मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण १२ आइतबार ११:३७:००
Read Time : > 1 मिनेट
खेलकुद

पोखरामा १३औँ सागको तयारी सुस्त

Read Time : > 1 मिनेट
२०७६ श्रावण १२ आइतबार ११:३७:००

पोखरामा हुने सातमध्ये एक खेल ह्यान्डबलको मैदान स्तरोन्नतिका लागि शनिबार समिति गठन

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समय नजिकिँदै जाँदा पोखरा सहरमा मैदान स्तरोन्नतिका लागि समिति गठनको काम सुरु गरिएको छ । सागअन्तर्गत पोखरामा सात खेल हुनेछन् । त्यसमध्ये एक ह्यान्डबल हो । ह्यान्डबलको मैदान स्तरोन्नति गर्न शनिबार एक समिति गठन भएको छ । पोखरामा हुने अन्य खेलको तयारीको अवस्थासमेत सुस्त छ । १५ देखि २४ मंसिरसम्म १३औँ साग हुनेछ ।

खर्च एक करोड २५ लाख
कास्की जिल्ला ह्यान्डबल संघका कार्यवाहक अध्यक्ष चित्र थापाको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष तेज गुरुङको उपस्थितिमा शनिबार बसेको बैठकले ह्यान्डबल मैदान स्तरोन्नतिका लागि एक उपभोक्ता समिति गठन गरेको छ । बैठकले योगेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा नौ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो । 

मैदान स्तरोन्नतिका लागि एक करोड २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । मैदानमा ढलान गरी म्याट ओछ्याउन उक्त रकम लाग्ने संघका केन्द्रीय अध्यक्ष गुरुङले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले साग खेलका लागि मैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष ०७६/७७ मा ५० लाख विनियोजन गरेको छ । मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलानसँगै आधुनिक म्याट बिछ्याउनुपर्ने उनले बताए । 

दुई स्वर्णका लागि प्रतिस्पर्धा हुने
प्रतियोगिताअन्तर्गत ह्यान्डबलतर्फ दुई स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला गरी दुई विधामा दुई स्वर्णका लागि प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा नेपालबाट सहभागी हुने खेलाडी तीन चरणमा छनोट हुनेछन् । गत वैशाखमा सम्पन्न आठौँ राष्टिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका  खेलाडीमध्येबाट पुरुष र महिला प्रारम्भिक चरणमा समान २८ खेलाडीले प्रशिक्षण गरेका थिए । 

एक सातापछि बन्द प्रशिक्षण सुरु गरिनेछ । दोस्रो चरणमा पुरुष र महिलामा समान २४ खेलाडी रहनेछन् । अन्तिम चरणमा महिला र पुरुष टोलीका लागि १६–१६ खेलाडी छनोट हुनेछन् । बैठकले ह्यान्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न संघका मोहन रेग्मीको संयोजकत्वमा एक समिति बनाएको छ ।