मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सङ्गीत
२०७६ श्रावण १३ सोमबार ०९:०७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

बिपीलाई हेर्ने रायमाझी–दृष्टि

Read Time : > 5 मिनेट
सङ्गीत
२०७६ श्रावण १३ सोमबार ०९:०७:००

साउन पहिलो साता नेपाली राजनीतिक वृत्तमा बिपी कोइरालाको मूल्यांकन–पुनर्मूल्यांकनका चर्चा पढ्न पाइन्छ । यसपटक पनि त्यो परम्पराको सुरतालमा केही कोरस स्वर सुनिए । बिपीको विहंगम चर्चा त अन्यत्रै गरौँला । तर, इतिहासमा जुन दुईधारे खतरनाक हतियारले बिपीमाथि आक्रमण भइरहन्छ, यसपटक पनि त्यो दोहोरिएपछि यो छोटो टिप्पणी लेख्ने आवश्यक ठानिएको हो ।

बिपीमाथि आक्रमण भइरहने दुईधारे हतियारमध्ये पहिलो हो– शाही राष्ट्रवादी धार । दोस्रो– स्वयं प्रजातन्त्रवादी धार । जसले गर्ने अतिरञ्जना र महामानव निर्माण–कथाको आलोचना पछि कतै गरौँला । यो लेखको सन्दर्भ बिपीमाथि महेन्द्रनिर्मित चस्मा लगाएर वामवृत्तबाट हुने अतिवादी आक्रमण मात्रै हो ।

बिपी आलोचनाका खातिर शाही राष्ट्रवादी पेस्तोल युवा टिप्पणीकार सुजित मैनालीले वेलावेला उठाउने गरेका छन् । पछिल्लोपटक (६ साउन, नयाँ पत्रिका) विदेश–नीतिलाई सन्दर्भ बनाएर उनले फेरि त्यही पुरानो आयुध चलाएका छन् । र, बिपीलाई चीनविरोधी तथा ‘भारतीय खेमा’का नेताका रूपमा चित्रित गरेका छन् । प्रस्ट शब्दमै उनले भनेका छन्, ‘भारतसँगको सम्बन्धलाई केन्द्रमा राखेर त्यसकै आलोकमा नेपालको समग्र विदेश–नीति तर्जुमा गर्ने प्रयास बिपीले गरे ।’ र, उनको दाबी छ– महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेसँगै ‘बिपीले सोचेभन्दा भिन्न विदेश नीति’ लागू गरे । यो ‘भिन्न’ वा ‘अर्कै धार’को पदावलीको निहितार्थ अथ्र्याउन अप्ठ्यारो छैन । त्यो पञ्चायती राष्ट्रवादलाई दिएको अमूर्त सर्वनाम हो ।

मैनालीको टिप्पणीमाथि प्रतिटिप्पणी वा खण्डन यस लेखको उद्देश्य होइन । हरेक युगका लोकतान्त्रिक आन्दोलनलाई विदेशी हस्तक्षेप देख्ने र राजखलकलाई नै देश निर्माणका देउताका रूपमा पुज्ने प्रवृत्तिसँग यतिखेर आइपुगेर फेरि विमर्श गर्नुपर्ने परिवेश बन्नु नेपाली समाजको विडम्बना हो । मैनालीको टिप्पणीले नेपाली बौद्धिक–जगत् अहिले पनि शाही राष्ट्रवादको मनोविज्ञानबाट कति गहिरो गरी ग्रसित छ भन्ने प्रश्नमा छलफल गर्ने सन्दर्भ टकारिदिएको छ । र, प्रदीप गिरिले वेलावेला भन्ने गरेझैँ बिपीको सही आलोचना र पुनर्मूल्यांकन झन् टड्कारो छ भन्ने आप्त वाक्यलाई अझ सान्दर्भिक बनाइदिएको छ ।

अझ वामवृत्तमै बिपीलाई केशरजंग रायमाझीका आँखाबाट मूल्यांकन गर्ने नवोदित बौद्धिक पनि छन् भन्ने यो पछिल्लो दृष्टान्त हो । यो दृष्टान्त नयाँ र मौलिक भने होइन । अहिले डबल नेकपाको नुनको सोझो गरिरहेका धेरै ‘राष्ट्रवादी बौद्धिक’ सोही कम्युनिस्ट–प्रवृत्तिका पछुवा मात्रै हुन् । पुष्पलालका शब्दमा भन्ने हो भने ‘रायमाझी मार्का कम्युनिस्ट’को प्रतिवाद त्यसै आन्दोलनभित्रबाट हुनुपर्ने खाँचो मैनालीको टिप्पणीले सम्झाइदिएको छ ।

कुनै एउटा भाषण टपक्क टिपेर, कुनै कूटनीतिक संवादको मनोव्याख्या गरेर वा आफू सुहाउँदा केही उद्धरण अघि सारेर बिपीलाई भारतपरस्त भन्न सकिन्छ, बिपीलाई राजावादी पनि करार गर्न सकिन्छ वा राष्ट्रवादी उपाधि भिराउन पनि सकिन्छ । त्यसले आफूभित्रको मूढाग्रह तुष्टि मात्रै गर्नेछ, बिपीको समग्र मूल्यांकन गर्दैन । बिपीको सही मूल्यांकनका लागि उनको समग्र जीवन र राजनीति हेरिनुपर्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको भूमिका, राजा महेन्द्रसँगको द्वन्द्व, भारतसहित अन्य मुलुकसँगको सम्बन्धका आयाममा उनको वैचारिक सीमा–शक्ति तौलिनुपर्छ । त्यसमा पनि उनको राजनीतिक विचारमा देखिने उतार–चढाव तथा अन्तरविरोध र उनको सम्पूर्ण जीवन–व्यवहारको कुलयोग मूल्यांकनको प्रधान पक्ष हो । सीमा र कमजोरी सबै नेताका हुन्छन्, बिपीका पनि थिए । असहमत हुन सकिने वैचारिक भिन्नता लोकतन्त्रमा स्वाभाविक मानिन्छ । लोकतान्त्रिक आन्दोलनलाई ‘विदेशी हस्तक्षेप’ र लोकतान्त्रिक नेतालाई ‘अराष्ट्रिय तत्व’ भन्दै देशनिर्माणको सम्पूर्ण जस श्रीपेचधारी निरंकुशतालाई दिने प्रवृत्तिले यतिखेर बिपीलाई भारतपरस्त दर्शाउँदै महेन्द्रलाई समृद्धिकर्ता बनाउन खोजिरहेको छ ।

इतिहासलाई बंग्याउने वा सच्याउने ल्याकत राजनीतिले नै राख्ने भएकाले राजनीतिक नेतृत्व आलोचनाको तारो हुनु गलत त छैन, तर दलका अगुवाले मात्रै राजनीति गरिरहेका हुँदैनन्, तिनलाई सैद्धान्तिक बाटो सुझाइरहने बौद्धिक पनि सही वा गलत राजनीतिमा त्यत्तिकै जिम्मेवार हुन्छन् ।

यो प्रवृत्तिले नेपाललाई राजा–महाराजाकै पुख्र्यौली सम्पत्ति ठान्छ । यसले जनतालाई देश ठान्दैन, जनताले देश बनाएको पनि ठान्दैन । देशको शिलान्यास गरेको जस विजेता शासकलाई दिन्छ । देश जोगाएको जिम्मा निरंकुश शासकलाई दिन्छ । यस्तो प्रवृत्तिलाई बिपी स्वयंले उहिल्यै जवाफ दिएका थिए, ‘नेपाल भनेको नेपालका ती गरिब जनता हुन्, जो हिमाल, पहाड र तराई–मधेसमा बसोवास गर्छन्, जसको आङमा फाटेको मैलो लुगा छ, टाउकामा घेरो मात्र भएको टोपी छ, जो बिरामी परे औषधिमूलो पाउँदैनन्, आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न सक्दैनन्, जसलाई बिहान खाए, बेलुका के खाऊँ र बेलुका खाए बिहान के खाऊँ भन्ने समस्या छ । तिनै गरिब किसानको देश हो नेपाल । ठूलाठूला महल र दरबारमा बस्ने, मोटरमा हिँड्ने त यहाँ १० प्रतिशत पनि छैनन् । र, तिनीहरू नेपाल होइनन् ।’ (बिपी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता) ।

एकताकाका नेकपा महासचिव रायमाझी राजा महेन्द्रको ०१७ सालको ‘कु’लाई समर्थन गर्दै अन्ततः राजपरिषद् स्थायी समितिका सभापतिसम्म भएका थिए । उनी राजा महेन्द्रलाई ‘प्रगतिशील’ र ‘राष्ट्रवादी’ ठान्थे, अनि बिपीलाई ‘अराष्ट्रिय’ र ‘भारतपरस्त’ । पञ्चायतकालमा बिपीकै अनुरोधमा दिल्ली पुगेका रायमाझीले भारतमा बसेर ‘अराष्ट्रिय तत्व ’को आरोप सहनुभन्दा देशमै फर्केर गिरफ्तार हुन बिपीलाई सुझाएका थिए ।

उनले भनेका थिए, ‘तपाईं गिरफ्तार भइहालेमा पनि श्री ५ सँग कुराकानी गरेर हामी सबैले तपाईंलाई छिटोभन्दा छिटो छुटाउने प्रयत्न गर्नेछौँ ।’ (केही सम्झना, केही चिन्तन) । बिपी, कांग्रेस, राजतन्त्रविरोधी अरू दल वा गणतन्त्रवादी शक्तिबारे रायमाझी कस्तो धारणा राख्थे भन्ने बुझ्न उनको ‘केही सम्झना, केही चिन्तन’ पुस्तकले सघाउँछ । अहिले राजनीतिक मञ्चको औपचारिकतामा राजतन्त्र छैन, तर त्यसको वैचारिक–सांस्कृतिक विरासत बोक्ने रायमाझी–प्रवृत्ति कम्युनिस्ट नाममै सत्तासीन छ ।

कम्युनिस्ट आन्दोलनभित्र बिपीलाई ‘भारतपरस्त’ वा ‘भारतीय दलाल’ देख्ने प्रवृत्ति रायमाझीको मात्रै थिएन । मोहनविक्रम सिंह स्कुलले पनि बिपीलाई जनवादी (अहिलेको शब्दमा लोकतान्त्रिक) आन्दोलनको शत्रु देख्थ्यो । सिंहको सैद्धान्तिक रेखोपाखोमा स्थापित यो धारा रायमाझीभन्दा एउटा कुरामा फरक थियो– यसले बिपी र महेन्द्र अर्थात् कांग्रेस र राजा दुवैलाई बराबरस्तरको शत्रु देख्थ्यो (जसरी बिपी स्वयं पनि कम्युनिस्ट र राजतन्त्रलाई धेरै हदसम्म समानदूरीमा राख्थे) ।

‘क्रान्ति र पार्टीका तात्कालीक समस्याहरू’ शीर्षकको दस्ताबेजमा मोहनविक्रम सिंहले ०३१ सालमा लेखेका छन्, ‘कांग्रेसको प्रजातन्त्रको सिद्धान्त भारतीय एकाधिकारको रक्षाको उद्देश्यले प्रेरित हुन्छ, ऊ भारतीय विस्तारवादी स्वार्थको रक्षा गर्ने शक्ति हो, ...वर्गीय दृष्टिकोणले कांग्रेस र राजा दुवै हाम्रा मुख्य दुस्मन हुन् (रातो तरबार) । मोहनविक्रम स्कुलकै पछिल्लो घटक तत्कालीन नेकपा (माओवादी)भित्र पनि पटक–पटक दरबार र लोकतान्त्रिक शक्तिलाई हेर्ने मामिलामा विवाद परिरहन्थ्यो ।

हरेक युगका लोकतान्त्रिक आन्दोलनलाई विदेशी हस्तक्षेप देख्ने र राजखलकलाई देश निर्माणका देउताका रूपमा पुज्ने प्रवृत्तिसँग यतिखेर फेरि विमर्श गर्नुपर्ने नेपाली समाजको विडम्बना हो, बिपीलाई केशरजंग रायमाझीका आँखाबाट मूल्यांकन गर्ने नवोदित बौद्धिक पनि छन् भन्ने यो पछिल्लो दृष्टान्त हो ।
 

१५ वर्षअघि माओवादीभित्र आन्दोलनको मुख्य वैरी राजतन्त्र हो कि भारत भन्ने प्रश्नमा प्रचण्ड र बाबुराम दुई खेमामा पुगेका थिए, झन्डै पार्टीमा विभाजन आएको थियो । ‘कान्तिपुर’ दैनिक (०६१ माघ ६)मा भट्टराईले लेखेका थिए, ‘केशरजंग रायमाझी र परशुनारायण चौधरी प्रवृत्तिलाई परास्त नगरी नेपालमा लोकतान्त्रिक आन्दोलनको डुंगा पार लाग्नै सक्दैन ।’ राजा वा दरबारिया शक्तिलाई नै ‘राष्ट्रवादी’ र ‘प्रगतिशील’ देख्ने रायमाझी–प्रवृत्तिले आज पनि बौद्धिकजगत्मा फेरि एकपटक शिर उठाएको छ । र, भाका हालेर भन्दो छ– बिपी भारतीय दलाल थिए, महेन्द्र राष्ट्रवादी !

आफूलाई इतिहासकै राष्ट्रवादी र विकास तथा समृद्धिको साधक सम्झने अहिलेको सरकारका प्रमुख स्वयं महेन्द्रलाई आदर्श नेताका रूपमा ग्रहण गर्छन् । आजको डबल नेकपाको मूल प्रवृत्ति हिजोका रायमाझीहरू वा मसालहरूको योगबाट बनेको छ । राजनीतिक आवरणमा हँसिया–हथौडा पोतिएको झन्डा छ, तर त्यसको अन्तर्यमा कम्युनिस्ट चरित्र शून्य छ, त्यसले हिँडिरहेको बाटोमा समाजवादी छनक कतै छैन । अनि, त्यसको सांस्कृतिक चिन्तन, मूल्य–मान्यता र विश्वास पञ्चायती राष्ट्रवादको कार्बन कपीभन्दा भिन्न छैन ।

गिरिजाप्रसाद कोइरालाको एउटा अतिरञ्जित अभिव्यक्ति कतिपय सन्दर्भमा सटिक लाग्छ । उनले एकपटक माले–मसाले–मन्डले उस्तै हुन् भन्ने टिप्पणी गरेका थिए । कांग्रेस वा त्यसका समर्थकले मन पराउने र कम्युनिस्टले पटक्कै नरुचाउने गिरिजाप्रसादको यो वक्तव्यको ‘बिट्विन द लाइन’भित्र पुष्पलाल, निर्मल लामा (यी नेता माले र मसाल थिएनन्) आदिले नेतृत्व गरेको वैचारिक धार पर्दैन ।कांग्रेस वा बिपीको मूल्यांकनका विषयमा होस् वा राजतन्त्रविरोधी आन्दोलन र राजा महेन्द्रको भूमिकाका सन्दर्भमा होस्, धेरै हदसम्म यी नेताले लिएको नीति ‘माले–मसाले’ राष्ट्रवादी–प्रवृत्तिबाट मसिनो गरी मुक्त थियो । इतिहासको विडम्बना, कम्युनिस्ट आन्दोलनमा पुष्पलाल वा निर्मल लामाले लिएको संयुक्त मोर्चा र जनसंघर्षसम्बन्धी नीतिको निरन्तरता र नवीन विकास गर्ने कुनै समूह अहिले नेपाली कम्युनिस्ट राजनीतिको दृश्यफलकभित्र देखिन्न (सायद कतै किनारामा मूर्छित पो छ कि ? या फोसिल बनिसक्यो कि ?) । नयाँ धारा निर्माण गर्ने कसम खाएका शक्ति पनि इतिहासको पुनर्मूल्यांकन गर्ने ह्याउ बटुलिरहेका देखिन्नन् या उनीहरूको प्राथमिकतामा त्यो परेकै छैन । यसको राजनीतिक फाइदा त्यही शाही राष्ट्रवादलाई आदर्श देख्ने ‘रायमाझी मार्का’ बौद्धिक वा ‘माले–मसाले’ कम्युनिस्टले लिइरहेका छन् । 

 

धेरै विश्लेषकको ध्यान यतिखेर राजनीतिक नेतृत्वतिर मात्रै आलोचकीय छ । इतिहासलाई बंग्याउने वा सच्याउने ल्याकत राजनीतिले नै राख्ने भएकाले विश्लेषकको तारो गलत त छैन तर बुझ्नुपर्ने के छ भने दलका अगुवाले मात्रै राजनीति गरिरहेका हुँदैनन् । ती अगुवाका लागि सैद्धान्तिक बाटो सुझाइरहने बौद्धिक पनि सही वा गलत राजनीतिमा त्यत्तिकै जिम्मेवार हुन्छन् । ओली–नायकीय राष्ट्रवादी अखण्ड किर्तनको स्क्रिप्ट अहिले तिनै बौद्धिकले लेखिरहेका छन्, जो पृथ्वीनारायण शाहलाई जग, महेन्द्रलाई घर र ओली स्वयंलाई ओत मानेर ओत लागि रहेका छन् । उनीहरू रायमाझीकै भाकामा बिपी कोइरालालाई अराष्ट्रिय र भारतपरस्त भनिरहन्छन्, महेन्द्र शाहलाई राष्ट्रवादी र प्रगतिशील शासकका रूपमा प्रशंसा गर्छन् । 

बिपीले आदर्श ठानेको संसदीय प्रजातन्त्रले अहिले कति हिंस्रक बेहोरा देखाइरहेछ, त्यो बेग्लै अध्ययन र आलोचनाको विषय हो । बिपी माक्र्सलाई पनि आदर्श ठान्थे, तर तिनै माक्र्सका अनुयायी आज कसरी माक्र्सविरोधी कारखानाका कलपुर्जामा फेरिएका छन्, त्यो पनि बेग्लै विचार–प्रतिरोधको माम्लो हो । तर, आधुनिक नेपाली राजनीतिक इतिहासमा बिपीको स्थान महेन्द्रको तुलनामा कैयौँ गुणा प्रगतिशील प्रयत्न थियो ।

महेन्द्रको सम्पूर्ण ध्येय राजगद्दी जोगाउनमा थियो, पुख्र्यौली बिरासतमा शक्तिशाली तानाशाह हुनुमा थियो । नेपालको राजनीतिलाई लोकतान्त्रिक चेतना दिने र जनतालाई अधिकारसम्पन्न बनाउने लडाइँमा बिपीले निरन्तर जनपक्षीय कोसिस गरिरहे, भलै त्यो सफल भएन, अधुरै रह्यो । विजेताको गीत गाउने बौद्धिक संसारभरि छन्, असफलको अधुरो दशा सुन्ने श्रोता कमै छन् । मैनालीको पछिल्लो लेख विजेता शासककै कीर्तन–शृंखलाको अर्को अन्तराका रूपमा आएको छ ।

समयले जसरी महेन्द्रको शासनसँग बदला लिइसकेको छ, महेन्द्रको सांस्कृतिक राजनीतिका अनुचरलाई पनि समयले नै प्रतिवाद गर्नेछ । इतिहासतिर फर्केर लोकतान्त्रिक आन्दोलनका अगुवाप्रति शाही–पेस्तोल चलाउने राजनीतिले भविष्यको वैचारिक तोप अवश्यै झेल्नुपर्नेछ ।