१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण २० सोमबार ०६:५५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

भारत र अमेरिकाद्वारा नेपाल प्रहरीको तालिममा कटौती

आफ्नै देशमा बोलाएर धेरै तालिम दिनेमा चीन पहिलो

Read Time : > 2 मिनेट
२०७६ श्रावण २० सोमबार ०६:५५:००

नेपाल प्रहरीलाई आफ्नै देश बोलाएर तालिम दिने सहयोगमा भारत र अमेरिकाले कटौती गरेका छन् । भारत र अमेरिकामा तालिम कोटा घटेपछि नेपाल प्रहरीका अधिकारीलाई सबैभन्दा धेरै तालिम दिनेमा चीन पहिलो स्थानमा परेको छ । 

आर्थिक वर्ष ०७५/७६ मा दुई सय ६७ प्रहरी वैदेशिक तालिम तथा सेमिनारमा गएका थिए । जसमध्ये सबैभन्दा धेरै ७८ जना चीन गएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । यस अवधिमा भारतमा ७५ र अमेरिकामा ६ जना गएका थिए । 

०७४/७५ मा सबैभन्दा धेरै अर्थात् ९९ प्रहरी भारतमा विभिन्न तालिममा सहभागी थिए । त्यस्तै, चीनमा ८२ र अमेरिकामा २६ जना गएका थिए । भारत र अमेरिका जानेको संख्या पछिल्लो वर्ष घटेको हो । चीन जानेको संख्या पनि चारजना घटेको छ । तर, सबैभन्दा धेरै जाने देशमा चीन नै परेको छ । 

केही वर्षयता चीनले नेपालको सुरक्षा निकायलाई विभिन्न किसिमका सहयोग बढाउँदै लगेको छ । जसमध्ये एउटा तालिम पनि हो । स्वतन्त्र तिब्बतको गतिविधि नियन्त्रणलगायत अपेक्षासहित चीनले तालिमसहितका सहयोग बढाएको प्रहरी अधिकारी बताउँछन् । हिमाली जिल्लामा प्रहरी कार्यालय बनाइदिनेदेखि प्रहरीको सञ्चार सेटसम्ममा चीनको सहयोग छ ।
 
समग्रमै घट्यो वैदेशिक तालिममा जानेको संख्या 
वैदेशिक तालिममा जाने नेपाल प्रहरीको संख्या समग्रमा घटेको छ । ०७४/७५ मा तीन सय ४९ प्रहरी वैदेशिक तालिममा गएकोमा ०७५/७६ मा दुई सय ६७ मात्र गएका छन् । 

त्यस्तै, इटालीमा पनि तालिमका लागि जानेको संख्या घटेको छ । अघिल्लो वर्ष २४ प्रहरी अधिकारी गएकोमा गत वर्ष तीनजना मात्र गएका छन् । वैदेशिक तालिममा चीन र भारतपछि गत वर्ष सिंगापुर धेरै गएका छन् । जहाँ १३ जना प्रहरी अधिकारी गएका छन् । त्यस्तै थाइल्यान्डमा १०, मलेसियामा सात, भियतनाममा ६ तथा जापान, काजकिस्तान, इन्डोनेसिया र फ्रान्समा पाँच–पाँचजना गएका छन् । गत वर्ष विभिन्न ४० देशमा प्रहरी अधिकारीहरू पुगेका छन् । 

इटाली, अस्ट्रिया, ब्राजिल, क्यानडा, कतार, युगान्डा, कोरिया, युएई, न्युजिल्यान्ड, बेलायत, दक्षिण अफ्रिका, फिलिपिन्स, श्रीलंका, स्पेन, जोर्डन, जर्मनी, माल्दिभ्स, उज्वेकिस्तान, बंगलादेश, हङकङ, अजरबैजान, ताजकिस्तान, कम्बोडिया, अस्ट्रेलिया र लाओसमा समेत प्रहरीहरू तालिम तथा सेमिनारका लागि पुगेका छन् । जसमा कतिपय संयुक्त राष्ट्रसंघले आयोजना गरेका तालिमसमेत छन् । 

भारतमा धेरैजसो आतंकवादसम्बन्धी तालिममा नेपाल प्रहरीलाई बोलाउने गरिएको छ । नयाँदिल्लीस्थित नेसनल इन्टेलिजेन्स एकेडेमीमा धेरै प्रहरी तालिममा गएका छन् । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल विदेश तालिममा अहिले पनि छनोट भएर जाने क्रम चलिरहेकाले विगतका वर्षमा खासै संख्या नघटेको बताउँछन् । 

  • समग्रमै घट्यो वैदेशिक तालिममा जानेको संख्या 
  • वैदेशिक तालिममा हाकिमहरू मात्र, महानिरीक्षकनिकटलाई अवसर
  • एफबिआई तालिम नै गुम्यो 

वैदेशिक तालिममा हाकिमहरू मात्र, महानिरीक्षकनिकटलाई अवसर
फिल्डमा दुःख गर्नेमा धेरै इन्स्पेक्टरभन्दा तल्लो तहका हुन्छन् । तर, विदेश तालिममा भने उनीहरूले कमै अवसर पाउँछन् । हाकिमहरूले नै धेरै अवसर पाउने गरेका छन् । 

वैदेशिक तालिममा जानेमा इन्स्पेक्टर, डिएसपी र एसपीको संख्या धेरै छ । गत वर्ष ६१ इन्स्पेक्टर, ५५ डिएसपी र ४८ एसपी विदेश तालिममा गएका छन् । त्यस्तै, १८ एसएसपी, २० डिआइजी र दुई एआइजी पनि विदेश तालिममा गएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत वर्ष पाँचपटक वैदेशिक सेमिनार तथा सम्मेलनमा भाग लिएका छन् । 

तल्लो तहका प्रहरीको दरबन्दी ८० प्रतिशतभन्दा धेरै भए पनि विदेश तालिममा उनीहरूको सहभागिता निकै न्यून छ । गत वर्ष ३३ सइ, १६ असइ, एक हवल्दार र आठ सिपाही विदेश गएका छन् । आर्थिक वर्ष ०७४÷७५ मा तीन सय ४९ जना विदेश तालिममा जाँदा हवल्दार र सिपाहीबाट एकजना मात्र गएका थिए । पछिल्लो वर्ष विदेश तालिममा परेका सात सिपाही भारतको हरिद्वारमा योग सिक्न गएका थिए । 

वैदेशिक तालिममा धेरैजसो अधिकृत तहका प्रहरीलाई भनेर तोकेर आउने भएकाले सिनियर तहकै धेरै हुने गरेको प्रहरी प्रवक्ता पोखरेल बताउँछन् । उच्च अधिकारीमा तालिमको प्रकृतिअनुसार छनोट हुने गरेको छैन । 

प्रायः प्रहरी महानिरीक्षकनिकट व्यक्तिहरू नै विदेश तालिममा छनोट हुने गरेका छन् । जसकारण अन्तर्राष्ट्रियस्तरका तालिम प्रभावकारी हुने गरेका छैनन्, घुमघाममै सीमित हुने गरेको छ । तीन सातापछि चार प्रहरी अधिकारी वन्यजन्तुसम्बन्धी तालिमका लागि अमेरिका जाँदै छन् । जसमा वन्यजन्तुसम्बन्धी अपराधको क्षेत्रमा काम गरेका कुनै अधिकारी छैनन् । अझ सिआइबी, अपराध महाशाखाजस्ता वन्यजन्तुसम्बन्धी अपराध हेर्ने निकायबाट समेत छनोट गरिएको छैन । 

केही वर्षअघि एक अधिकृत म्याच फिक्सिङसम्बन्धी तालिममा मलेसिया गएका थिए । तर, अहिलेसम्म उनको पोस्टिङ अनुसन्धान गर्ने कार्यालयमा भएको छैन । फिल्डमा दुःख गर्नेभन्दा प्रहरी मुख्यालयमै बस्नेहरू विदेश तालिममा धेरै छनोट हुने गरेका छन् । अझ प्रहरी महानिरीक्षकको सचिवालयमा काम गर्ने सबैजसो अधिकारी विदेश तालिममा छनोट हुने गर्छन् । प्रवक्ता पोखरेल विदेश तालिमसम्बन्धी निर्देशिका बनाएर कार्यान्वयन गरिएको बताउँछन् । 

एफबिआई तालिम नै गुम्यो 
अमेरिका सरकारले दिँदै आएको एफबिआई तालिमको कोटा नै गुमेको छ । अमेरिकी सरकारले पठाएको मापदण्डअनुसार उम्मेदवार सिफारिस नहुँदा कोटा गुमेको स्रोत बताउँछ । 

प्रहरी महानिरीक्षक खनालले मादपण्डभन्दा आफूनिकट अधिकारीको नाम सो तालिमका लागि पठाएपछि दूतावासले अस्वीकार गरेको हो । तालिमको प्रस्ताव आउँदै निश्चित व्यक्तिलाई तोकेर आएकाले सो तालिममा समस्या भएको प्रहरी प्रवक्ता पोखरेलको दाबी छ । एफबिआई तालिमलाई नेपाल प्रहरीको सबैभन्दा आकर्षक तालिम मानिन्छ । वर्षौँदेखि सो तालिममा नेपाल प्रहरीबाट सहभागिता हुँदै आएको थियो ।