१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुभाष नेपाली /श्याम शर्मा काठमाडाैं
२०७६ श्रावण २२ बुधबार ०९:१३:००
Read Time : > 7 मिनेट
दृष्टिकोण

न्यायका लागि दलित लेखन

दलित सवाललाई बहुआयामिक कोणबाट उठाउन सबै बुद्धिजीवी गम्भीर भएर लाग्नुपर्ने आवश्यकता पनि छ

Read Time : > 7 मिनेट
सुभाष नेपाली /श्याम शर्मा काठमाडाैं
२०७६ श्रावण २२ बुधबार ०९:१३:००

केही समययता अखबारे लेखनमा दलितका विषयले ध्यानाकर्षण गरिरहेका छन् । नाम चलेका कुनै न कुनै राष्ट्रिय दैनिकमा दिनहुँजसो दलितका विषयमा लेख छापिएको पढ्न पाइन्छ । केही पत्रिकाले दलित विषयमा विशेषांक पनि निकालेका छन् । दलित लेखकका लेखले जसरी स्थान पाइरहेका छन्, त्यसैगरी गैरदलितले पनि उत्तिकै मात्रामा दलितका सवालमा कलम चलाउन थालेका छन् । विशेष गरी नयाँ पिँढीका दलित र गैरदलित लेखक दलितका सवालमा गम्भीर भएको पाइन्छ । 

अखबारमा दलित विषयक लेखको वृद्धिसँगै केही लेखाइमा महत्वपूर्ण दृष्टिकोण अगाडि आएका छन् । जस्तो, दलित सवाललाई छुवाछुत र भेदभावको घेरामा मात्र सीमित नराखेर दलितको भूमि, शिक्षा, स्वास्थ्य, राजनीतिक प्रतिनिधित्व  आदि विषयमा जानकारीमूलक लेख पढ्न पाइन्छ । कैयौँ लेखकले दलित सवालको उठान गर्दा तथ्यको प्रयोग र सूचनाको विश्लेषणात्मक प्रस्तुतिले आफ्नो तर्कलाई बलियो बनाउने गरेका पनि छन् ।

विभेद र असमानताको दोष उच्च भनिने जात वा बाहुनलाई मात्र दिने परम्पराबाट अघि बढेर विषयको सन्दर्भ खोल्दै सामाजिक जटिलता समेटिएका लेख पनि लेखिन थालेका छन् । यो खुसी महसुस गरिरहँदा दलित लेखनमा संख्यात्मक वृद्धिसँगै कति गुणात्मक सुधार भइरहेको छ भनेर सोध्न आवश्यक देखिन्छ । त्यस्तै, दलित हितमा ज्ञान उत्पादनका लागि पत्रपत्रिकाबाहेक अरू लेखनका माध्यममा के–कस्ता बाटा खोलिँदै छन् ? र, दलित समुदायको सामाजिक न्यायका विषयको विविधीकरण के कसरी भइरहेको छ भनेर छलफल गर्ने समय पनि आएको छ । दलित सवाललाई बहुआयामिक कोणबाट उठाउन सबै बुद्धिजीवी गम्भीर भएर लाग्नुपर्ने आवश्यकता पनि छ । 

ज्ञान उत्पादनमा  ऐतिहासिक विरोधाभास 
खासगरी उन्नाइसौँँ शताब्दीयता समाज विकासको बुझाइमा राष्ट्र र राष्ट्रिय एजेन्डा प्रमुख हुँदै गएका छन् । यस सन्दर्भमा शिक्षा, साक्षरता र सीप सिकाइलाई औपचारिक शिक्षाको जिम्मा लगाइएको छ । यसप्रकारको शिक्षा प्रणालीमा ज्ञान र सीपको प्रयोग व्यक्ति, समुदाय र समाजका लागि भन्दा राष्ट्रवाद र मानवीयताका लागि भएको देखिन्छ । अझ  यसभन्दा बढी अर्थतन्त्रका लागि ज्ञानको प्रयोग गरेको देखिन्छ ।

आधुनिक भनिने र विशेषगरी पश्चिमका पुँजीवादी देश र तिनका अनुशरणकर्तामा सरकारी जागिर, उद्योग र व्यापार क्षेत्रमा आर्थिक अवसर पाउन शिक्षाको विकास र प्रयोग भइरहेको छ । सरकारी जागिर र व्यापारका लागि मात्रै सिकिने ज्ञान र सीपले घुमाई–फिराई शक्तिशाली वर्गको पक्षपोषण गर्छ । शिक्षा सधैँजसो शक्तिशाली वर्गको शासन, सुरक्षा र शान्तिको साधन भएर अर्थ–राजनीतिक यथास्थितिलाई कायम गर्ने माध्यम पनि बनेको छ । त्यसैले साक्षरता र शिक्षामा सबैको भलो गर्ने साधन हो भनेर विश्वास गर्नुभन्दा पाउलो फ्रेरे, बेल हुक्स, हेनरी जिरु र आइरा सोरजस्ता दार्शनिकले देखाएझैँ कस्तो शिक्षाले कुन वर्गका लागि कति हित ग-यो भन्नेजस्ता कुरा पनि सोधिन आवश्यक हुन्छ । 

नेपाललगायत दक्षिण एसियाली समाजमा फैलँदो विश्वव्यापीकरणले पैदा गर्ने असमान परिस्थितिलाई अझै मजबुत बनाउने अर्को तत्व  छ । यहाँ जातीय विभेद, जातीय दमन र जातीय शोषणले ज्ञान उत्पादनका संरचनामा वर्चस्व कायम गरेका छन् । जातीय अर्थ–राजनीतिक व्यवस्थाअन्तर्गत दलितले उत्पादन गरेका वस्तु, ज्ञान र सेवाले सामाजिक र शैक्षिक मान्यता पाउँदैनन् ।

दलितले उत्पादन गरेको सामग्रीलाई तिनका हातबाट छुटाएपछि तिनलाई नै छुन दिइँदैन । उल्टै तिनका ज्ञान र सीपको शोषण गर्न मिथकहरूको प्रयोग गरिन्छ । ग्राम्सीले भनेझैँ दलित समुदाय स्वयंलाई आफू सानो भएको कथ्य अपनाउने अवस्था सिर्जना गरी तीमाथि शक्तिशाली वर्गको वर्चस्व कायम गरिन्छ । यस्तो अवस्थामा अर्थ–राजनीतिक शक्ति–सम्बन्धमा कमजोर दलित समुदायको पेसा–व्यवसायमा निहित ज्ञान र सीपको मूल्य अनिश्चित बन्न पुग्छ । तिनको सकारात्मक पहिचानबारे आधुनिक दुनियाँले मनन गर्ने अवसर पनि पाउँदैन । 

आलोचकीय चेतसहितको लेखनको उद्देश्य चलनचल्तीमा हावी भएको वा लिखित दस्ताबेजमा भएको भन्दा पनि दलित समुदायको ज्ञानलाई सही पहिचान, पर्याप्त सम्मान र प्रभावकारी परिचालन गर्ने उपाय देखाउनु हुन सक्छ । लेखनका हिसाबले भाषाशैली, कथ्य, मिथक र दृष्टिकोणलाई ध्यान दिनुपर्छ ।


जातीयताले सिर्जना गरेको यो सामाजिक दुर्बुद्धिमा हाम्रो शिक्षा प्रणाली जिम्मेवार छ । राष्ट्रियकरण गरिएका शैक्षिक सामग्रीले जनतालाई ठूलो संख्यामा गरिबीबाट बाहिर निकाल्ने काम गरे पनि तिनले सामाजिक न्याय र आर्थिक समानतामा प्रायः ध्यान दिएका छैनन् । राष्ट्रिय नीति तथा योजनामा दाबी गरिएजस्तो साक्षरता र शिक्षाको वृद्धिमा सामाजिक सुधार अन्तर्निहित भएको त्यति देखिँदैन ।

शिक्षक पेसामा जीवन समर्पण गरेका थुप्रै व्यक्तिले समेत आफ्नो निजी तथा सार्वजनिक जीवनमा जातीय छुवाछुतको व्यवहारलाई त्याग्न नसक्नु यसको ज्वलन्त उदाहरण हो । ज्ञान उत्पादन र सम्प्रेषणका प्रणालीमा कसको ज्ञानलाई गनिन्छ, मानिन्छ भन्ने सवाल पनि अति नै महत्वपूर्ण  हुन्छ । एकातिर ज्ञान उत्पादनको सामाजिक श्रेणीकरण र शक्ति तथा सम्पत्तिको असमान वितरणले संसारका सबैजसो देशमा विभेद कायम गरेको हुन्छ । यस्तो विभेदकारी समाजमा कसले बोल्दा र लेख्दा समाजले कति अर्थ र महत्व दिन्छ भन्ने कुरा धेरै हदसम्म पूर्वनिर्धारित हुने नै भयो । त्यसमाथि जातीय विभेद पनि भएका समाजमा त्यो समस्या झन् डरलाग्दो भएर जान्छ । भारतीय राजनीतिशास्त्री गोपाल गुरुका अनुसार प्राज्ञिक बहसमा सहभागी हुने दलितका भनाइलाई गम्भीरतासाथ लिइँदैन र उल्टै अपमानित टिप्पणी गरिन्छ । 

त्यसैगरी, जातीय विभेदले प्रभावित सामाजिक संस्था र संरचनाले ज्ञान उत्पादन र वितरणमा असमान परिस्थिति कायम गर्छन् । नेपालका लिखित तथा अलिखित कानुन हेर्ने भने यो छर्लंङ हुन्छ । सन् १८५४ को मुलुकी ऐनले दलित समुदायलाई पढ्न र लेख्नबाट वञ्चित ग-यो । जसले गर्दा दलित समुदायले आफ्नो ज्ञानको दस्ताबेजीकरण र संरक्षण गर्न पाएनन् । कतिसम्म भने दलित समुदायले सदियौँदेखि गर्दै आएको कामको वैज्ञानिकतालाई समाजले बेवास्ता ग-यो भने त्यस्तै काम गरेको आधारमा गेहेन्द्रशमशेरलाई नेपालको पहिलो वैज्ञानिक भनेर प्रचार गरिँदै आएको छ ।

मूलधारको दर्शन र धर्ममा हेर्दा, अहिले पनि दलित समुदायले धर्मग्रन्थ पढ्नुहुँदैन भन्ने धारणा जनमानसमा पाइन्छ । नेपालमा यी धार्मिक दस्ताबेज ज्ञान उत्पादनका महŒवपूर्ण आधार रहँदै आएका छन् । कुनै कुरालाई अथ्र्याउनुप¥यो भने गीता, रामायण वा अन्य ग्रन्थमा यस्तो भनिएको थियो भनेर उद्धरण गर्ने चलन व्याप्त छ । यी ज्ञान उत्पादनका अर्थ–राजनीनिक संरचना कसको स्वामित्व मा छन् ? तिनमा कसको पहुँच छ र छैन भन्ने कुराले ज्ञान उत्पादनको निर्धारण गर्छन् ।

दलित लेखनको अर्थ–राजनीतिक सवाल
अहिलेका दलित विषयक लेखनले पाइरहेको स्थानको अर्थ–राजनीतिक उद्देश्य के हो भन्ने सवाल पनि हाम्रो अगाडि तेर्सिएको छ । केही लेखनले असमान ज्ञान उत्पादनका संरचना र जातीय विभेदलाई पुनरुत्पादन गरिरहेका छन् कि भनेर प्रश्न गर्नु पनि जरुरी छ । जस्तो कि दलित समुदायमा साक्षरता र शिक्षाको कमी छ भनेर लेखिरहँदा ‘क्षेत्री क्ष’ र ‘ऋषि ऋ’ सिकाउने साक्षरताको प्रोत्साहन हुन्छ भने त्यसले अवश्य पनि दलितको उच्च भनिने जातसँग असमान अर्थ–राजनीतिक सम्बन्धको पुनरुत्पादन गर्छ ।

यसप्रकारको शिक्षा र साक्षरताको प्रोत्साहन गर्ने लेखले बजारमुखी र समुदायमा अन्तर्निहित शिक्षाको बीचमा रहेको असमानतालाई बढावा दिन्छ । बजारमुखी साक्षरतालाई आवश्यकताभन्दा बढी  महत्व दिँदा जे. एल्स्पेथ स्टकीले भनेझैँ दलित समुदायमा अन्तर्निहित साक्षरतालाई हिंसा, दमन र विस्थापित गर्न मद्दत गर्छ । 

अहिले पनि कतिपय लेख र रचनामा दलित समुदायलाई पिछडिएको देखाउन लाजमर्दा तथ्यलाई प्राथमिकता दिने, नकारात्मक कुरालाई अतिरञ्जित गर्ने र तथ्य बंग्याएर प्रस्तुत गरिन्छ । जस्तो दलितले पनि बाहुनले जसरी टुप्पी कसेर पढेमा आरक्षणको जरुरी पर्दैन, दलितले पनि सफासुग्घर भएमा कसैले छुवाछुत गर्दैन, दलित समुदायमा जाँड–रक्सीको सेवन नगरे शिक्षामा पहुँच बढ्छ भन्नेजस्ता तर्क । यस्ता लेख र संवादले प्रायः दलित समुदायलाई सूक्ष्म रूपमा नीच, असभ्य र खतरनाक देखाउँछन् । यसप्रकारका लेखन प्रवृत्तिलाई गोपाल गुरुलगायत पूर्वीय विद्वान् एडवर्ड सैदले वर्णन गरेको ‘ओरियन्टालिज्म’को पुनरुत्पादन भनेका छन् । 

आलोचनात्मक चेतको महत्व
दलित लेखनको गुणस्तरमा थप सुधार र सामाजिक परिवर्तनमा प्रभाव बढाउन सामाजिक विरोधाभाषलाई छेडेर दलित समुदायको दृष्टिकोण अघि बढाउने खालका लेखनको विकास हुन आवश्यक छ । यसका लागि दलित अर्थ–राजनीति, सौन्दर्य, विज्ञान, कला र संस्कृतिका बारेमा अध्ययन, अनुसन्धान र लेखनका लागि परम्परागत शिक्षाबाट आफूले हासिल गरेको ज्ञानलाई आलोचनात्मक चेतले हेर्न र विश्लेषण गर्न तयार हुनुपर्छ ।

प्रचलित कथा, मिथक, नीति, कानुन, पाठ्यक्रम, धर्मग्रन्थ, इतिहास, चिना, थर–गोत्रसहितको नागरिकता आदि कुनै पनि दस्ताबेजले दलित समुदायसँग अनुपम अर्थ–राजनीतिक विशेषता छ भन्ने स्विकार्दैन । यो समुदाय सौन्दर्य कला, विज्ञान र संस्कृतिमा धनी छ भन्ने नबुझेजस्तो गर्छन् । अनि उनीहरूसँग इतिहास, वर्तमान र भविष्य रच्ने ज्ञान छ भन्ने कुरालाई लुकाउन खोज्छन् । ती दस्ताबेजले दलितको ज्ञान, सीप र कलाको भण्डारलाई अदृश्य, अपवित्र र नीच बनाएका छन् । अबको दलित ज्ञान–उत्पादनले त्यो अवस्थाको प्रतिरोध गरी ती ज्ञानका स्रोतलाई विकास र प्रवद्र्धन गर्नुपर्छ । 

अहिले प्रचलनमा रहेको शिक्षाले यो चेतको विकासलाई टेवा पु-याउन सक्ने देखिँदैन । ब्राजिलियन चिन्तक पाउलो फ्रेरेले भनेझैँ आलोचनात्मक चेत प्रदान गर्ने शिक्षाविना त्यो सम्भव छैन । फ्रेरेले सुझाएको शिक्षाले व्यक्तिलाई आफ्नो समाजका समस्यालाई बुझ्न र बुझाउन स्वविवेकको प्रयोग गर्न सक्षम बनाउँछ । त्यो शिक्षा बैंकमा मुद्दती गर्ने सम्पत्तिजस्तो हुँदैन । त्यसैले दलित सवालमा लेखनका लागि ऐतिहासिक विरोधाभाषलाई आफ्नो स्वविवेक र फरक कोणबाट बुझ्न पनि आलोचकीय चेत चाहिन्छ ।

आलोचकीय चेतसहितको लेखनको उद्देश्य चलनचल्तीमा हावी भएको वा लिखित दस्ताबेजमा भएको भन्दा पनि दलित समुदायको ज्ञानलाई सही पहिचान, पर्याप्त सम्मान र प्रभावकारी परिचालन गर्ने उपाय देखाउनु हुन सक्छ । लेखनका हिसाबले भाषा र शैली, कथ्य र मिथक र दृष्टिकोणलाई ध्यान दिनुपर्छ । लेखकले आफू वा अरू दलित पात्रलाई अन्याय सहेको अनुभवीका साथै संघर्ष, विद्रोह र सफलताको स्थानमा राखेर लेख्न सक्छन् । दलितका कथा र दृष्टिकोणमा सकारात्मक, प्रेरणादायी र फरक चेतना जगाउने तŒवलाई अग्रस्थान दिन सक्छन् । त्यसै गरेर गैरदलितले लेख्ने लेखमा आलोचकीय चेत भनेको आफूले कस्तो योगदान वा हानि गरेको छु होला भनेर ख्याल गर्नु हुन सक्छ । कतै दलितको सवालमा बोल्दा र लेख्दा आफूले दलितको स्थान ओगटियो कि ? विषयलाई अन्तै मोडिदिइयो कि ? भनेर बुझ्नुपर्छ । 

आलोचनात्मक सोचका लागि कथा भन्नु आफैँमा पर्याप्त छैन । महत्वपूर्ण कुरा हो– कथा कस्तो भनियो भन्ने । आफूले विवरण प्रस्तुत गर्छु, पाठकले मिलाएर वा अथ्र्याएर बुझिदेलान् भन्ने होइन, बरु आफ्नो लेखले विषयको सन्दर्भ, त्यससँग जोडिएका सवाल, आफ्नो सार र तर्कले के काम गर्नुपर्ला भन्ने हो । लेखिदिए पुग्ने होइन, बरु एउटा पक्ष अघि ल्याउँदा अरू कुन पक्ष ओझेलमा प-यो भनेर ख्याल गर्नु हो, अनि दलित को हुन् भनेर बुझ्न लेख कति सहयोगी भयो भन्ने हो ।

दलित समुदायको अर्थ–राजनीति र संस्कृतिलाई प्राथमिकतामा राख्ने हो भने देशको रूपान्तरणमा समेत वैकल्पिक मार्ग देखिन सक्छ । दलित समुदायको श्रमप्रतिको लगाव र तीसँग भएका ज्ञान, विज्ञान, कला र संस्कृति समाज विकासका लागि नयाँ ढोका हुन सक्छन् ।

साहित्य र साहित्यिक लेखनमा बुझ्ने र बुझाउने सवालमा लेखक र पाठक दुवैले झन्डै उत्ति नै भूमिका खेल्छन्, लेखकले पाठक ‘सिर्जना’ गर्ने काम गर्छन् । पाठकले आफूलाई लेखकले दिएको भूमिका निर्वाह गर्छन् । तर, अखबारका पानामा र सामाजिक सञ्जालका स्क्रिनमा यति धेरै अरू कुराले पाठकको ध्यान तानिरहेका हुन्छन् कि लेखकले व्याख्या र विश्लेषणलाई स्पष्टसँग व्यक्त गर्ने, अगाडि नै राख्ने, संयोजन दह्रो बनाउने आदि गर्न जरुरी हुन्छ । दलितको कार्यक्षमतालाई मलजल गर्ने लेखन अघि बढाउन पनि यस्तो स्पष्टताको खाँचो छ । 

दलित ज्ञान उत्पादनको आवश्यकता 
दलित समुदायको आफ्नै रहनसहन र रीतिरिवाज छ । आफ्नै ज्ञान, सीप, कला र उद्यम–व्यवसाय छन् । बहिष्करणमा परेर पनि नेपाली समाजको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान दिएका छन् । यी सबैको खोज र अनुसन्धानयुक्त लेखनले दलित समुदायलाई एउटा महत्वपूर्ण शक्तिका रूपमा चिनाउन मद्दत गर्न सक्छ । दलित समुदायको सवाल पहिचानको निर्माणमा भूमिका खेल्ने खालका लेखहरू लेखिन जरुरी छ ।

दलित समुदायको अर्थ–राजनीति र संस्कृतिको अग्रभूमीकरणले देशको रूपान्तरणमा समेत वैकल्पिक मार्ग देखाउन सक्छ । दलित समुदायको श्रमप्रतिको लगाव र तीसँग भएका ज्ञान, विज्ञान, कला र संस्कृति समाज विकासका लागि नयाँ दरबाजा हुन सक्छन् । यसका लागि पत्रपत्रिकामा आउने अखबारे लेखनमा परिमाण बढ्नुका साथमा लेखनको विविधीकरण र गहिराइ थप्न आवश्यक छ । यस्तै, ज्ञान उत्पादन र सम्प्रेषणका अरू स्थान र संरचना—पाठ्यक्रम, नीति, कानुन, योजना आदिमा लेख, अनुसन्धान, सिद्धान्त, ज्ञानका अरू सामग्री उत्पादन र सम्प्रेषण हुन उत्ति नै जरुरी छ ।

 यस्ता उद्देश्यका लागि केही संस्था स्थापना भएका छन् । ती संस्थाले अभियन्तालाई सामाजिक न्यायका लागि अध्ययन र लेखनका कक्षा र लेखन शिविर सञ्चालन गर्ने, नयाँ लेखकलाई क्षमता विकासका लागि सहयोग जुटाइदिने, दलित र गैरदलित लेखक र विद्वान्लाई एकसाथ ल्याउने, पत्रपत्रिकाका सम्पादकसँग छलफल गर्ने आदि प्रयास गरेका  छन् । यस्ता संगठित प्रयासको निरन्तरताका साथै थप पहल हुन जरुरी छ । यस्ता क्रियाकलापले ज्ञान उत्पादनका विविध साधन र संरचनामा अझै बढी समालोचकीय चेतनायुक्त, गुणस्तरीय, अनुसन्धानमूलक र नयाँ आवाज अघि ल्याउन सक्नुपर्छ । लेखनमा परिमाणात्मक र गुणात्मक वृद्धि ल्याउँदै  तिनको प्रभाव फैलाउन सक्रिय प्रयास पनि उत्तिकै जरुरी छ ।  

(नेपाली अनुसन्धाता र अभियन्ता हुन्, शर्मा स्टेट युनिभर्सिटी अफ न्युयोर्क, स्टोनी ब्रुकमा लेखन तथा तर्कशास्त्रका सह–प्राध्यापक हुन्)