर्माण गरे । तर, अहिले ती संरचना त्यसै छाडेर पुरानै ठाउँमा विद्यालय हुनुपर्ने अडान लिएका छन् । व्यक्तिगत स्वार्थका कारण बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ । 

अबोध बालबालिकामाथि राजनीति

विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन् । हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका हुन् । 

०७३/७४ मा जिल्ला शिक्षा कार्यालयले रुपाकोट विद्यालयको नयाँ भवनका लागि बजेट दिने भएपछि उपभोक्ता समिति गठन भएको थियो । उपभोक्ता समितिको नेतृत्वमा तत्कालीन एमालेनिकट थिए । समितिले नयाँ भवनका लागि नयाँ ठाउँमा जग्गा पनि व्यवस्थापन गर्‍यो । तर, जिशिकाले भवन निर्माणको १९ लाख बजेट विद्यालय व्यवस्थापन समितिले परिचालन गर्ने गरी विद्यालयको खातामा हालिदियो । व्यवस्थापन समितिको नेतृत्वमा कांग्रेसनिकट व्यक्ति थिए । बजेट उपभोक्ता समितिलाई नआएपछि नेकपा पक्षले आपत्ति जनायो । त्यहीँबाट विवाद सुरु भयो । 

स्थानीय तहको निर्वाचनमा हेमा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा निर्वाचित भयो । विद्यालयका लागि आर्थिक वर्ष ०७५/७६ मा गाउँपालिकाले फेरि भवन निर्माणका लागि २९ लाख विनियोजन ग¥यो । यो रकम भने उपभोक्ता समितिमार्फत परिचालन गर्ने गरी निकासा भयो । उपभोक्ता समितिको अध्यक्ष नेकपानिकट कृष्ण रोकाया थिए । यो बजेटले नेकपा पक्षधरले विद्यालयको पुरानै भवन भएको ठाउँमा नयाँ भवन बनायो । 

दुई पार्टी पक्षधरले दुईतिर नयाँ भवन मात्रै बनाएका छैनन्, एकै ठाउँमा एउटै कक्षामा मिलेर पढ्दै आएका विद्यार्थीलाई नै नेकपा र कांग्रेस कित्तामा छुट्याएर दुईतिर लगेका छन् । शिक्षकहरू दिनहुँ दुवैतर्फ धाएर पढाउन बाध्य छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि दुईतिरका दुईजना नै छन् । २२ भदौ ०७५ देखि विद्यार्थीसहित स्कुल विभाजन गरिएको अभिभावकहरू बताउँछन् । स्थानीय भैरव रोकायाले विद्यालयमा राजनीतिक लडाइँ चलिरहेको बताए । 

रुपाकोट आधारभूत विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र (इसिडी)देखि कक्षा ८ सम्म पढाइ हुन्छ । अहिले नेकपा पक्षधरले पुरानै भवनमा र कांग्रेस पक्षधरले त्यहाँबाट १५ मिनेटको दूरीमा बनाइएको नयाँ भवनमा पठनपाठन गराउँदै आएका छन् । नेकपातर्फको भवनमा ९१ र कांग्रेसतर्फको भवनमा ९५ विद्यार्थी छन् । बाँझागाड गाउँमा एक सय ३० घरधुरी छन् ।

हिमा गाउँपालिका–५ बाँझागाड कांग्रेस जुम्ला जिल्ला सभापति दीपबहादुर शाही र हिमा गाउँपालिका उपप्रमुखसमेत रहेकी नेकपा नेतृत्व हिमाली रोकायाको गाउँ हो । यही गाउँमा रुपाकोट आधारभूत विद्यालय छ । तर, दुई पार्टीको लडाइँले नेताका गाउँकै बालबालिकाको भविष्य अन्योलमा छ । 

बिलखबन्दमा शिक्षक :  कता पढाउन जाने ? 
नेकपा र कांग्रेस पक्षधरले विद्यार्थीसहित स्कुल नै टुक्र्याएर दुई ठाउँमा सञ्चालन गरेपछि रूपाकोट आधारभूत विद्यालयका शिक्षक बिलखबन्दमा परेका छन् । दुवैतिर पढाउन जानुपर्ने बाध्यता शिक्षकलाई छ । न्यून शिक्षक दरबन्दी भएको यो स्कुल एकै ठाउँमा हुँदा एउटै शिक्षकले नौ घन्टीसम्म पठाउनुपथ्र्यो । अहिले दुईतिर बाँडिएपछि १८ घन्टीसम्म पढाउनुपरेको प्रधानाध्यापक शान्तिकुमारी शाहीले बताइन् । 

‘तीन दरबन्दी र ६ निजी स्रोतका शिक्षक छन् । यसै पनि कम शिक्षक, दुईतिर पढाउनुपर्दा झन् समस्या भएको छ । आधा–आधा समय दिएर दुईतिर पढाउनुपरेको छ,’ प्रअ शाहीले भनिन्, ‘यता र उता दौडिँदै कसरी पढाउनु ? यस्तो अवस्थामा बालबालिकाको पढाइ कसरी सुधार्ने ? गुणस्तरीय शिक्षा कसरी दिने ?’ 

५ कक्षा पढ्ने प्रवेश रोकाया भन्छन्– 
एउटै कक्षामा मिलेर पढेका साथी छुट्याइदिए, सँगसँगै पढ्न मन छ

सँगै मिलेर पढेका हामीलाई अहिले फरक–फरक ठाउँमा पुर्‍याइदिएका छन् । मलगायत १३ साथी कांग्रेस पक्षधर भनिएको विद्यालयमा छौँ । अर्कोतिर सातजना साथी छन् । एकै गाउँका, सँगै पढेका साथी छुट्टिनुपर्दा दुःख लाग्छ । हामी सबै एउटै विद्यालयमा पढ्न मन छ । 

गाउँको विद्यालयमा राजनीतिक लडाइँ चलेपछि ६० विद्यार्थी बाहिर गए

गाउँको विद्यालयमा राजनीतिक लडाइँ चलेपछि ६० विद्यार्थी अध्ययनका लागि अर्को गाउँको विद्यालयमा गएका छन् । ६० विद्यार्थीले विद्यालय छाडेको प्रधानाध्यापक शान्तिकुमारी शाहीले बताइन् । घरबाट १०–१५ मिनेटमा आउजाउ गर्न सकिने स्कुल छाडेर उनीहरू तीन घन्टा टाढाको विद्यालय जाने गरेका छन् । गाउँको विद्यालयमा पढ्ने वातावरण सहज नभएपछि बुअगाउँको कालिका माध्यमिक विद्यालय र कोइरेली गाउँको विद्यालयमा पढ्न जानुपर्ने बाध्यता भएको एक विद्यार्थीले बताए ।