मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ श्रावण ८ बुधबार १०:५५:००
Read Time : > 2 मिनेट
नयाँCity

हामी घरको न घाटको भएका छौँ : राजेश हमाल

सहर संवाद

Read Time : > 2 मिनेट
नवीन प्यासी काठमाडाैं
२०७६ श्रावण ८ बुधबार १०:५५:००

सहर भन्नसाथ आममानिसको दिमागमा खेल्ने कुरा हो– सुविधा, रोजगार र शानदार जीवनशैली । अनि हामी बाँचिरहेको सहर कस्तो छ त ? धेरैको उत्तर आउँछ, स्वार्थी । थानकोट हुँदै कलंकीसम्म आइपुग्दा सहर सपनाको सहर नै हुन्छ । पछि बिस्तारै सहर स्वार्थी लाग्न थाल्छ ।  कलंकी झरेका सपनाहरूमध्ये केही सहरमै थन्किन्छन् । केही सपना एयरपोर्टमा जहाज चढिरहेका हुन्छन् । कोही कलंकीकै रुट प्रयोग गरेर फिर्छन्, जहाँबाट उनीहरू आइपुगेका थिए । नगन्य सपना भव्य रूपमा ठडिन्छन्, अग्ला महल जसरी । 

सहरसँग मानिसको आकर्षण युगौँ पहिले पनि जिउँदो थियो । अहिले पनि उस्तै छ । तर, काठमाडौं सहरको चर्चा गर्दा पछिल्लो २० वर्षमा अत्यधिक चाप बढेको लाग्छ, महानायक राजेश हमाललाई । अहिले त सहरमा उनलाई उकुसमुकुस नै हुन्छ । भन्छन्, ‘पछिल्लो तीन दशकमा यति परिवर्तन भएको छ कि त्योभन्दा अगाडिको जनजीवन तीन सय वर्षअगाडिको भन्दा त्यति भिन्न थिए । परिवर्तन त भइरहेको थियो, तर धिमी गतिमा ।’ तीन दशकअगाडिको कुरा गर्दा दैनिकी, रहनसहन एउटै थियो भन्ने लाग्छ हमाललाई । 

राजेश हमाल लाजिम्पाटमा हुर्किए । उनले सम्झँदा काठमाडौंमा औँलामा गन्न सकिने स्कुल थिए । लाजिम्पाटभन्दा तल खेत थिए । धानका बाला झुलिरहेका हुन्थे । पराल र खर्पन बोकेर हिँडेका मान्छे अहिले पनि हमालको आँखामा झलझली छन् । भन्छन्, ‘असनतिरबाट नेवारहरू खेतीपाती गर्न आउनुहुन्थो ।’ सहरमा अहिलेजस्तो परिवर्तन होला भनेर राजेश हमालले सोचेकै थिएनन् । भन्छन्, ‘म बसेको नै पचास वर्ष भयो, अहिले हेर्दा धेरै परिवर्तन भएको छ ।’ राजेश हमाललाई सहरको परिवर्तनप्रति खासै चिन्ता छैन, चिन्ता छ त अनियन्त्रित ढंगले निर्माण भएका घरले सिर्जित समस्याप्रति । 

केही समय पहिलेसम्म काठमाडौंलाई मन्दिरहरूको सहर भनिन्थ्यो । जनसंख्याभन्दा देवीदेवताका मठमन्दिर बढी देखिन्थे । हमाल भन्छन्, ‘अहिले आएर त्यसमा कुनै सत्यता छैन । पहिले त आकशबाट तल हेर्दा मन्दिर मात्र देखिन्थे, अहिले कंक्रिटको सहर देखिन्छ ।’ हामीले आधुनिकताको नाममा खराब ग¥यौँ भन्ने उनलाई लागिरहन्छ । भन्छन्, ‘अर्कोतिरबाट हेर्दा हामीले प्रदूषण त निम्त्यौैँ, तर आमजनतामा पहिलेजस्तो गरिबीचाहिँ छैन ।’ सहरलाई योजनाबद्ध ढंगले विकास गरेको भए यस्तो स्थितिको सामना गर्नुपर्दैन थियो भन्ने उनलाई खट्किरहन्छ ।

राजेश हमाल लाजिम्पाटमा हुर्किए । उनले सम्झँदा काठमाडौंमा औँलामा गन्न सकिने स्कुल थिए । लाजिम्पाटभन्दा तल खेत थिए । धान झुलिरहेका हुन्थे । पराल र खर्पन बोकेर हिँडेका मान्छे अहिले पनि हमालको आँखामा झलझली छन् ।

‘कलेज पढ्दाताका त काठमाडौंमा कतिवटा मोटरसाइकल छन् भनेर पनि भन्न सकिने स्थिति थियो,’ उनी भन्छन् । राजेशको बुबाले १९६४ मा फोक्स वाइडन गाडी किनेका थिए । भन्छन् ‘त्यो समयमा नेपालमा तीन सयभन्दा थोरै गाडी थिए । अधिकांश काठमाडौंभित्र मात्र चल्थे, काठमाडौंबाहिर गाडी लैजाँदा मानिसको हुल नै हुन्थ्यो ।’ राजेश हमालका बुबा कूटनीतिज्ञ थिए । पछि रसिया सरुवा भए । त्यो वेला उनको बुबाले १५ हजारमा गाडी बेचेको अहिले पनि राजेशलाई याद छ । 

हमालका अनुसार त्यतिवेला मान्छे प्रायः नांगै खुट्टा हिँड्थे । पातला घर थिए । ठाउँ–ठाउँमा टोल थिए । कुनै पनि कुरा किन्नका लागि न्युरोड जानुपथ्र्यो । तरकारी किन्न पनि सहर जानुपथ्र्यो । केही किसानले खर्पनमा बोकेर तरकारी लाजिम्पाट ल्याइपु¥याउँथे । मासुका लागि खिचापोखरी पुग्नुपथ्र्यो । पत्रिका पढ्न न्युरोड नै पुग्नुपथ्र्योे । राजेश भन्छन्, ‘ म त्यति बुढो मान्छे त होइन, तर यति धेरै परिवर्तन भएको छ ।’

‘परिवर्तन निश्चित भए पनि हामीले आफ्नो कुरालाई बिर्सदै गइरहेका छौँ,’ उनी भन्छन्, ‘जुन कुरालाई हामी आधुनिकता भनिहेका छौँ, त्यो पनि पूर्ण आधुनिकता छैन ।’ हामीले आफ्नो मूल्य मान्यता बिर्सेर अपनाएको कथित आधुनिकताप्रति राजेश हमालको गुनासो छ । भन्छन्, ‘हामी घरको न घाटको भएका छौँ ।’