मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वेदप्रसाद अर्याल प्रमुख, सुधारगृह
२०७६ श्रावण २६ आइतबार ०७:५०:००
Read Time : > 1 मिनेट
समाचार

नख्खु कारागारभित्रै  मानसिक अस्पताल

६ करोडमा बनेको अस्पताल दुई महिनाभित्र सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
२०७६ श्रावण २६ आइतबार ०७:५०:००

नख्खु कारागारमा मानसिक अस्पताल निर्माण भएको छ । करिब ६ करोडमा निर्माण भएको अस्पताल दुई महिनाभित्र सञ्चालनमा आउने कारागार कार्यालय नख्खु सुधारगृहले जनाएको छ । अस्पतालको क्षमता १५ शय्याको रहेको सुधारगृहका प्रमुख वेदप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार अस्पतालमा सातजना जनस्वास्थ्य विज्ञसहित १३ कर्मचारीको दरबन्दी रहनेछ ।

चार सयभन्दा बढी कैदी मानसिक रोगी
कारागारभित्रै रहेको मनोसामाजिक परामर्श केन्द्रबाट मानसिक रोगी कैदीहरूको उपचार भइरहेको छ । कारागारमा विभिन्न अपराधकार्यमा सजाय पाएका १३ सयभन्दा बढी कैदीबन्दी छन् । तीमध्ये चार सयभन्दा बढी मानसिक रोगी छन् । मानसिक रोगीको उपचार गर्ने उद्देश्यले मानसिक अस्पताल निर्माण भएको सुधारगृहले जनाएको छ । ‘कारागारमा मानसिक रोगी धेरै छन् । उनीहरूलाई कुनै पनि समयमा अस्पताल लैजानुपर्ने अवस्था आउन सक्छ । त्यसैले, कैदीको कारागारभित्रै उपचारको व्यवस्था गर्न मानसिक अस्पताल निर्माण गरिएको हो,’ सुधारगृहका प्रमुख अर्यालले भने ।

कारागारमा मानसिक रोगी धेरै छन् । कुनै पनि समयमा अस्पताल लैजानुपर्ने अवस्था आउन सक्छ । त्यसैले, कारागारभित्रै उपचारको व्यवस्था गर्न मानसिक अस्पताल निर्माण गरिएको हो । : वेदप्रसाद अर्याल प्रमुख, सुधारगृह

हाल कारागारमा रहेका मानसिक बिरामीलाई लगनखेल र अन्य अस्पतालमा उपचार गर्ने गरिएको छ । अस्पतालभित्रै उपचार हुने भएपछि कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन सहज हुने भएको छ । 

देशका अन्य कारागारबाट नख्खुमा मानसिक बिरामीको सरुवा
देशका विभिन्न कारागारबाट कैदीबन्दी नख्खु कारागारमा सरुवा हुने गरेका छन् । अधिकांश कारागारले मानसिक रोग लागेका कैदीबन्दीलाई सरुवा गरेर पठाउने गरेको सुधारगृहले जनाएको छ । यसअघि धुलिखेलस्थित कारागारमा मानसिक रोग लागेका कैदीबन्दीको चाप बढी हुने गरेको थियो ।

नख्खु कारागारमा रहेका कैदीबन्दीमा जटिल प्रकारको मानसिक रोग देखिएको छ । सुधारगृहका अनुसार केहीले नियमित रूपमा औषधि खाइरहेका छन् । जटिल प्रकृतिका मानसिक बिरामीलाई समस्या आउनासाथ तुरुन्त अस्पताल पुर्‍याउनुपर्ने अवस्था रहेको अर्यालले बताए । ‘हामीले दैनिकजसो मानसिक रोग लागेका कैदीलाई उपचारका लागि अस्पताल लाने गरेका छौँ,’ उनले भने ।

केही समयअघि पवनकुमार महतोले भुइँमा बिछ्याइएको ब्लकले प्रहार गर्दा बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको थियो । महतो र राजी दुवै मानसिक बिरामी भएको सुधारगृहले जनाएको छ । मानसिक समस्याकै कारण सो घटना भएको सुधारगृह प्रमुख अर्यालले बताए । अस्पताल सञ्चालनमा आएपछि मानसिक समस्याका कारण हुने दुर्घटना नियन्त्रण हुने सुधारगृहको विश्वास छ ।