मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण १० शुक्रबार ०७:५३:००
Read Time : > 1 मिनेट
अर्थ

अब जनकपुर विमानस्थलमा पनि हवाई इन्धन भर्ने सुविधा

Read Time : > 1 मिनेट
२०७६ श्रावण १० शुक्रबार ०७:५३:००

नेपाल आयल निगमले जनकपुर विमानस्थलमा हवाई इन्धन स्टेसन निर्माणको शुक्रबार शिलान्यास गर्दै छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले स्टेसनको शिलान्यास गर्ने निगमले जनाएको छ । स्टेसनको शिलान्याससँगै शुक्रबारदेखि नै विमानहरूलाई ट्यांकरबाट सीधै इन्धन उपलब्ध गराउन सुरु हुनेछ ।

निगमको एभिएसन विभाग प्रमुख दीपक बरालका अनुसार २ वटा रिफ्युलर (ट्यांकर) मार्फत विमानलाई जनकपुरमै इन्धन उपलब्ध गराउन थालिनेछ । यसअघि हाल काठमाडौं–जनकपुर विमानस्थलमा उडान र अवतरण गर्ने विमानहरूले काठमाडौंमा नै दोहोरो रुटका लागि तेल भर्दै आएका थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–जनकपुर रुटमा नियमित ४ उडान हुँदै आएको छ । यो रुटमा बुद्ध र यती एयरलायन्सेसले उडान भर्दै आएका छन् । निगम प्रवक्ता वीरेन्द्र गोइतले जनकपुर विमानस्थलमा उडान संख्या बढ्दै गएकाले हवाई इन्धन आपूर्ति गर्ने संरचना विकास गरेको जानकारी दिए । ‘जनकपुरमा हवाई उडान बढ्दै गएकाले इन्धन खपत पनि धेरै हुने स्थिति देखिएको छ । जसकारण जनकपुरमै इन्धन आपूर्ति गर्ने संरचना तयार गरिएको हो ।’ 

उनका अनुसार जनकपुर विमानस्थलमा दैनिक करिब ३ हजार लिटर हवाई इन्धनको माग छ । यो माग पूरा गर्न अहिलेलाई १६ हजार लिटर क्षमताका दुईवटा रिप्mयुलर राखिएको छ । ‘२ वटा रिफ्युलरले एक दिनमा ३२ हजार हजार लिटरसम्म हवाई इन्धन उपलब्ध गराउन सक्छौँ,’ गोइतले भने । इन्धन मौज्दातका लागि ९ हजार लिटरको थप एउटा रिफ्युलरसमेत राखिने उनले जानकारी दिए । जनकपुरमा डिपो निर्माण नभएसम्म विराटनगरबाट हवाई इन्धन ओसारिनेछ । यहाँ भारतीय आयल कर्पोरेसन (आइओसी) को सिलगुढी डिपोबाट इन्धन आउने गर्छ । प्रवक्ता गोइतका अनुसार डिपोका लागि जनकपुर विमानस्थलले ५ कठा जग्गा उपलब्ध गराएको छ । काठमाडौं–जनकपुर करिब १ सय २३ किलोमिटरको यात्रा पूरा गर्न औसत २५ मिनेटको उडान गर्नुपर्छ । 

 ९ विमानस्थलमा इन्धन भर्ने सुविधा
नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभर २९ घरेलु विमानस्थल सञ्चालनमा छन् । तीमध्ये ९ स्थानमा मात्र हवाई इन्धन भर्ने सुविधा छ । निगमका अनुसार काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा हवाई इन्धन डिपो छ । मन्थली विमानस्थलमा अस्थायी संरचनाबाटै तेल भर्ने सुविधा छ । जनकपुरमा रिफ्युलरले तेल ओसारेर उपलब्ध गराउन लागिएको छ ।