मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका धनगढी
२०७६ श्रावण १३ सोमबार ११:४६:००
Read Time : > 1 मिनेट
प्रदेश

धनगढी बम विस्फोटका घाइतेको उपचार खर्चबारे अन्योल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका धनगढी
२०७६ श्रावण १३ सोमबार ११:४६:००

धनगढीमा ५ साउनमा भएको बम विस्फोटमा परी घाइते भएकाको उपचार खर्च कसले व्यहोर्ने भन्ने अन्योल देखिएको छ । घाइते सबैको उपचार खर्च हालसम्म अस्पतालले व्यहोरिरहेको छ । बम विस्फोटकका तीनजना घाइतेको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । उपचार खर्चको अन्योलले भारतको लखिमपुर घर भएका घाइते मोबिन खान डिस्चार्ज भएको दुई दिनपछि घर गएका छन् । 

अस्पतालले उनलाई १० साउनमा डिस्चार्ज गरेको थियो । उपचार खर्च तिर्न नसकेर दुई दिनसम्म अस्पतालको बेडमै रहेका खान जिल्ला प्रशासनको समन्वयमा आइतबार घर गएका हुन् । खानकी श्रीमती सल्मा खातुनले अस्पतालले एक लाख पाँच हजार रुपैयाँ बिल देखाएको बताइन् ।

बम विस्फोटका अर्का घाइते जितेन्द्र यादवले उपचार खर्च कसले व्यहोर्ने भन्ने अन्योल रहेको बताए । उपचारमा राज्य र नेत्रविक्रम चन्दा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चासो नदेखाएको उनले गुनासो गरे । ‘अहिलेसम्म उपचारको पूरै खर्च अस्पतालले गरिरहेको छ,’ उनले भने, ‘उपचारमा लागेको खर्च मागे दिन सक्ने हैसियत छैन ।’ 

समन्वय भइरहेको छ : बोहरा
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले घाइतेको उपचार खर्चका लागि केन्द्रमा समन्वय भइरहेकाले डिस्चार्ज भएका घाइतेलाई घर पठाउन अस्पतालसँग समन्वय गरिएको बताए । डिस्जार्च भएका खान आइतबार घर फर्केका प्रमुख जिल्ला अधिकारी बोहराले बताए । अस्पताल सञ्चालक समितिका अध्यक्ष धीरेन्द्र साउँदले घाइतेको सबै उपचार खर्च हालसम्म अस्पतालले व्यहोरिरहेको बताए । उनले उपचारमा लागेको खर्च कसले दिने भन्ने आधिकारिक जानकारी कतैबाट नआएको बताए । 

घटनापछि विज्ञप्ति जारी गर्दै नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घाइतेको सबै उपचार खर्च पार्टीले व्यहोर्ने जनाउँदै उपचारमा कमी हुन नदिन अस्पताललाई आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी बोहराले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने गरी प्रयास भइरहेको बताए ।घाइतेको उपचार खर्चसम्बन्धी बिल मन्त्रालयमा पठाएर उपचार खर्चको व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले बताए । यद्यपि सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको छैन । 

विप्लव समूहका कार्यकर्ताले बोकेको बम ५ साउनमा निलम होटेलमा विस्फोट हुँदा एकजनाको मृत्यु हुनका साथै चारजना घाइते भएका थिए । बझाङ घर भएका रामबहादुर सिंहको मृत्यु भएको थियो । विप्लवका कार्यकर्ता पिठ्युमा बम बोकेर होटेलमा चिया पिउन बसेका वेला असावधानीरूपमा बम विस्फोट भएको थियो ।
विस्फोटका घाइते होटेल सञ्चालन केशवराज पाण्डेयको नेपालगञ्जमा उपचार भइरहेको छ । अर्का घाइते कञ्चनपुरका लक्ष्मण सेरालाको प्रहरी सुरक्षा घेरामा उपचार भइरहेको छ । विप्लवका कार्यकर्ता भएकाले उनलाई सुरक्षा घेरामा राखेर उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।