मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे
२०७५ पौष १ आइतबार ०६:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेकपा स्थायी समितिमा अध्यक्षद्वयको प्रस्ताव, वामदेवको पूरक प्रस्ताव

Read Time : > 2 मिनेट
शुरोजंग पाण्डे
२०७५ पौष १ आइतबार ०६:२७:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा नेता वामदेव गौतमले पूरक प्रस्ताव पेस गरेका छन् । ६ महिनापछि शनिबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डले संयुक्त प्रतिवेदन प्रस्तुत गरेका थिए । तर, सो प्रतिवेदन अपूर्ण भएको भन्दै नेता गौतमले १६ पेजको पूरक प्रस्ताव ल्याएका हुन् । 

अध्यक्षले २२ पेज लामो राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ९ महिनामा समस्याहरू पहिचान भएको भन्दै सरकारको बचाउ गरेका छन् । तर, नेता गौतमले सरकारका गतिविधि परिवर्तन र प्रगतिको विरुद्धमा भएको आरोप लगाएका छन् । अध्यक्षले पार्टी एकता छिटो सम्पन्न गरेर केन्द्रदेखि वडा तहसम्म बृहत् एकता सन्देश अभियान सञ्चालन गर्ने एजेन्डा समेटेका छन् । गौतमले पार्टीका कैयौँ गलत निर्णयले पार्टी कार्यकर्तालाई निराश बनाएको तर्क गरेका छन् । 

अध्यक्षका तर्फबाट प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आगामी कार्यभारका रूपमा केन्द्रदेखि सात प्रदेश, ७७ जिल्लाका वडा तहसम्म बृहत् भेला, प्रशिक्षण र सभाको प्रस्ताव गरिएको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बताए । पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनको ९ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरूको भूमिका, सचिवालयका निर्णयहरूको अनुमोदन, पार्टी व्यवस्थापन, आगामी कार्यभारसहितका आठ उपशीर्षक छलफलका लागि प्रस्तावित छ । आइतबारसम्म अध्ययनका लागि समय दिइएकाले सोमबार बस्ने बैठकमा प्रतिवेदनमा केन्द्रित रहेर छलफल हुने स्थायी समिति सदस्य बेदुराम भुसालले बताए । 

जे गरे पनि विरुद्धमा प्रचार भयो :  ओली 
सरकारले छोटो अवधिमा पनि असाधारण काम गरिरहेको छ । तथ्यांकले नै त्यस्तो देखाउँछ । तर, जति राम्रा काम गरे पनि बाहिर लगातार सरकारको विरोधमा प्रचार भइरहेको छ । सरकारविरुद्ध गलत प्रचार गरेर आक्रमण भइरहेको छ । अहिले वर्गसंघर्ष नै प्रचारको मुद्दामा केन्द्रित छ । सरकारलाई कसरी असफल पार्न सकिन्छ, के गर्दा सरकारविरोधी जनमत बन्छ, विरोधीहरूले त्यही काम गरिरहेका छन् । 

सरकारको समीक्षा हुन नसकेकोमा दुःख लागेको छ : प्रचण्ड 
अघिल्लो बैठकमा सरकारको कामको समीक्षाका लागि स्थायी समितिको अलग्गै बैठक बस्ने भनियो । तर, पार्टी एकतालगायतका अरू कामले समीक्षा गर्न सकिएन । सरकारको कामको अहिलेसम्म समीक्षा हुन नसकेकोमा नैतिक रूपमा मलाई दुःख लागेको छ । 

वामदेवको मत : सरकार जनताबाट विस्थापित भइरहेको छ
-मन्त्री र पार्टीका ठूला नेता दुईतिहाइ बहुमतका साथ यो सरकार अगाडि बढेको प्रचार गरिरहेका छन् । नेपाल लोकतान्त्रिक इतिहासमा सबैभन्दा शक्तिशाली संस्थाका रूपमा रहेको वर्तमान सरकार भने दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट विस्थापित भइरहेको छ ।

-पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरे पनि कार्यकर्ताहरू न त अरिंगाल बन्न सकेका छन्, न मौरी बनेर मह दिन सकेका छन् । निर्वाचन र त्यसअघिको पार्टीको लोकप्रियता निरन्तर घटेको अवस्थाबारे कार्यकर्ताहरू चिन्ताग्रस्त देखिन्छन् । ऊर्जा समाप्त भएर उत्साहहीन, चिन्तित र मौनधारणको अवस्थामा छन् । दुईतिहाइ समर्थन प्राप्त सरकारको पक्षमा न संसद्मा, न सडकमा, न छापामा, न भाषणमा, न बोलीमा, कतै पनि समाजका जिम्मेवार व्यक्ति तथा जनताले पक्षपोषण गरेको देखिँदैन । यस्तो अवस्था कसरी सिर्जना भयो ? सरकारमा गएका र बाहिर रहेका पार्टीका नेताहरूले स्पष्ट जवाफ दिने आवश्यकता ठानेका छैनन् । सरकारका कमजोरीहरूमाथि पर्दा लगाउने कोसिस भने गरिरहेका छन् ।

-प्रधानमन्त्री योजनामै नपरेका विषयहरूलाई चामत्कारिक रूपमा प्रस्तुत गर्नुहुन्छ र मन्त्रीहरू पनि त्यसकै अनुसरण गरिरहेका छन् । मन्त्रालयका सचिवहरू मन्त्रीहरूको होइन, प्रधानमन्त्री कार्यालयको निर्देशनमा काम गर्छन् र दैनिक प्रतिवेदन पनि उतै पठाउँछन् । मन्त्रालयहरूले गर्ने निर्णय र नियुक्तिहरू प्रधानमन्त्रीको निर्देशनबमोजिम गरिन्छन् । यस्तो अवस्थामा मन्त्रीहरू मान खाने व्यक्ति बन्न पुगेका छन् । अहिले त लगानी बोर्ड तथा मन्त्रालयहरूले गर्ने विकास निर्माणका ठूला कामहरू पनि प्रधानमन्त्री कार्यालयअन्तर्गत लगिने भएका छन् ।

-नेपाली इतिहासमा पहिलो स्थिर र शक्तिशाली सरकारको यही गति र अवस्था रह्यो भने अब हुने आमनिर्वाचनमा सरकारले आफूलाई मात्र होइन, इतिहासको पहिलो शक्तिशाली पार्टी नेकपालाई समेत गम्भीर धक्का लगाउने पक्का देखिन्छ ।