मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण २७ सोमबार ११:२९:००
Read Time : > 2 मिनेट
प्रदेश

कार्यान्वयन भएन स्कुल बस निर्देशिका

Read Time : > 2 मिनेट
२०७६ श्रावण २७ सोमबार ११:२९:००

पोखरामा चल्ने अधिकांश स्कुल बस ‘स्कुल बस निर्देशिका–०७४’ विपरीत सञ्चालन भइरहेका छन् । नाम चलेका विद्यालयले समेत निर्देशिकाविपरीत सञ्चालन गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

ट्राफिक कार्यालयका अनुसार निर्देशिका अनुसार बसको बाहिरको रंगसमेत पहेँलो बनाएका छैनन् । यस्तै, बसहरूले क्षमताभन्दा धेरै विद्यार्थी बोक्न पनि छाडेका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले विद्यालयहरूले स्कुल बस निर्देशिका कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका थिए । निर्देशिका कार्यान्वयन नगर्ने १० वटा स्कुल बसलाई अघिल्लो साता कारबाही गरेको उनले जानकारी दिए ।

भाडाका सवारीसाधनले प्रयोग गर्ने नम्बर प्लेट प्रयोग गर्ने स्कुल बस पहिलो चरणको कारबाहीमा परेको उनले बताए । सबै स्कुल बसलाई क्रमशः कानुनको दायरामा ल्याउने ढंगले कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए । ‘निर्देशिका कार्यान्वयन गराउनमा हाम्रो ध्यान केन्द्रित छ, अटेर गर्ने प्रवृत्ति देखिएको छ, यसलाई तोडेर छाड्छौँ,’ उनले भने । पोखरामा ट्राफिक अवस्थाबारे अध्ययन गरिरहेकी जापानी नागरिक माधुका वगावाले सानासाना बाबुनानीलाई स्कुल बसमा कोचेर यात्रा गराएको, जहाँ त्यहीँ विद्यार्थी ओराल्ने चढाउने गरेको र गलत ढंगले उछिन्ने गरेको बताएकी थिइन् । 

 पोखरामा निजी स्कुलका चार सय बस
कास्कीमा दुई सय हाराहारीमा निजी विद्यालय छन् । यी विद्यालयका करिब चार सय बसले विद्यार्थी ओसार्छन् । विद्यार्थी ओसार्ने बसलाई बिहान विद्यालय समयमा विद्यार्थी पु¥याउन हतार हुन्छ । सीमित सवारीसाधान तर धेरै ठाउँ पुग्नुपर्ने बाध्यताका कारण तीव्र गति हुने गरेको छ । एक बसचालकका अनुसार सबैतिर भ्याउनुपर्ने भएकाले बिस्तारै हाँकेर विद्यार्थी पु-याउन सकिँदैन । स्कुल बस निर्देशिका ०७४ अनुसार स्कुल बसको अधिकतम गति ४० किलोमिटर प्रतिघन्टाभन्दा बढी हुनुहुँदैन ।

 दुई सिटमा ३ जनाबारे गलत बुझाइ
स्कुल बस निर्देशिकाअनुसार १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई सिट क्षमताभन्दा १.५ गुणा बढी राखेर ओसारपसार गर्न सकिन्छ । यसरी हेर्दा दुई सिटमा १२ वर्षमुनिका तीन विद्यार्थी बस्न सक्छन् । तर, यसैको अप व्याख्या गर्दै ठूला विद्यार्थीलाई समेत कोच्ने गरेको ट्राफिक प्रमुख मिश्र बताउँछन् । ‘कुनै बसको सिट क्षमता ४० जना छ भने निर्देशिकालाई अपव्याख्या गरेर ६० जनासम्म कोच्ने गरिएको छ,’ उनले भने, ‘किन धेरै कोचेको भन्यो भने निर्देशिकाले नै २ सिटमा ३ जना भनेको छ भन्छन् ।’ मिश्रका अनुसार यसरी धेरै यात्रु कोच्ने बस कारबाहीमा पर्ने गरेका छन् ।

 २० वर्ष पुराना बस अझै सञ्चालनमा
पोखराका केही विद्यालयले अझै पनि २० वर्ष पुराना बसमार्फत विद्यार्थी ओसारिरहेका छन् । बाटोमा प्रदूषण गर्ने यस्ता सवारीसधानमा रंगरोगन गरेर बाहिर चिटिक्क परिएका छन् । यद्यपि, पछिल्लो समय १० वर्षभन्दा पुराना सार्वजनिक यातायातका साधनलाई रातो नम्बर प्लेटमा परिणत नगरिएको यातायात व्यवस्था कार्यालय गण्डकीका इन्जिनियर प्रेम सुवेदीले बताए । 

 आपत्कालीन ढोका छैनन्, ढोका खुलै राखेर हुइँक्याइन्छ
निर्देशिकाअनुरूप बसको रंग परिवर्तन गरेका बसले पनि स्कुल बसको भौतिक मापदण्ड पालना गरेका छैनन् । निर्देशिकाअनुसार स्कुल बसको पछिल्लो भागको दाहिनेतिर आपत्कालीन द्वार (इमर्जेन्सी इक्जिट्स) हुनुपर्छ । बस चल्दा ढोका बन्द गरेर चलाइनुपर्छ । स्कुल बसको झ्यालमा कम्तीमा पनि ३ वटा आल्मुनियम ट्युबको ग्रिल दुवैतर्फ लगाइएको हुनुपर्छ । प्राथमिक उपचार बक्सको व्यवस्था हुनुपर्छ । बसको प्राविधिक जाँचपास सार्वजनिक सवारीसाधनअनुरूप हुनपर्नेछ । यस्ता सबै कुरा अधिकांश स्कुल बसले लागू गरेको नपाइएको यातायात व्यवस्था कार्यालय गण्डकीका इन्जिनियार प्रेम सुवेदीले जानकारी दिए । उनले स्कुल बसहरू जाँचपास नै गराउन नल्याइने गरेको बताए ।

 नाम चलेकै स्कुलले मान्दैनन् नियम
पोखराको नाम चलेको विद्यालय गण्डकी बोर्डिङ स्कुलले ४ वटा बसमध्ये एउटाको मात्र रंग परिवर्तन गरेर पहेँलो बनाएको छ । बाँकी ३ वटा बस फरक रंगका छन् । उपहार पाएको बसको रंग परिवर्तन गर्न नमिल्ने गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापक वीरेन्द्र खड्का बताउँछन् । यद्यपि, स्कुल बस निर्देशिकाअनुरूप अगाडि बढ्ने प्रयत्न गर्ने उनले सुनाए ।