Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १३ सोमबार १५:११:००
Read Time : > 1 मिनेट
समाचार

संसदीय समितिको निष्कर्ष : भारतीय बाँधका कारण मधेस डुबान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १३ सोमबार १५:११:००

संसदीय समितिले छिमेकी मुलुक भारतबाट एकतर्फी रुपमा निर्मित बाँधका कारण तराई क्षेत्रमा डबान भएको निष्कर्ष निकालेको छ । 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदनमा भारतद्धारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्ष निकालेको हो ।

चुरेमा भएको जथाभावी दोहनका कारण पनि तराईका जिल्लाहरु डुबानमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको समितिकी उपसचिव बबिता मिश्रले जानकारी दिइन । समितिको सोमबार बसेको बैठकमा पेश गरिएको प्रतिवेदनले नदीनालाको बाँध, सडकको कल्भर्टहरुको निर्माण परिपक्व नभएकाले पनि तराईमा डुबानका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको स्पष्ट पारिएको छ । 

नदीनाला र खोलाको ढुंगा, गिटी र बालुवाको वैज्ञानिक रुपमा उत्खनन् नभएका कारण पनि बाढी र डुबानको समस्या बढेर गएको समितिकी उपसचिव मिश्रले बताइन् ।

प्रतिवेदनले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ । क्षति भएका घरजग्गा तथा सम्पत्तिको यथार्थ विवरण तयार गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझाव पनि प्रतिवदेनमा छ । प्रतिवेदनमा बाढी, पहिरो र डुबानको समस्या अझै रहेको उल्लेख गर्दै उद्धार टोलीको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपर्ने भनिएको छ ।
संसदीय समितिले प्रभावित जिल्लाहरुमा पुगेर तयार पारेको सो स्थलगत अध्ययन प्रतिवेदनमा तराईको डुबान समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने निष्कर्ष निकालिएको छ । प्रतिवेदन अध्ययन गरी समितिका सदस्यहरुले थप सुझाव दिएपछि सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

समितिका सदस्यहरुले मंगलबारसम्म सुझाव दिने र त्यसैको आधारमा सो प्रतिवेदनलाई पूर्णता दिई सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ । समितिले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल राहतको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।