मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण १८ शनिबार ०७:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

६६ प्रतिशत आमाले  मात्रै गराउँछन् स्तनपान

नवजात शिशुको स्वास्थ्यमा गम्भीर लापरबाही

Read Time : > 1 मिनेट
२०७६ श्रावण १८ शनिबार ०७:३८:००

दूध नआउने बहानामा बट्टाको दूध र पिठोको प्रयोग बढ्दै

आमाको दूधको नवजात शिशुलाई अमृतसरह मानिन्छ । त्यसैले, बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । तर, सरकारी तथ्यांकअनुसार ६६ प्रतिशत आमाहरूले मात्रै ६ महिनाभन्दा कम उमेरका शिशुहरूलाई स्तनपान गराउने गरेका छन् ।

पछिल्लो समय नवजात शिशुलाई स्तनपान नगराई अन्य खानेकुरा खुवाउने क्रम बढ्दै गएको चिकित्सकको भनाइ छ । जसका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ । आमाको दूधले बच्चा नअघाउने नाममा दूधको विकल्पमा अन्य खानेकुरामा जोड दिने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीका अनुसार ६ महिनाभन्दा कम उमेरका ३३ प्रतिशत शिशुहरूलाई आमाको दूध मात्रै खुवाएको छैन । ‘यो संख्या सहरी क्षेत्रमा बढी देखिएको छ,’ उनले भने, ‘६ महिनासम्म त आमाको दूधको विकल्प सोच्नसमेत हुँदैन ।’ 

समय अभाव देखाएर बट्टाको दूध खुवाइँदै
परिवार कल्याण महाशाखाका अनुसार सहरी क्षेत्रमा कामकाजी महिलाले समय  अभावका कारण बच्चालाई स्तनपानभन्दा बट्टाको दूधमा बढी जोड दिने गरेका छन् । ‘आमाको दूध जति चुसायो त्यति आउने हो, तर, अहिलेका महिलाहरू पहिलो बच्चा जन्माउनासाथ धैर्यता गुमाउँछन् । एक महिनादेखि नै लिटो खुवाइदिने गरेको धेरै पाइन्छ, जुन एकदमै हानिकारक हो,’ डा. तिंकरीले भने ।

सरकारी तथ्यांकअनुसार जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ भने ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ । यस्तै, ८८ प्रतिशतले दुई वर्षसम्म स्तनपान गराउने गरेको सरकारी तथ्यांक छ । यसलाई सन् २०३० सालसम्ममा ९० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । 

नियमित स्तनपानले दुवैलाई फाइदा
नियमित स्तनपानले शिशु र आमा दुवैलाई फाइदा पुग्छ । सामान्य स्वास्थ्य र वृद्धि तथा विकास गर्दछ भने दूधमा रहने रोग निरोधक तत्वले नवजात शिशुको रोगसँग लड्न सक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । आमाको दूध नवजात शिशुलाई चाहिने सम्पूर्ण आहार तथा सबैभन्दा सुरक्षित पानीको स्रोतसमेत भएको चिकित्सकहरूको भनाइ छ । स्तनपानले शिशुलाई कष्ट र तनावसँग मुक्त गराई आराम प्रदान गर्दछ । स्तनपानले गर्भ निरोधकको रूपमा आमालाई मद्दत गर्दछ भने शिशु जन्मनासाथ छातीमा टाँसेर राख्दा यसले पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्दछ, जसले गर्दा सालनाल निक्लन र रक्तश्राव बन्द गर्न मद्दत गर्दछ  । यस्तै, स्तनपान गराउँदा निस्कने हर्मोनले आमाको तनाव कम गरी शिशु स्याहार गर्न सघाउ पुर्‍याउने चिकित्सकको भनाइ छ । 

चिकित्सकका सुझाब
चिकित्सकहरूले जन्मनेबित्तिकै नवजात शिशुलाई आमाको छातीमा टाँसेर राख्न चिकित्सकले सुझाब दिएका छन् । यस्तै, जन्मेको एक घन्टाभित्र स्तनपान गराउनुपर्ने, शिशु ६ महिना पूरा नभएसम्म स्तनपान गराउनुपर्ने तथा अन्य खाना वा तरल पदार्थ दिन नहुने सुझाब चिकित्सकहरूको छ । यस्तै, ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा दिन सकिने र दुई वर्ष वा सोभन्दा बढी समयसम्म शिशुलाई स्तनपान भने गराइराख्नुपर्ने चिकित्सक बताउँछन् । 

विश्व स्तनपान सप्ताह मनाइँदै
विश्व स्तनपान सप्ताह हरेक वर्ष  १ देखि ७ अगस्टसम्म सन् १९९२ देखि मनाउँदै आइएको छ । एक हप्तासम्म चल्ने सप्ताह कार्यक्रम बिहीबारबाट सुरु भएको छ । यस अवधिमा  स्वास्थ्य हेरचाह प्रणाली, महिला तथा कार्यस्थल, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बजारीकरणसम्बन्धी अन्तर्राष्ट्रिय नियम, सामुदायिक सहयोग, वातावरण, अर्थशास्त्र, विज्ञान, शिक्षा तथा मानवअधिकारलगायत विषयमा केन्द्रित रही नाराहरू बनाउने गरेको पाइन्छ । सन् २०१६ देखि यस सप्ताहले दिगो विकासका लक्ष्यहरूसँग समाहित भई कार्यक्रमहरू ल्याएको डा. तिंकरी बताउँछन् । सन् २०१८ मा विश्व स्वास्थ्य सम्मेलनले यस सप्ताहलाई स्तनपानको प्रवर्द्धनको महत्वपूर्ण रणनीति भनेर संकल्प प्रस्ताव पारित गरेको छ ।