१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ख्याम भुजेल
२०७५ पौष २१ शनिबार ०६:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आह्वान

इलाममा आयोजित लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने– निजी क्षेत्रको लगानी डुब्न दिन्नँ

Read Time : > 1 मिनेट
ख्याम भुजेल
२०७५ पौष २१ शनिबार ०६:१९:००

प्रधानमन्त्री केपी ओलीले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । इलाममा शुक्रबार लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई विश्वस्त हुन आग्रह गरेका हुन् ।  नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चण्डीराज ढकालले जग्गाको स्वामित्व व्यक्तिको हुने या नहुने र शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी के हुने भनेर प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ढकालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अब यो चिन्ता छाड्दिऔँ, प्रणाली फरक होला, त्यसले लगानी गर्न बाधा हुँदैन ।’

प्रधानमन्त्रीले चीन, अमेरिकालगायत देशमा फरक प्रणाली भए पनि लगानीमा कुनै बाधा नपरेको चर्चा गर्दै थपे, ‘हाम्रोमा जग्गा व्यक्तिको निजी सम्पत्ति हुने चलन छ, त्यसले पनि लगानीमा कुनै बाधा गर्दैन ।’ निजी क्षेत्रले शिक्षामा गरेको लगानी पनि डुब्न नदिने प्रधामन्त्रीले प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले इलाममा लगानीका थुप्रै सम्भावना रहेको धारणा व्यक्त गरे । ‘पहिले गयो इलाम, खायो सिलाम, आउने वेला गुन्टा लिलाम भन्ने चलन थियो । त्यो पुरानो जमानाको कुरा भयो,’ उनले थपे, ‘अब त्यस्तो छैन, गयो इलाम खायो बम्बइसन, लगानी ग-यो कमायो धन ।’
 विकासको चाहना पूरा हुन्छ
प्रधानमन्त्री ओलीले सरकार जनताको विकासको चाहनालाई पूरा गर्दै अगाडि बढिरहेको दाबी गरे । समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सरकार अहोरात्र खटिरहेको बताउँदै प्रधानमन्त्री ओलीले चाँडै विकासले कोल्टो फेर्ने उल्लेख गरे । बाह्य लगानी भित्र्याउने  र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले इलाममा पहिलोपटक लगानी सम्मेलन सुरु भएको हो । लगानीका लागि विभिन्न ६ वटा क्षेत्रको पहिचान गरिएको छ । लगानी गर्न आह्वान गर्दै इलाम नगरपालिकाले लगानी सम्मेलन गरेको हो । जिल्लाका कृषि, शिक्षा, स्वास्थ्य, डेरी, जडीबुटी र पर्यटनलाई लगानीका क्षेत्र पहिचान गरिएको हो । यी क्षेत्रमा लगानी गर्दा विभिन्न सहुलियत प्रदान गर्ने नगरपालिकाले निर्णय गरिसकेको छ । इलाम सदरमुकाम स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा गरिएको लगानी सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको छ । 
 प्रधानमन्त्रीको  नागरिक अभिनन्दन
लगानी सम्मेलन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको छ । राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै इलाम नगरपालिकाले नगरवासीकातर्फबाट प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेको हो । उनलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले अभिनन्दन–पत्र र मायाको चिनो प्रदान गरे । लगानी सम्मेलन उद्घाटनका अवसरमा नगरपालिकाले विभिन्न सात विधाका उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरेको छ । वातावरण पुरस्कारबाट इलाम ५ नम्बर वडा कार्यालय नगद एक लाखसहित पुरस्कृत भयो ।

कांग्रेसले गर्‍यो बहिष्कार
प्रधानमन्त्री ओलीलाई नगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रम भने कांग्रेसले बहिष्कार गरेको छ । कांग्रेस लगानी सम्मेलनमा समेत सहभागी भएन । मुलुकको खस्कँदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टाचार, फितलो कूटनीति, असन्तुलित परराष्ट्रनीति, धर्मप्रचार संस्थासँगको अप्राकृतिक साँठगाँठका कारण असफलतातर्फ लम्किएको र आफ्नै पार्टीभित्र चरम विरोधका साथै विवादमा मुछिएका सरकार प्रमुखलाई नागरिक अभिनन्दन गर्न नहुने भन्दै कांग्रेसले बहिष्कार गरेको हो ।