१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पुथाउत्तरगंगा गाउँपालिकामा यार्सागुम्बा संकलन गर्दै स्थानीय । तस्बिर : नयाँ पत्रिका
२०७६ श्रावण २३ बिहीबार ११:१६:००
Read Time : > 1 मिनेट
प्रदेश

स्थानीय सरकारले उठाउन  सकेन यार्सागुम्बाको राजस्व

Read Time : > 1 मिनेट
२०७६ श्रावण २३ बिहीबार ११:१६:००

स्थानीय व्यवस्थापन समितिको दबाबले स्थानीय सरकारले यार्सागुम्बाबाट राजस्वबाट संकलन गर्न सकेको छैन । पश्चिमी रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाले गत आर्थिक वर्षमा यार्सागुम्बाको राजस्व संकलन गर्न नसकेको जनाएको छ । 

गत वर्ष पुथाउत्तरगंगा गाउँपालिकाले एक करोड आठ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ४७ लाख मात्र राजस्व संकलन भयो । ‘यार्सागुम्बाट एक रुपैयाँ पनि राजस्व संकलन नभएपछि लक्ष्य भेटाउन सकिएन,’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षेत्रीले भने । 

पुथाउत्तरगंगा गाउँपालिकाको विभिन्न ठाउँमा यार्सागुम्बा संकलन हुन्छ । त्यहाँबाट करोडौंको यार्सागुम्बा निर्यात हुन्छ । गाउँपालिकाले भने सोचेअनुसार, राजस्व संकलन गर्न नसकेको जनाएको छ । यार्सागुम्बामा स्थानीय केहि व्यक्तिको बोलबाला भएकाले स्थानीय सरकारले राजस्व संकलन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीको भनाइ छ । ‘हमिीले यार्साबाट सजिलै राजस्व संकलन हुन्छ होला भन्ने सोचेका थियौँ, तर यार्सामा व्यक्ति व्यक्तिको बोलवालाका कारण असफल भयौँ,’ उनले भने । 

पुथाउत्तरगंगाको वडा नं. १, २ र ३ लगायतका वडामा यार्सागुम्बा पाइने गरेको छ । त्यसको व्यवस्थापन स्थानीय समितिले गर्दै आएको छ । हरेक वर्ष समितिले नै यार्सागुम्बा संकलन खुला गर्नेदेखि राजस्व संकलन गर्दै आएको यार्सा व्यवस्थापन समितिका अध्यक्ष अमरधन पुनले बताए । उनका अनुसार समितिले यार्सा संकलन गर्न जाने र संकलित यार्सा खरिद गरेर बिक्री गर्नेहरूबाट राजस्व संकलन गर्दै आएको छ । 

गत वर्ष समितिले यार्सागुम्बा संकलनका लागि जानेहरूबाट प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँका दरले शुल्क लिएको थियो । वडा नं. १ र २ का बासिन्दाका लागि भने प्रतिपरिवार दुई हजार पाँच सय शुल्क तोकेको थियो । त्यस्तै, व्यापारीबाट १८ हजार शुल्क लिएको थियो । सुरुवातदेखि नै समितिले व्यवस्थापन र राजस्व संकलन गर्दै आएको अध्यक्ष पुनले बताए । 

त्यस्तै, यार्साबाट उठेको रकम पनि समितिले नै खर्च गर्दै आएको छ । ‘यार्सा संकलन गर्न जाने सर्वसाधारण र व्यापारीबाट उठेको रकम विद्यालय र गाउँकै विकासमा खर्च गर्दै आएको छौं,’ अध्यक्ष पुनले भने । यो वर्ष गाउँपालिकाभित्रबाट ४० देखि ४५ किलोग्राम यार्सागुम्बा संकलन भएको समितिले जनाएको छ । स्थानीय समितिसँग नसकेपछि गाउँपालिकाले राजस्व संकलन गर्ने सूचीबाटै यार्सागुम्बालाई हटाएको छ । चालू आर्थिक वर्षका लागि गत वर्षको तुलनामा ५० प्रतिशत राजस्वको लक्ष्य घटनाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताए ।