२०७६ श्रावण २५ शनिबार १८:०६:००
सुवास भट्ट काठमाडाैं

मान्छेको भविष्य : विशाल कम्प्युटरको एउटा ‘चिप्स’ 

छनोटयुक्त सन्तानोत्पादन प्रक्रिया (सेलेक्टिभ ब्रिडिङ)मार्फत् हिटलरले ‘उच्च मानव’ सृजना गर्ने योजना बनाए । हिटलरले चलाएकाे शासन र उनको स्वभाव जस्तो थियो, त्यसको आलोकमा यो सफल हुने कुरै थिएन । तर, हिटलरको यही योजना २१ औँ शताब्दीमा पूरा हुने दाबी गर्छन्, युवल नोवा हरारी । 

आफ्नो पुस्तक ‘होमो डिअस’मा लेखक हरारी दावी गर्छन्, ‘२१ औँ शताब्दी धेरै शान्तिपूर्ण तरिकाले ‘जेनेटिक इन्जिनियरिङ’, ‘नानो टेक्नोलोजी’ र ‘ब्रेन कम्प्युटर’को माध्यमबाट त्यही ‘उच्च मानव’को लक्ष्य प्राप्तिको बाटोमा छ ।’ २१ औँ शताब्दीको विज्ञान प्रविधि मान्छेलाई ईश्वरमा स्तरोन्नती गर्ने लक्ष्यमा अघि बढिरहेको दावी गर्छन्, लेखक ।  

पुस्तकमा हरारीले प्रविधिका क्षेत्रमा संसारले कति फड्को मारिसक्यो र यसको सम्भावित परिणामको विषद व्याख्या गरेका छन् । जसले सामान्य पाठकको मथिंगल हल्लाउँछ । केही वर्षयता हरारी अन्तर्राष्ट्रिय मञ्चमै चर्चाको शिखरमा छन् । यसअघि सन् २०१४ मा प्रकाशित उनको ‘स्यापियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ न्यूयोर्क टाइम्सको टप १० ‘बेस्टसेलर’ बन्न सफल भएको थियो । 

त्यसयता सन् २०१६ मा उनले होमो डिअस र सन् २०१८ मा ‘२१ औँ शताब्दीलाई २१ पाठ’ भन्ने पुस्तक प्रकाशित गरिसकेका छन् । जेरुसलमको ‘हिब्रु युनिभर्सिटी’का प्राध्यापकसमेत रहेका हरारीका पुस्तक १ करोड ९० लाख प्रति बिक्री भइसकेका छन् ।

सुवास भट्ट

बन्दुकभन्दा चिनी खतरनाक

सन् १६९२ र १६९४ का बीचमा २० लाख ८० हजार फ्रेन्च भोकमरीबाट मर्न बाध्य भएका थिए । जुन तत्कालीन फ्रान्सको जनसंख्या १५ प्रतिशत थियो । सन् १९९५ मै भोकमरीबाट इस्टोनियाको ५ प्रतिशत जनसंख्या सखाप भएको थियो । सन् १६९६ मा त फिनल्याण्डको चौथाई जनसंख्या भोकमरीबाट ग्रस्त भएर मर्न बाध्य भएको थियो । 

प्राकृतिक विपत्ति, युद्ध, मौसमको प्रतिकूलताका कारण ठुलो जनसंख्याले मृत्युवरण गर्थ्याे । तर, वर्तमानमा यस्तो भोकमरीको कारण प्राकृतिक विपत्ति होइन मानव राजनीति हो भन्छन्, उनी । ‘विश्व व्यापार सञ्जालले यस्ता विपत्तिलाई व्यापारिक अवसरमा बदलेको छ,’ उनी भन्छन् । 

भोकमरीपछि इतिहासमा मान्छेको दोस्रो ठुलो समस्या प्लेग र संक्रमित रोग थिए । सन् १३३० मा पूर्वी र मध्य एसियाबाट फैलिएको संक्रमित रोगका कारण करोडौं जनसंख्या सखाप भयो । जुन ‘ब्ल्याक डेथ’का रुपमा चर्चित छ । सन् १५२० मा २ करोड २० लाख जनसंख्या रहेको मेक्सिकोमा प्लेग, फ्लू लगायतका संक्रमित रोगका कारण सन् १५८० सम्ममा उक्त जनसंख्या २० लाख भन्दा तल झरेको थियो । २० औं शताब्दीसम्म पनि विभिन्न महामारीका कारण दशौं लाख मानिसले मृत्युवरण गरेका थिए । २० औँ शताब्दीसम्ममा एक तिहाई बालबालिका युवा अवस्थामा नपुग्दै मरेको तथ्य उनले पुस्तकमा प्रस्तुत गरेका छन् । 

२० औँ शताब्दीमा पुगेपछि औषधि विज्ञानमा आएको चमत्कारिक आविश्कारले मात्र त्यसलाई रोकेको थियो । खोप, एन्टिबायोटिक, पोषणमा सुधार र औषधीय पूर्वाधारका कारण मात्र रोगका क्षेत्रमा मान्छेले चमत्कारिक उपलब्धी हासिल गरेको थियो । 

मानव इतिहासको अर्को त्रासदी युद्ध थियो । ढुंगे युगदेखि बाष्प इन्जिनको युगसम्म आइपुग्दा मान्छेले अनेकाै‌ं युद्धको त्रासदी झल्यो । जुनसुकै बेला, जतासुकैबाट, जोसुकैले पनि आक्रमण गर्ने भय मान्छेमा थियो । प्राचीन कृषि युगमा १५ प्रतिशत मान्छे युद्धबाट मर्थे । २० औँ शताब्दीमा जम्मा ५ प्रतिशत मान्छे युद्धबाट मरे भने २१ औँ शताब्दीको पूर्व सन्ध्यामा मान्छेको मृत्यु हुनुमा युद्ध १ प्रतिशत हिस्सा मात्र हो । 

अहिले संसारभर नै आणविक हतियारको होड चलेको छ । ठुला र सम्पन्न मुलुकले आफूलाई शक्तिशाली सावित गर्न पनि यस्ता आणविक हतियारमा प्रतिस्पर्धा गरिरहेका छन् । चाहेको खण्डमा पलभरमै संसार ध्वस्त हुन सक्ने गरी शक्तिशाली आणविक हतियारको आविष्कार भएका छन् । 

‘वर्तमान समयमा आणविक हतियारको आविष्कारले शक्ति राष्ट्रबीचको युद्धलाई संयुक्त आत्महत्याको पागलपूर्ण गतिविधिका रुपमा परिवर्तन गरिदिएको छ,’ युद्धको जोखिमबारे लेखक भन्छन् । 

सैनिक, आतंककारी र अपराधबाट मर्नेभन्दा आत्महत्याबाट संसारमा मर्नेहरूको संख्या धेरै रहेको भयावह स्थिति उनी उल्लेख गर्छन् । सन् २०१२ मा ८ लाख मान्छेले आत्महत्या गरेका थिए । उनको दावी छ, ‘बन्दुकको गोलीभन्दा चिनी खतरनाक छ,’ यसका लागि उनी तथ्यांक पेस गर्छन्, सन् २०१२ मा मधुमेहबाट मर्नेको संख्या १५ लाख थियो । 

मृत्युको मृत्यु 

प्राणीको सबैभन्दा ठुलो भय मृत्यु रहिआएको छ । प्राणीको चक्र नै मृत्युको वरिपरी घुमिरहेको हुन्छ । तर, लेखकले २१ औं शताब्दीलाई मृत्युको अन्तिम शताब्दीका रुपमा व्याख्या गरेका छन् । 

२१ शताब्दीमै मानवले अमरत्वका लागि बोलपत्र आह्वान गर्ने सम्भावना उनी देख्छन् । ‘आधुनिक मानवका लागि मृत्यु प्राविधिक समस्या हो,’ उनी भन्छन्, ‘जुन हामी गर्न सक्छौँ र गर्नुपर्छ ।’ हरेक प्राविधिक समस्याको प्राविधिक समाधान हुने जिकिर उनको छ । सरकारले सही नीति अंगाले मात्र भए, नगरपालिकाले सही तरिकाले आफ्नो काम गरेको भए र सैनिक कम्पानले विवकपूर्ण निर्णय लिइदिएको भए मृत्यु मरिसकेको हुने दाबी उनको छ । 

२० औँ शताब्दीमा मान्छेको औसत उमेर ४० बाट ७० पुग्यो, २१ औँ शताब्दीमा यो उमेरलाई कम्तीमा दोब्बरले बढाएर १५० वर्ष पुर्याउन सक्षम हुनुपर्ने उनी बताउँछन् । ‘मानव जिवनप्रतिको हाम्रो विचारधारात्मक प्रतिवद्धताले पनि मानव मृत्युलाई स्वीकार गर्ने अनुमति दिँदैन,’ उनको दावी छ । 

उनी भन्छन्, केही प्राविधिक समस्याका कारण मान्छेको मुत्यु हुन्छ । ‘मुटुको मांशपेसीमा पर्याप्त अक्सिजन नपुगेपछि मुटुले रगत प्रवाह गर्न छोड्छ, जिनमा हुने आकस्मिक परिवर्तनले तिनको स्वभाविक गुणमा परिवर्तन हुँदा क्यान्सरका कोष फैलिन्छन र संक्रमित व्यक्तिले हाछ्युँ गर्दा जिवाणु हाम्रो फोक्सोसम्म पुग्छ अनि मेरो फोक्सोसम्म पुग्छ अनि रोगको संक्रमण हुन्छ,’ उनी भन्छन्, ‘यसमा कुनै पराभौतिक कारण जिम्मेवार छैन ।’ 

सुख नै खुसी हो ? 

ढुंगे युगमा औसत मान्छेलाई प्रतिदिन ४ हजार क्यालोरी शक्ति खपत गथ्र्यो । तर, अहिले प्रतिदिन अमेरिकी नागरिक २ लाख २८ हजार क्यालोरी शक्ति खपत गर्छ । अहिलेको एक औसत अमेरिकी नागरिकले ढुंगे युगको औसत एक मान्छेले भन्दा ६० गुणा बढी शक्ति खपत गर्छ । ‘के अहिलेको औसत अमेरिकी नागरिक ढुंगे युगको औसत मान्छेभन्दा ६० गुणा बढी खुसी छ ?’ हरारी प्रश्न गर्छन् ।

खुसीको परम्परागत व्याख्या सुख, सुविधा, धन इत्यादी हुन् । तर, यसले मात्र वर्तमान मानव खुसी छैन । एक टुक्रा रोटी नै मध्य युगीन एक किसानलाई खुसी बनाउन काफी थियो । हरारी प्रश्न गर्छन्, ‘अत्याधिक तलव खाने, मोटे र दुखी एउटा इन्जिनियरलाई तपाईं कसरी खुसी बनाउन सक्नुहुन्छ ?’ 

हाम्रो जैविक रसायन र शरीर र मस्तिष्कको ‘रिइन्जिनियरिङ’ आवश्यक भएको उनको ठम्याई छ । ‘२१ औँ शताब्दीको दोस्रो ठुलो आयोजना खुसी संसारको सुनिश्चित गर्नु हो,’ उनी भन्छन् । 

मान्छेको दुःख : काल्पनीकी 

१९ औँ शताब्दीमा दार्शनिक कार्ल माक्र्सले धर्मलाई अफिमका रुपमा व्याख्या गरे । धर्म मानव शोषणको प्रमुख कारक रहेको ठहर गर्दै उनले यसको धुरन्धर विरोध गरेका थिए । हरारी पनि धर्मप्रति उसैगरी कट्टर छन् । ‘अहिले पनि संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपतिले सपथ लिँदा बाइबलमा हात राखेर लिन्छन्, त्यही अमेरिका, बेलायतलगायतका कतिपय मुलुकमा अदालतमा पनि बाइबलमा हात राखेर सत्य बोल्ने कसम खाइन्छ,’ उनी भन्छन्, ‘यो व्याङ्ग्य हो कि उनीहरू त्यस्तो किताब छोएर सत्य बोल्ने कसम खान्छन्, जुन किताब कैयौं आख्यान, मिथक र त्रुटीले भरिएका छन् ।’ परम्परागत धर्मले संसारमा ठुलो हिस्सा ओगटे पनि वर्तमान समयमा यो प्रतिक्रियात्मक अवस्थामा रहेको उनको दाबी छ । 

उनी उदाहरण दिन्छन्, जब मानिस जिअसको मन्दिरमा जलेर मर्छन, जिअसलाई पीडा हुँदैन, जब युरोले अवमूल्यन हुन्छ, युरोलाई पीडा हुँदैन, जब बैंक टाट पल्टिन्छ, पीडा बैंकलाई हुँदैन, जब कुनै मुलुक युद्धमा हार्छ, पीडा भोग्ने मुलुकले होइन । तर, जब कुनै सैनिक युद्धमा घाइते हुन्छ, पीडा सैनिकलाई हुन्छ, जब एउटा किसानले खाने अनाज पाउँदैन, पीडा किसानलाई हुन्छ, जब भरखर जन्माएको बाच्छो हराउँछ, पीडामा गाई हुन्छ । यो वास्तविकता हो । 

हामी कुनै काल्पनिकतामा विश्वास गरेर पीडा महसूस गर्छौं । उदाहरणका लागि कुनै राष्ट्र र धार्मिक आस्थाका आधारमा कुनै युद्ध भयो भने त्यसमा दशौं लाखले ज्यान, घरबार र आफन्तजन गुमाउँछन् । ‘युद्धको कारण काल्पनिकी हो, तर, पीडा शतप्रतिशत सही हो,’ उनी भन्छन्, ‘तसर्थ हामीले काल्पनीकी र वास्तविकताबीचको भेद छुट्याउनु पर्छ ।’ 

समाजवादको असान्दर्भिकता 

कार्ल मार्क्सले मानव इतिहास उधिनेर पुँजीवादको विकासमार्फत् समाजवाद हुँदै साम्यवादसम्म पुग्ने गोरेटोको कल्पना गरे । तर, हरारी भविष्यमा त्यसको सम्भावना देख्दैनन् । यस्तो कुरा एक सय वर्षअघि सान्दर्भिक भए पनि भविष्यमा यसको सान्दर्भिकता नरहेको दावी गर्छन् । कम्युनिष्ट विचारधारा र यसको सान्दभिर्कतामाथि उनले कैयौं प्रश्न चिह्न उठाएका छन् । 

‘अहिले कार्ल मार्क्स फर्किए भने बचेखुचेका आफ्ना समर्थकलाई दास क्यापिटलभन्दा इन्टरनेट र मानव जिनबारे पढ्न प्रोत्साहन गर्थे होलान्,’ उनी भन्छन् । यदाकदाबाहेक उनी उदारवादको पक्षमा देखिन्छन् । 

युवल नाेवा हरारी
युवल नाेवा हरारी

प्रविधिको चमत्कार 

ठुलो मानव संशाधनलाई एकै पटक प्रभावित पार्न सक्ने ताकत राख्ने शक्ति प्रविधिमा छ । २१ औँ शताब्दीमा मानिस सैन्य र आर्थिक हिसाबमा उपयोगहीन हुने लेखकको दावी छ । 
‘अहिले दशौं लाख ट्याक्सी, बस र ट्रक ड्राइभरले यातायात प्रणालीमा महत्वपूर्ण हिस्सा ओगट्छन्, यदि उनीहरूको संयुक्त स्वार्थ धर्मराउने अवस्था आयो भने एकत्रित भएर बन्द, हड्ताल हुँदै राजनीतिमा ठुलो भोट तलमाथि पार्न सक्ने हैसियत राख्छन्,’ उनी भन्छन्, ‘तर, यति ठुलो ताकतलाई प्रविधिको एउटै संयन्त्रले खत्तम पार्न सक्छ ।’ 

२१ औँ शताब्दीमा ठुलो संख्यामा कामबिहीन वर्ग पैदा हुने उनको तर्क छ । एक अध्ययनले ४७ प्रतिशत अमेरिकी रोजगारीको बजार जोखिममा रहेको देखाएको तर्क उनी पेस गर्छन् । तर, यति ठुलो जनसंख्या बेकामे हुँदा त्यसबाट सृजना हुन सक्ने जोखिमको आकलनमा भने उनी पर्याप्त बोलेका छैनन् । 

उच्च मानवको काल्पनिकी 

प्रविधिको यति चरम अवस्था उनी उल्लेख गर्छन कि कम्प्युटर प्रविधिले कुनै व्यक्तिका बारेमा व्यक्ति स्वयंले आफूलाई चिन्नेभन्दा बढी हदसम्म व्याख्या गर्न सक्छ । यस्तो प्रविधिले हाम्रो इच्छा, आकांक्षा र आवश्यकताका बारेमा शरीर र मस्तिस्कले भन्दा बढी हदमा निगरानी गर्न सक्ने उनी बताउँछन् । 

‘व्यक्ति स्वयंले भन्दा प्रविधि प्रणालीले बढी राम्रोसँग मान्छेलाई बुझ्ने भएका दिन उदारवादको अन्त्य हुन्छ,’ उनी घोषणा गर्छन् । भविष्यको मानवले आफ्नो शरीरमा वायोमेट्रिक उपकरण, कृत्रिम अंग र नानो रोबर्ट जोड्नेछ, त्यसले हाम्रो स्वास्थ्यको निगरानी गर्नेछ र विभिन्न संक्रमण, रोग र क्षतिबाट व्यक्तिलाई जोगाउनेछ । भविष्यमा हाम्रो शरीरको अंगप्रणाली कम्प्युटर प्रणालीमा जोडिने उनको तर्क छ । 

आफ्नो मूल्य र स्वयंमाथिको अधिकार गुमाउँदै अन्ततः मान्छे उच्च मानवमा स्तरोन्नती हुने उनको तर्क छ । मध्य युगीन सम्भ्रान्तहरू आफ्नो नसामा निलो रगत बग्ने दावी गर्थे, हिन्दु ब्राह्मण अरुभन्दा प्राकृतिक रुपमा महत्वपूर्ण भएको भन्ने ठान्थे, तर यो काल्पनिकी थियो । उनी भन्छन्, ‘भविष्यमा हामी प्रत्यक्षतः देख्नेछौं कि स्तरोन्नती भएको उच्च वर्ग र बाँकी समाजबीचको शारीरिक र बौद्धिक क्षमताको अन्तर ।’ 

मानव शरीर संरचना एउटा कम्प्युटर प्रक्रिया 

डाटाइज्मको अवधारणाले भन्छ, ‘डाटा प्रोसेसिङ’ इश्वर जस्तै हो । यो जहाँसुकै हुनेछ र यसले सबैथोक नियन्त्रण गर्नेछ र मानव पनि यसमा मर्ज हुन निर्देशित छ । भविष्यमा हाम्रो शरीर, हामीले चढ्ने कार, घरको रेफ्रिजिरेटर, पोल्ट्री फर्मको कुखुरा, जंगलका रुख इत्यादी सबै इन्टरनेटको डाटा प्रणालीमा जोडिनेछन् । 
रेफ्रिजिरेटरले ड्रयरमा भएको अण्डको निगरानी गर्नेछ र सप्लायर्सलाई कहिले नयाँ अण्डा आवश्यक पर्ने हो त्यसको जानकारी दिनेछ । सडकका कारले एक अर्कासँग कुराकानी गर्नेछन् भने जंगलका रुखले मौसम र कार्वनडाइअक्साइडको स्थितिको खबर गर्नेछन् । 

अन्ततः मान्छे विशाल कम्प्युटर प्रणालीको एउटा शूक्ष्म चिप्समा सीमित हुने भविष्यवाणी लेखक गर्छन् । ‘द्वि–केन्द्रीय विश्व अवधारणाबाट एकल केन्द्रीय अवधारणामा गएर १८ औँ शताब्दीमा मानवतावादले ईश्वरलाई किनारा लगायो,’ लेखक भन्छन्, ‘२१ औँ शताब्दीमा एकल केन्द्रीय अवधारणाबाट डाटा केन्द्रीय अवधारणामा गएर डाटाइज्मले मान्छेलाई किनारा लगाउँदैछ ।’ 

गुगल र फेसबुकले संयन्त्रले तपाईं कस्तो अनुभव गर्दै हुनुहुन्छ मात्रै थाहा पाउँदैन कि यससहित दशौँ हजार तपाईंका बारेका कुरा पत्ता लगाउँछ, जसको भेउ तपाईं आफूले नपाउने उनको तर्क छ । 

‘परिणामतः तपाईंले आफ्नै अनुभव सुन्न छाड्नुहुन्छ र बाह्य कम्प्युटर प्रविधिमा निर्भर हुन थाल्नुहुनेछ,’ उनी भन्छन् । 

अन्ततः लेखक तीन वटा निश्कर्षमा पुग्छन् । मानव शरीर संरचना एउटा कम्प्युटर प्रक्रिया हो र जीवन ‘डाटा प्रोसेसिङ’ । बौद्धिकता चेतनाबाट छुट्टिँदैछ । र, चेतनाहीन तर उच्च बौद्धिक कम्प्युटर प्रक्रियाले हामी स्वयंले भन्दा बढी हामीलाई बुझ्नेछ । 

आफूले देखेका सम्भावनाहरू पुस्तकमा उल्लेख गरेको भन्दै सोही रुपमा बुझिदिन उनी पाठकलाई अनुरोध गर्छन । ‘नयाँ शिराबाट सोच्न पक्कै पनि सहज छैन,’ लेखक भन्छन्, ‘किनकी हाम्रा विचारधारा र कामहरू प्रायः वर्तमान समयको समय चेत र सामाजिक प्रणालीबाट नियन्त्रित छन् ।’