मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २३ बिहीबार ०८:४२:००
Read Time : > 3 मिनेट
सेयर बजार

लाभकर विवाद समाधान हुने अपेक्षाले बढ्यो बजार

Read Time : > 3 मिनेट
२०७६ श्रावण २३ बिहीबार ०८:४२:००

पछिल्ला ४ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से परिसूचक बुधबार बढेर बन्द भएको छ । नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ । यस दिन बजार खुलेको १ घन्टासम्म नेप्से ओरालो लागेको थियो । तर, लाभकर विवादको अन्त्य हुने समाचारले सोपछिको समयमा नेप्से उकालो लाग्न टेवा दिएको हो । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र लाभकर विवादको अन्त्य गर्न निर्देशन दिएको नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले बताए ।

अर्थ मन्त्रालयले दिएको यस्तो आश्वासनले लगानीकर्ताको मनोबल केही बढाएको छ । यसका साथै कम्पनीहरूले प्रकाशित गरिरहेको गत आवको वित्तीय विवरणले पनि यस दिन बजार बढ्न टेवा पुगेको छ । निरन्तर ४ कारोबार दिन बजार ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्य केही सस्तिएको छ । सस्तो मूल्यमा सेयर खरिद गर्न केही अल्पकालीन लगानीकर्ताहरू बजार प्रवेश गर्नाले यस दिन नेप्से सकारात्मक भएको एक ब्रोकरले बताए । 

बजार सारांश : बुधबार नेप्से परिसूचक २ दशमलव ७५ अंक बढेर १ हजार २ सय ४८ दशमलव ४८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ८६ अंक बढेर २ सय ६९ दशमलव ९६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३० अंक बढेको छ । यस दिन १ सय ७२ कम्पनीको ५ हजार ४ सय १३ पटकको कारोबारमा ३६ करोड ८६ लाख ४५ हजार ६ सय ६९ रुपैयाँबराबरको ११ लाख ३८ हजार ६ सय ३९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव ८३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव ८६ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये यस दिन ९५ कम्पनीको सेयरमूल्य बढेको छ भने ५१ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

बुधबार नेप्सेको पिभट बिन्दु १ हजार २ सय ४५ दशमलव ९८ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार २ सय ४१ दशमलव ८९ बिन्दुमा पहिलो टेवा पाउनेछ भने १ हजार २ सय ३५ दशमलव ३० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय ५२ दशमलव ५७ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुलाई तोडेर उकालो लागे १ हजार २ सय ५६ दशमलव ६६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

कृषि विकास बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा कृषि विकास बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ६३ पटकको कारोबारमा २ करोड ४५ लाख ९७ हजार रुपैयाँबराबरको ५६ हजार ५ सय ६० कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । नेपाल क्रेडिट एन्ड कमर्स बैंकको यस दिन १ सय ८० पटकको कारोबारमा २ करोड ३६ लाख ८१ हजार रुपैयाँबराबरको ९७ हजार ८ सय ४४ कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी, इन्फिनिटीको यस दिन २ सय २२ पटक सेयर कारोबार भएको छ । यस दिन नेपाल बैंक लिमिटेड, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्ट्यान्डर्ड चार्टर्ड बैंक, शिवम् सिमेन्ट्स र मुक्तिनाथ विकास बैंकको कारोबार रकम १ करोड नाघेको छ ।

९ समूहको परिसूचक बढ्यो, ३ को घट्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ३ समूहको परिसूचक घटेको छ । कारोबारमा आएको व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ७५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक यस दिन १ दशमलव ४८ प्रतिशत, होटेल समूहको शून्य दशमलव ९६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४४ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ४० प्रतिशत र वित्त समूहको शून्य दशमलव ३३ प्रतिशत बढेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ४५ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३३ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव २६ प्रतिशत बढेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन १ दशमलव ८ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ३५ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ । 

४ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएका ४ कम्पनीहरूको सेयरमूल्यमा सर्किट ब्रेक लागेको छ । यस दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो भने सान्जेन जलविद्यु्त कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो । अघिल्लो आवको तुलनामा गत आवमा उल्लेख्य नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेका कारण गुराँस र नेपाल एग्रोको सेयरमूल्य बढेको हो । त्यसैगरी, दोस्रो बजारमा मंगलबारदेखि कारोबार सुरु गरेको सान्जेन र रसुवागढीमा बिक्रीचाप बढेका कारण सेयरमूल्य घटेको हो । यस दिन स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ८ दशमलव १५ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ दशमलव ४८ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ७ प्रतिशतभन्दा कम रहेको छ ।

 लक्ष्मी भ्यालु फन्डको बुक क्लोज
लक्ष्मी भ्यालु फन्ड १ ले साउन २८ गते बुक क्लोज गर्ने भएको छ । यस योजनाले १५ प्रतिशत लाभांश वितरण प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । साउन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीहरूले सो लाभांश प्राप्त गर्न सक्नेछन् । साउन १५ गते सम्पन्न योजनाको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

सिद्धार्थ इक्विटी फन्डको बुक क्लोज
सिद्धार्थ इक्विटी फन्डले भदौ १ गते बुक क्लोज गर्ने भएको छ । यस योजनाले ११ प्रतिशत लाभांश वितरण प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीहरूले सो लाभांश प्राप्त गर्न सक्नेछन् । साउन २२ गते सम्पन्न योजनाको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।