१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण ९ बिहीबार ०९:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

महिला फुटबल टोली सम्मानित

Read Time : < 1 मिनेट
२०७६ श्रावण ९ बिहीबार ०९:२९:००

पाँचौँ महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रत्येक खेलाडीलाई जनही ३२ हजार पाँच सय पुरस्कार


युवा तथा खेलकुद मन्त्रालयले विराटनगरमा सम्पन्न पाँचौँ महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बुधबार एक कार्यक्रमबीच खेलकुदमन्त्री जगतबहादुर सुनारले नेपाली महिला टोलीका प्रत्येक खेलाडीलाई जनही ३२ हजार पाँच सय रुपैयाँ प्रदान गरेका हुन् । टोलीमा २० खेलाडी तथा एक प्रशिक्षक छन् । गत फागुनमा सम्पन्न उपाधि भिडन्तमा नेपाल भारतसँग स्तब्ध भएको थियो । 

कीर्तिमानी खेलाडी सम्मानित
मन्त्रालयमा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरी नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च राखेका खेलाडी पनि सम्मानित भएका छन् । नेत्रहीन महिला क्रिकेट टोली, एथलेटिक्स, ब्याडमिन्टन र पारा खेलाडी नगदसहित सम्मानित भएका हुन् । उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाएका छन् । यता हङकङमा भएको युथ एथलेटिक्समा नेपाललाई ऐतिहासिक रूपमा स्वर्ण दिलाएका अजितकुमार यादवलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । उनका प्रशिक्षक धनीराम चौधरीले ५० हजार रुपैयाँ पाए । युएईमा सम्पन्न यू–१५ च्याम्पियनसिपमा उपाधि जितेका प्रिन्स दाहालले एक लाख रुपैयाँ पाएका छन् । 

स्पेसल खेलाडी र पत्रकार पनि 
खेलकुद मन्त्रालयले स्पेसल ओलम्पिक खेलकुदका खेलाडी र पत्रकारलाई पनि सम्मान गरेको छ । युएईमा भएको स्पेसल ओलम्पिकमा नेपाललाई एथलेटिक्समा स्वर्ण दिलाएका अजय तामाङले एक लाख रुपैयाँ पाए । यता पाकिस्तानमा भएको नेत्रहीन क्रिकेटको विजेता नेपाली टोलीका प्रत्येक सदस्यले सम्मानस्वरूप जनही ५० हजार रुपैयाँ पाएका छन् । सो टोलीका अफिसियलले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । यसैबीच, राजधानी दैनिकका खेल पत्रकार रामसूदन तिमल्सिना र कान्तिपुर टेलिभिजनका प्रदीप लेखीले सम्मानस्वरूप ५० हजार रुपैयाँ पाएका छन् ।