मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार ०८:५५:००
Read Time : > 1 मिनेट
सम्पादकीय

पानी पुनर्भरण अभियान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २७ सोमबार ०८:५५:००

काठमाडौं महानगरपालिकाले एउटा राम्रो अभियान आरम्भ गर्ने तरखर गर्दै छ । काठमाडौं महानगरभित्रका हरेक घरमा एउटा इनार बनाउन लगाउने, त्यस्तो इनार बनाउन महानगरले पनि सहयोग गर्ने र इनारमा वर्षाको पानी घरको छतबाट सीधै जम्मा हुने व्यवस्था गर्ने गरी अघि बढाउन लागिएको यो योजना नेपालका लागि नौलो हो । तर, यो उत्तिकै आवश्यक र नगरी नहुने काम पनि हो । महानगरको यो प्रयासलाई सबैले साथ दिनु जरुरी छ ।

केही दिनअघि न्युयोर्क टाइम्सले जिम्बाबेको राजधानी हरारेमा बढ्दो पानी संकटबारे समाचार छापेको थियो । समाचारअनुसार हरेक घरमा सतामा एकपटक त्यो पनि निकै कम पानी आउँछ । परिवारका सदस्यलाई नुहाउन र शौचालय प्रयोग गर्नमा परिरहेको समस्या तथा सहरमा कतैकतै यसो पानी आउँदै गरेका इनार या कुवाबाट पानी ओसार्न जानुपरेका पारिवारिक कथाव्यथा समेटिएको त्यस समाचारले आगामी दिनमा पानीको समस्याले ल्याउन सक्ने मानवीय संकटतिर संकेत गरेको थियो ।

यतिवेला बाढीको चपेटामा परेको भए पनि भारतीय सहर चेन्नई एक महिनापहिले मात्र पानी संकटले काकाकुल बनेको थियो । गाउँ होऊन् या सहर, पछिल्लो समय बढ्दै गएको विश्व तापमान र त्यसको परिणामले बदलिँदै गएको जलवायुका कारण पानीको संकटमा धकेलिँदै छन् । परम्परागत पानीका स्रोत सुक्दै र घट्दै जाने, सहरमा अत्यधिक रूपमा जनसंख्या केन्द्रीकृत हुँदा पानीको व्यवस्थापन गर्न नसकिने अवस्था जताततै फैलँदो छ ।

महानगरभित्रका हरेक घरमा एउटा इनार बनाउन लगाउने, त्यसका लागि महानगरले पनि सहयोग गर्ने र इनारमा वर्षाको पानी घरको छतबाट सीधै जम्मा गर्ने योजना सकारात्मक छ
 

पानी संकट विश्वव्यापी समस्याका रूपमा फैलिँदो छ । नेपालको चुरे तथा महाभारतका कतिपय क्षेत्रमा खोंच होऊन् या उच्च भागका बासिन्दा सुक्खायाममा पानी नपाएकै कारण बसाइँ सर्नुपर्ने बाध्यतामा छन् । पानीको दिगो व्यवस्थापनका अनेक उपाय छन् । अहिले मनपरीसँग गर्न थालेको विकास र खन्न, खोस्रन थालिएका पाखाभित्ता र बगरका कारण उत्पन्न हुने समस्याले पनि पानीको संकट बढ्ने नै संकेत गरेका छन् । अब समय आएको छ, पानी व्यवस्थापनका लागि तत्काल पहल थाल्ने । यसमध्ये एउटा हो, वर्षायामको पानीको सतह बाहिर र भित्र गरिने सञ्चिति ।

सतहबाहिर गरिने सञ्चितिमा पोखरी निर्माण र पानी संकलन घैंटा या ट्यांकी कार्यक्रम पर्छन् । सतहभित्र गरिने भनेको वर्षाको पानीलाई जमिनमुनिसम्म पुग्ने बाटो दिनु हो । अस्तव्यस्तसँग बनेका कंक्रिटका संरचनाले वर्षाको पानी सिमेन्टेड या ढलान गरिएका भागबाट सीधै नदीसम्म जाने, बहाव बढ्ने र बाढी आउने गर्छ तर जमिनमुनि जम्मा हुन पाउँदैन ।

खाली जमिन छ र वर्षाको पानी खाली जमिनमा हिँड्न पायो भने यो कालिमाटी भएको क्षेत्रमा बाहेक सहज रूपमा जमिनमुनि जान्छ । यसले जमिनमुनिको पानीको सतह बढाउँछ । जसलाई गर्मीमा ट्युबवेल या इनारका माध्यमबाट प्रयोग गर्न सकिन्छ । काठमाडौंमा बन्दै गरेका संरचनाले पुनर्भरणको बाटो छेकेका छन् । जसले धारा, कुवा र इनार सुक्दै गएका छन् । महानगरको अभियानले यसमा हस्तक्षेप गर्न चाहेको प्रस्ट छ । यो अत्यन्त महत्वपूर्ण रणनीतिक काममा हरेक घरपरिवार र नागरिकले सहभागिता जनाउनु आवश्यक छ ।