मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २७ सोमबार ०९:२१:००
Read Time : > 3 मिनेट
राजनीति

चर्चामै सीमित राजपा–समाजवादी एकता

Read Time : > 3 मिनेट
२०७६ श्रावण २७ सोमबार ०९:२१:००
  •  दुई पार्टीका नेताहरूबीच अनौपचारिक भेटघाट र छलफल मात्रै
  •  पार्टी एकता गर्ने विषयमा राजपा अध्यक्षमण्डलभित्र दुई धार


मधेसकेन्द्रित दल राजपा र नवगठित समाजवादी पार्टी नेपालबीच एकता प्रसंग चलेको महिनौं भइसके पनि औपचारिक रूप लिन सकेको छैन । चार विषयमा सहमति नहुँदा एकता अड्किएको नेताहरूले बताएका छन् । समाजवादीका उपमहासचिव डम्बर खतिवडा नेतृत्व व्यवस्थापन र सैद्धान्तिक विषयमा दुई पार्टीबीच औपचारिक छलफलसमेत नभएको स्विकार्छन् ।

राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एवं उपेन्द्र यादवबीच चार विषयमा केन्द्रित भएर वेलावेला सिंहदरबारमा छलफल हुँदै आएको छ । तर, उपलब्धि हुने गरी सहमति नहुँदा दुई पार्टीबीचको एकता वार्ता नै अनौपचारिक चरणमै अवरुद्ध भएको हो ।

एकीकृत पार्टीको नेतृृत्वको व्यवस्थापन, संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणाली स्विकार्ने कि प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने, निर्वाचन प्रणाली पूर्ण समानुपातिक कि मिश्रित गर्ने भन्नेमा दुई दलबीच सहमति हुन सकेको छैन । त्यस्तै, समाजवादी पार्टी सरकारबाट बाहिरिने या नबाहिरिने विषयमा समेत कुरा नमिल्दा एकता अघि बढ्न नसकेको राजपाका एक शीर्ष नेताले बताए । 

राजपाका अध्यक्षमण्डलका ६ जना र समाजवादी पार्टीका दुई अध्यक्षको व्यवस्थापन संगठनात्मक संरचनामा कसरी गर्ने भन्ने विषय पेचिलो देखिएको छ । यस्तै, राजपाले मिश्रित निर्वाचन प्रणाली र अहिलेकै संसदीय व्यवस्थाको पक्षमा मत राखेको छ भने समाजवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने नीति लिएको छ । सरकारबाट बाहिरिने विषयलाई समाजवादीले सामान्य रूपमा लिए पनि राजपाले अनिवार्य बाहिरिनुपर्ने सर्त अघि सार्दै आएको छ ।

सरकारबाट बाहिरिने विषयलाई समाजवादीले सामान्य रूपमा लिए पनि राजपाले अनिवार्य बाहिरिनु पर्ने सर्त अघि सार्दै आएको छ

शीर्ष तहमा अनौपचारिक छलफल मात्रै
एकताका लागि सहजकर्ताका रूपमा राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण थिए भने समाजवादी पार्टीबाट गंगानारायण श्रेष्ठ र शिवजी राय यादव रहेका थिए । तर, सहजकर्ताबाट एकता टुंगो लाग्ने नदेखिएपछि शीर्ष तहमै छलफल हुन थालेको राजपाका एक शीर्ष नेताले बताए । 

‘दुवै पार्टीबाट २/२ जना हुने गरी एकताका लागि सहजकर्ता बनाएर छलफल भयो,’ ती नेताले भने, ‘तर, सहजकर्ताबाट एकता टुंगो लाग्न नसकेपछि शीर्ष नेताकै तहबाट छलफल गर्न थालेका छौँ ।’ सिहदरबारभित्र कहिले संसदीय दलको कार्यालय र कहिले सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णको कार्यकक्षमै छलफल हुने गरेको छ । एकताका लागि दुवै पार्टीका तर्फबाट सघन छलफल भइरहेको राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए ।

‘केही पनि विषय मिलेको छैन, कुराहरू भइराखेका छन् । एकता गर्नुपर्छ भन्ने छ,’ महतोले भने, ‘अझै छलफल हुन दिनुस्, त्यसपछि विषयवस्तु धेरै बाहिर आउँछ ।’ समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले एकताका लागि निरन्तर छलफल भइरहेको स्विकारे । ‘हामीले एकताका लागि शीर्ष तहमा छलफल गरिरहेका छाैँ,’ श्रेष्ठले भने, ‘राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर भारत उपचार गर्न जानुभएकाले छलफल रोकिएको छ । उहाँ फर्किएपछि छलफलले निरन्तर पाउँछ ।’ 

यसअघि एकताका लागि राजपा र तत्कालीन संघीय समाजवादी फोरमबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेलसँगै एकता गर्नुपर्ने मत दुवै पार्टीभित्र बलियो थियो । तर, दुवै दलले निर्वाचनमा तालमेल गरे, एकतामा पुग्न सकेनन् । एकताका लागि फोरमले गत पुस र माघ महिनामा दुईपटक राजपालाई एकता–पत्रसमेत पठायो । २३ वैशाखमा नयाँ शक्ति र फोरमबीच एकता भई समाजवादी पार्टी गठन भएको हो । 

कुन विषयमा दुई पार्टी सहमतिनजिक ?
संविधान संशोधनको विषयमा राजपा र समाजवादी पार्टी नजिक छन् । दुवै पार्टी अहिलेको संविधान अपूर्ण भएको भन्दै संविधान संशोधनलाई मूल मुद्दामा एक छन् । अध्यक्षमा सिनियर नेताका रूपमा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राख्ने, पदाधिकारी, केन्द्रीय समिति बराबर राख्न दुई पार्टी नजिक छन् । यस्तै, पार्टीको नाम नेपाल राष्ट्रिय समाजवादी पार्टी राख्ने, झन्डा समाजवादीको चुनाव चिह्न राजपाको राख्ने विषयमा सहमति नजिक रहेको समाजवादी पार्टीका एक नेताले बताए ।

राजपामा एकताबारे दुई धार
समाजवादी पार्टीसँग एकता गर्नेबारे राजपाबीच दुई धार देखिएको छ । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव र अनिल झा विपक्षमा देखिएका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत्सिंह भण्डारी एकताका पक्षमा छन् । अनिल झा एकता गर्ने सवालमा विपक्षमा देखिए पनि मौन छन् । राजकिशोर यादव खुलमखुल्ला एकताको विपक्षमा अभिव्यक्ति दिँदै हिँडेका छन् । राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका छन् । उनले कुनै पनि हालतमा समाजवादी पार्टीसँग एकता नहुने तर्क गरेका थिए ।

राजपा–समाजवादी छलफल शृंखला

  •  नयाँ शक्ति, राजपा, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमुक्ति पार्टी चार पार्टीबीच वैशाख १९ गते एकताका लागि छलफल भयो । नयाँ शक्तिको केन्द्रीय कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बैठक गरेका थिए । राजपाले एकताका लागि थप समय मागेको थियो । फोरम र नयाँ शक्तिले तत्कालै गर्ने भनेपछि मत बाझिएको थियो ।
  •  नयाँ शक्ति र फोरमबीच एकतापछि जेठ पहिलो साता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोबीच महतोकै निवास सिनामंगलमा भेट र गम्भीर छलफल भयो । 
  •  ६ असारमा विश्व योग दिवसको जनकपुरमा भएको कार्यक्रममा राजपा अध्यक्षमण्डलका सदस्य महतो र समाजवादी अध्यक्ष यादव एउटै कार्यक्रममा सहभागी थिए । कार्यक्रममै दुई नेताबीच एकताबारे छलफल भयो ।
  •  असार दोस्रो साता एकताका लागि सहजकर्ताको रूपमा राजपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण साथै समाजवादीबाट शिवजी राय यादव र गंगानारायण श्रेष्ठको संयोजकत्वमा टोली गठन भयो ।
  •  अहिले राजपा नेता ठाकुर महतो, शरदसिंह भण्डारीलगायत नेतासहित समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवबीच निरन्तर छलफल चल्दै छ ।