देश र परिस्थिति स्वयं आफैँ सञ्चालित हुँदैनन् । समयको कुर्सीमा बसेका र शक्तिको प्रभाव क्षेत्रमा बसोवास गर्नेहरू पर्दाअगाडि या पछाडि बसेर प्रत्यक्ष या परोक्ष तरिकाले शासन गरिरहेका हुन्छन् । आफ्नै मन पनि कहिले शासक त कुनै वेला शासित बनिरहेको हुन्छ । यस्तै नायकहरूको खलनायक प्रवृत्तिलाई कलात्मक तरिकाले प्रस्तुत गराउन सफल कवि सुनीता खनालको पहिलो कविता कृति ‘ओ नायक’ले नेपाली साहित्य आकाशमा आफ्नो ब्रान्ड कायम राख्न सफल भइसकेकोछ । झट्ट हेर्दा कसैको बहादुरी पक्षलाई बयान गर्दै लेखिएको जस्तो भान हुने यस कवितासंग्रहका जम्मा ३५ कविताहरूमा आफ्नो समयमा कविले देखे भोगेका दुनियाँ र आफैँभित्रका पीडा र भोगाइहरूलाई छताछुल्ल पारेर कविताका रूपमा पाठकहरू सामु पस्केकी छिन् । कवि सुनीता यी कवितामार्फत आफ्नो सहमति या असहमति पोखेर आफ्नो मानसपटलको क्याथर्सिस गर्दै कविताकृतिकै वरिपरि घुमिरहेको भान भइरहन्छ ।
कविता लेखनकै इतिहासलाई बर्डस् आई भ्युले हेर्ने हो भने पनि कविताहरू विभिन्न परिवेशमा लेखिएका थिए भन्ने जानकारी पाइन्छ । कुनै समयमा देवता या मालिक या शासकलाई खुसी पार्न तिनीहरूको गुणगान गाएर भक्तिधाराबाट सुरु भएको कविता बीचबीचमा विद्रोही कविहरूको हातबाट गुज्रेको पाइन्छ । अंग्रेजी कविता ‘क्यान्टरबरी टेल्स’ सुरुकै कविता भए पनि त्यसवेलाका सामाजिक कुरीतिलाई कसेर व्यंग्य गर्न सफल भएको थियो भने जोन मिल्टनले क्रिस्चियन अर्थडक्सीविरुद्ध त्यसै समयमा सैतानलाई आफ्नो कविताको नायक बनाइसकेका थिए ।
तिनै प्रसंगलाई जोडेर हेर्दा कवि सुनीता खनालले आफ्ना कविताहरूमा नायक शब्दलाई खलनायक अर्थ दिँदै आधुनिक नेपाली राजनीतिका म्याकबेथहरूलाई ‘नायक’जस्तो मीठो शब्दले सम्बोधन गरेर उनीहरूको खलनायक प्रवृत्तिमाथि ठाडो प्रश्न राखेकी छिन् ।
प्रिय कार्ल माक्र्स किन झैँ बहुलाउँदैनन् तिम्रा योद्धाहरू आज ?
‘केही नांगा प्रश्नहरू’ शीर्षक दिइएको उक्त कवितामा कविको वितृष्णाले भरिएको निराशावादी नौवटा प्रश्नहरूको जवाफ सोकल्ड शासकहरूलाई सोधे पनि कवि आखिर कविहरूकै कवितामा यी प्रश्नहरूको जवाफ पाउने अभिलाषा राख्छिन् र भन्छिन्–
मानिसका सपनाहरू
कहाँकहाँ कैद छन् ?
प्रिय कवि !
किन बोल्दैन तिम्रो कविता ?
कवि सुनीता कवितामा विद्रोह पोख्छिन् । लाग्छ, धेरै कुराहरू भन्नु छ कविलाई, तर सुनिदिने कोही कतै नभएको रुसी कथाकार अन्तोन चेखबको ‘ग्रिफ’ कथाको नायकजस्तै लाग्ने कवि एकान्तमा आफ्ना वर्तमान समयप्रतिको असहमतिहरूसँग कविता बनेर संग्रहभरि पोखिएकी छिन् ।
कविले मानवको प्रवेशपछि मानवकै कारण पृथ्वी बिस्तारै बस्न योग्य नभएको प्रमाणित गर्छिन् कविता ‘दुइटा पृथ्वी’मा र भन्छिन्–
सबथोक छ तिम्रो देशमा
जहाँ बन्दुक तेस्र्याएपछि फुल्छ फूल
गोली हानेपछि चल्छ हावा
मसिना नानीहरूको ओठमा
पटका झोसेपछि आउँछ गणतन्त्र ।
देशमा पहिचान भएर पनि नभएकाहरूको मौन चित्कार प्रस्ट सुनिन्छ उनको कविता– ‘गर्भिणी थियो मेरो नाम’ र ‘किनाराको आवाज’मा । पहिलो कवितामा ‘तिमी’ शब्द कुनै शासक या नायकलाई सम्बोधन गर्दै कवि भन्छिन्– उनी र उनीजस्ता कैयौँ मानिसहरू देशमा भएर पनि किन छैनन् ? कतै कुनै विपत्ति नभोगीकन कसरी हराउन सक्छ मेरो नाम ? कविले म पात्रको प्रयोग गरेर देशमा विभिन्न कारणले गुमनाम भएका कैयौँ नामहरूको प्रतिनिधित्व गर्दै बहुला नायकअगाडि प्रतिप्रश्न गर्छिन् र सोध्छिन्–
यदि यो देशमा
न्यायको बत्ती बल्छ भने
ए नामका पुजारीहरू हो !
मेरो हराएको नामको पनि हिसाब गर ।
त्यस्तै, अर्को कविता ‘किनाराको आवाज’मा कवि खनाल सहरमा भौतिक सुखसुविधाले अन्धो भएर आफूजस्तै अर्को वर्गलाई मानव नदेख्ने अनि ऊमाथि नजरअन्दाज गरेर हिँड्ने वर्गलाई मानवतावादको पाठ सिकाउँछिन् । उक्त कविता पढ्दै गर्दा पाठकले आफूलाई थुप्रै डाइमेन्सनमा पाउन सक्छ । ऊ युरोपियन रेनेसाँ ह्युमानिजमदेखि वर्तमान समयसम्मका कैयौँ कविताका पानाहरूको यात्रा गर्न सक्छ । ऊ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता सम्झेर
टोलाउन सक्छ ।
देशमा बढ्दै गएको अशान्ति र अव्यवस्थाप्रति उस्तै तिखो व्यंग्य गर्छिन् कवि आफ्नो कविता ‘रित्तो बगैँचा’मा । बगैँचा करिबकरिब रित्तो भइसकेको आभास हुन्छ कविलाई । बगैँचामा फूलहरू अस्तव्यस्त भएका र फूलहरू अब फूलजस्तो व्यवहार गर्न असमर्थ भएको बताउँछिन् । यो कविता बहुअर्थी देखिन्छ । बगैँचा सिंगो देश र फूलहरू देशका विभिन्न जातजातिका मानिसहरू, जो विभिन्न बहानामा परदेसिँदै छन् हरेक दिन । या फूलहरू हरपल बलात्कृत भइरहेका नारीहरू र तिनीहरूले पाउन नसकेको न्याय या बगैँचाका फूलहरू, जनता र मालीहरू नायक भएर आफ्नो सही भूमिकाबाट विचलित हुँदै गरेको अवस्था देखाउन खोजेजस्तो भान पनि हुन्छ कवितामा ।
कवि सुनिता खनालका कविताहरू जीवन्त छन् । हरेक कवितामा कविताका पर्सोनाहरू आ–आफ्ना कथाहरू लिएर क्रमैसँग उभिएका छन् । उनीहरू आफ्ना कथाहरू सुनाउन आतुर देखिन्छन् ।
समसामयिक विषयहरूलाई बिम्ब बनाएर लेखिएका उनका केही कविताहरू प्रजातन्त्रको प्राप्तिपछि पनि देशमा कायम हुन नसकेको अमनचैन र शान्ति व्यवस्थाको व्यंग्य गर्न जुटेका छन् । ‘ऐनाको देश’ कविता पढ्दै गर्दा कविताको अन्तिम दुई स्टान्जाहरूले देश अझै सामाजिक, आर्थिक र राजनीतिक पक्षमा बलियो हुन नसकेको र स्वाभिमानी हुन नसकिरहँदा छिमेकीबाट बारम्बार भोग्नुपरेको पीडाको गन्ध आउँछ–
गणतन्त्रको रूखमा चढेर
बाँसुरी फुकिरहेको छ कृष्ण
र त्यही रूखको हाँगामा
फरफराईरहेको छ आमाको फरिया !
यो ऐनाको देशमा
को हान्दै छ यसरी ढुंगा?
पहिलो अध्याय ‘तरबारको पर्खाल’अन्र्तगतका कविताहरू अलिक धेरै विद्रोही नै लाग्छन्, अन्य अध्यायका तुलनामा । दोस्रो अध्यायअन्तर्गत कविले संग्रहमा प्रेमसँग सम्बन्ध राख्ने कविताहरू राखेकी छिन् भने अध्यायको नाम संग्रहकै शीर्षक अर्थात् ‘ओ नायक’ छ । यहाँनेर कतै कविले पहिलो अध्यायलाई ‘ओ नायक’ शीर्षक दिएको भए उक्त अध्यायमाथि झनै न्याय हुने महसुस पाठकले गर्न सक्ने देखिन्छ ।
दोस्रो अध्यायकै पहिलो कविताको शीर्षक ‘पीडा उत्सव’ आफैँमा काव्यिक देखिन्छ । अंग्रेजी रोमान्टिक कवि जोन किट्सको ‘प्लिजर इन पेन’ सम्झाउने उक्त शीर्षकमाथि लेखिएको कवितामा बुद्ध धर्मको मिथकलाई विमिथकीकरण गर्दै देवदत्तको प्रसंग राखेर उसको वाण प्रहारपछि आएको अपार आनन्दको वर्णन पढ्दै गर्दा पाठकको मनमस्तिष्कमा फ्रायडको मनोविज्ञान सम्झना आउँछ । कविले यस प्रेम कवितामा यौन मनोविज्ञानको प्रसंग उठाएको भान हुन्छ । उनी भन्छिन्–
प्रिय देवदत्त
मलाई किन मन पर्यो तिम्रो क्रूर प्रहार
र थापेँ तीर आफ्नै छातीमा ?
त्यसैगरी यसै कविताको अन्त्यतिर कवि भन्छिन्–
प्रिय देवदत्त
तिमीले त्यसरी त्यो तीर थुतेको रात नै त हो
मेरा सपनाहरू हरेक रातका लागि टुहुरा भए
र बिछोडिएँ आफ्नै छायासित ।
कवि सुनीतामा भ्रममा हुने आनन्द (निगेटिभ क्यापाबिलिटी)को प्रभाव कविताका उक्त माथिका चार हरफबाट प्रस्टिन्छ । चार अध्यायमा विभाजन गरिएका कवि खनालको कविता संग्रहको तेस्रो अध्याय ‘मेलडी ब्लुज’ हो । यस अध्यायको पहिलो कवितामा प्रशस्तै बिम्बहरूको प्रयोग पाइन्छ । यतिविघ्न बिम्बको प्रयोगले कविता सजिलै बुझिने खालको नभएर अलि धेरै नै कविताको तत्वहरुको जानकारले मात्र बुझ्न सक्छन् झैं लाग्छ । कविता लेख्दै जाँदा कविमा आएको पोयटिक म्याचुरिटिको एउटा उदाहरण पनि हो यो कविता ।
घामलाई नारी पात्रको बिम्ब बनाएर लेखिएको यो कविता कि त कविको कविता लेखनमा विद्रोही स्वर हुनुपर्छ कि बिम्ब भ्रम । छोरीहरू घरदेखि कामसम्म र कामदेखि घरसम्म आउँदा जाँदा समाजमा देखिएका विकृतिलाई औँल्याइएको यस अध्यायका कविताहरू साँच्चै एक खालका ब्लुज हुन् । अन्तिम अध्याय ‘फलामका पर्दाहरू’मा कविले कवितामा अटाउन नसकेका आफ्नै कथा र व्यथा समेटेझैँ लाग्छ । आमाको दुःखको कथा, आमाको मुक्तिको मार्ग आमाको मात्र नभएर सम्पूर्ण आमाहरूको व्यथाको कथा हो । कवि सुनीता खनालका कविताहरू सरल, सहजै बुझिने खालका र सबैखालका पाठकहरूका लागि पठनयोग्य छन् । कुनै–कुनै कविताहरूमा बिम्बको घुसपैठले कविकै काव्यिक गुरुको प्रभाव पनि देखिन्छ ।