मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २७ सोमबार ११:०७:००
Read Time : > 1 मिनेट
प्रदेश

डोटीमा सुरक्षित गर्भपतन गराउने बढे

Read Time : > 1 मिनेट
२०७६ श्रावण २७ सोमबार ११:०७:००

डोटीमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढेको छ ।  आर्थिक वर्ष ०७५/७६ मा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट एक हजार एक सय ६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जिल्लामा रहेका १९ वटा सरकारी स्वास्थ्य संस्था, नेपाल परिवार नियोजन संघ र शैलेश्वरी अस्पतालले सुरक्षित गर्भपतन सेवा दिने इजाजत प्राप्त गरेका छन् । सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्रै उक्त संख्यामा सेवा लिएका हुन् । 

‘यसमा नेपाल परिवार नियोजन संघको डोटी शाखा र शैलेश्वरी अस्पतालबाट सेवा लिनेहरूको संख्या जोडिएको छैन,’ डोटी जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मिना बमले भनिन्, ‘यो सरकारी स्वास्थ्य संस्थाहरूबाट सेवा लिनेको मात्रै तथ्यांक हो ।’ उनले डोटी जिल्ला अस्पतालबाट मात्रै गत आर्थिक वर्षमा तीन सय तीनजनाले सुरक्षित गर्भपतन सेवा लिएको बताइन् । 

डोटी जिल्ला अस्पतालले १८ हप्तासम्मको गर्भ र अन्य स्वास्थ्य संस्थाहरूले नौ हप्तासम्मको गर्भपतन गराउन पाउने इजाजत पाएका छन् । गत वर्ष यस जिल्लामा गर्भपतन गराउनेको संख्या एक हजार ८२ थियो । सुरक्षित गर्भ पतनभन्दा पनि गर्भपतन गर्नै नपर्ने गरी जनचेतना जगाउनुपर्ने बताउँछन् डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल । ‘गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिले राम्रो कुरा होइन,’ प्रजिअ पौडेलले भने, ‘बरु परिवार नियोजनका अस्थायी साधनको प्रयोग  गरौँ भन्ने कुरामा जोड दिनु जरुरी छ  ।’ 

१५ देखि ४५ वर्षसम्मकाले लिन्छन् सेवा  
सुरक्षित गर्भपतन सेवा लिनेहरूका १८ वर्षमुनिका किशोरी पनि रहेको सुरक्षित गर्भपतनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक दीपा सिंहले बताइन् । उनले भनिन्, ‘१५÷१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ । यो सेवा लिनेहरूमा ४५ वर्ष पुगेका महिला पनि छन् ।’ मुलुकी अपराध (संहिता) ऐन, ०७४ अनुसार १८ वर्षमुनिका किशोरीसँग उसको मञ्जुरी लिई वा नलिई यौन सम्पर्क गरे जबर्जस्ती करणी भएको मानिने व्यवस्था रहेको र १८ वर्षमुनिका किशोरीहरू गर्भपतन गर्न आउँदा कानुनी दायरामा ल्याउनुपर्ने बताउँछन् डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझी । उनले भने, ‘किशोरीहरूबाट लिएको मञ्जुरीलाई मञ्जुरी मानिदैन, त्यसैले यो क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले कानुनी कुराहरू पनि जानकारी गराउन जरुरी छ । 

असुरक्षित गर्भपतन पनि हुन्छ 
सुरक्षित गर्भपतनका साथसाथै असुरक्षित गर्भपतन पनि हुने गरेको बताउँछिन् जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख शशी सोव । ‘असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै छ,’ सोवले भनिन्, ‘तर त्यो गैरकानुनी भएका कारण गणनामा आउँदैन ।’ औषधि पसल सञ्चालकले अहिले पनि असुरक्षित गर्भपतन गराउने गरेको उल्लेख गर्दै उनले थपिन्, ‘एकपटक औषधि व्यवसायी पसलेहरूसँग समन्वय गर्नु जरुरी छ ।’ परम्परागत हानिकारक अभ्यासहरूबाट पनि असुरक्षित गर्भपतन गर्ने चलन अझै कायम रहेको सोवको भनाइ छ । 

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५, अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुनसक्ने वा विकलांग बच्चा जन्मने भनी इजाजतप्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणुु (एआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको अवस्थामा र भ्रूणमा कमीकमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था स्वास्थ्यकर्मीको  रायमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था छ ।