१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण १२ आइतबार १५:०८:००
Read Time : > 2 मिनेट
प्रदेश

होटेलमा बस्छन् प्रदेश सभा संसदीय दलका बैठक

संसदीय समिति पनि अस्तव्यस्त, बैठक बस्नै समस्या

Read Time : > 2 मिनेट
२०७६ श्रावण १२ आइतबार १५:०८:००

सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलको बैठक होटेलमा बस्ने गरेको छ । कार्यालयको अभावमा होटेलमा बस्नुपर्ने बाध्यता रहेको जनाएको छ । 

प्रदेश सभाको सबैभन्दा ठूलो पार्टी नेकपा संसदीय दलको बैठक प्रायः संसदीय दलको कार्यालयमा बस्दैन । दलको कार्यालय साँघुरो भएकाले बैठकहरू होटेल र अन्य ठाउँमा बस्ने गरेको सांसदहरूले बताएका छन् । ‘कार्यालय साँधुरो छ, सबै सांसद अटाउन समस्या हुने हुँदा दलको बैठक कहिलेकाहीँ बाहिर बस्छ,’ नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भने । संसदीय दलका कतिपय बैठकमा प्रदेश इन्चार्ज भीम रावल, अध्यक्ष कर्ण थापा, स्थायी समिति सदस्य लेखराज भट्टलगायत नेताहरूको पनि उपस्थिति रहने गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका कार्यालयहरू अझै व्यवस्थित हुन सकेका छैनन् । जसले गर्दा नेताहरू सहभागी हुने अधिकांश बैठक होटेल, मुख्यमन्त्री कार्यालय वा अन्यत्र हुने गरेको नेकपाका एक सांसदले बताए । 

कार्यालय व्यवस्थित नहुँदा संसदीय दलका बैठकहरू गर्न समस्या हुने गरेको छ । प्रदेश सभामा रहेका तीनवटै दलका संसदीय दलका कार्यालयका लागि प्रदेश सभा भवननजिक पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको एक–एक कोठा दिइएको छ । दलहरूले कार्यालयमा बोर्डसमेत झुन्ड्याउन पाएका छैनन् ।  

१२ सांसद रहेको कांग्रेस संसदीय दलको कार्यालय पनि एउटा सानो कोठामा छ । साँघुरो कोठामा कोचिएर बस्नुपर्ने बाध्यता रहेको कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले बताए । आफ्नो पार्टीका नेताहरूसमेत सहभागी हुने दलको बैठक भने होटेलमा गर्ने गरेको उनले बताए । 

‘दलको कार्यालय भँैसीको गोठजस्तै छ । निकै कन्जस्टेड भएर बसेका छौँ,’ प्रमुख सचेतक बोहराले भने, ‘सोफा, कम्प्युटर राख्ने ठाउँ छैन ।’ १८ महिनासम्म दलका कार्यालय व्यवस्थित नहुनु दुःखद् भएको उनले बताए । दलका कार्यालय व्यवस्थापनमा प्रदेश सरकार र सचिवालयले ध्यान नदिएको प्रतिपक्षको आरोप छ । 

सभामुख र उपसभामुखबाहेक ३७ जना सांसद रहेको नेकपा संसदीय दलको कार्यालय पनि एउटा कोठामा छ । सांसद मात्रै बस्दा जसोतसो अट्न सक्ने अवस्था छ । तर, पार्टीका नेता–कार्यकर्ता आउँदा बस्ने ठाउँ नहुने नेकपाका सांसदहरू बताउँछन् । राजपाको दलको कार्यालयमा पनि पर्याप्त ठाउँ छैन । राजपाका दुई सांसद छन् ।

संसद् सचिवालयका सचिव रामसिंह धामीले प्रदेशसभा परिसरमा निर्माणाधीन भवनको काम सकिए नेकपा र राजपाको दलको कार्यालय त्यहाँ रहने उनले बताए । ती दुई दलले अहिले प्रयोग गरिरहेको कोठा कांग्रेसलाई दिइने उनले जनाए ।  

संसदीय समितिलाई पनि समस्या
प्रदेश सभाका विषयगत समितिका कार्यालय प्रदेश सभा परिसरमै छन् । साँघुरो कोठामा रहेका समितिका कार्यालय पनि व्यवस्थित छैनन् । साँघुरो कार्यालय हुँदा समितिका बैठक बस्न समस्या हुने गरेको छ । 

‘कार्यालयमा समितिकै सदस्यहरू अटाउने ठाउँ छैन,’ सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बमले भनिन्, ‘विधायन समितिको हलमा बैठक गर्छौं तर बैठकमा पत्रकार र अन्य आगन्तुक आए यहाँ पनि बस्ने ठाउँ पुग्दैन ।’ समितिमा ११ जना सांसद सदस्य छन् ।

संसदीय समितिमा छलफल
संसदीय समितिका कार्यालय व्यवस्थापनबारे प्रदेशको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको छ । यसबारे छलफल गर्न समितिले बिहीबार सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला बडाल जोशीलाई बोलाएको थियो । तर, दुवैजना नआएको समितिका सभापति कुमारी नन्दा बमले बताइन् । ‘संसद् गठन भएको १८–१९ महिनासम्म पनि समितिका कार्यालय व्यवस्थित हुन सकेका छैनन् । यसबारे सभामुखसँग छलफल गरेर सहजीकरण गर्न खोजेका थियौँ । तर, उहाँ आउनुभएन,’ बमले भनिन् । 

कार्यालय व्यवस्थित नभएको समिति सदस्य चुनकुमारी चौधरीले गुनासो गरिन् । ‘संसदीय समितिका बैठकमा मुख्यमन्त्री, मन्त्रीदेखि सचिवलाई पनि बोलाउनुपर्ने हुन्छ । तर, साँघुरो भएकाले कार्यालयमा बैठक बस्न ठाउँ छैन,’ सदस्य चौधरीले भनिन्, ‘दुई वर्ष बित्न थाल्यो, कहिले व्यवस्थापन हुने हो ?’ 

कार्यालय व्यवस्थित गर्न सांसदको माग
कार्यालयमा बैठक बस्ने ठाउँसमेत नहुँदा समितिका कामकारबाहीमा असर पर्ने समितिका अर्का सदस्य भरतबहादुर खड्काले बताए । संसदीय दल र समितिका कार्यालय व्यवस्थापन गर्न सभामुखलाई पटक–पटक आग्रह गरिएको उनले बताए । विषयगत समिति चुस्त नभए संसद् प्रभावकारी नहुने उनले बताए । विषयगत समिति चुस्त बनाउन कार्यालय व्यवस्थापन पनि महत्वपूर्ण पक्ष भएको सांसद खड्काको भनाइ छ ।

कम्तीमा १० वर्षसम्म अस्थायी राजधानी नसर्ने भएकाले संसदीय समितिका कार्यालयलाई व्यवस्थित बनाउनुपर्ने लेखा समितिका सदस्य अमर साउदले बताए । सरकार र सचिवालयले प्रयास गरे समितिका कार्यालय व्यवस्थित गर्न सकिने उनले जनाए । 

संसद् सचिवालयका सचिव धामीले समितिका कार्यालय व्यवस्थापनबारे सचिवालयको बैठकमा यस विषयलाई उठाउने बताए । यसबारे समितिका सदस्यले सभामुखसँग पनि छलफल गनुपर्ने उनको भनाइ छ