मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण ८ बुधबार ०८:३०:००
Read Time : > 1 मिनेट
अर्थ

डेबिट कार्ड र क्रेडिट कार्ड भनेको के हो ?

Read Time : > 1 मिनेट
२०७६ श्रावण ८ बुधबार ०८:३०:००

सर्वसाधारण झुक्किने गर्छन्, डेबिट कार्ड र क्रेडिट कार्डबारे । सारमा भन्नुपर्दा आफूले बैंकमा बचत गरेपछि प्राप्त हुने कार्डलाई डेबिट कार्ड भनिन्छ । क्रेडिट कार्डका लागिचाहिँ आफ्नो बचत हुनैपर्छ भन्ने हुँदैन । बैंकले विश्वास गरेका ग्राहकलाई यस्तो कार्डको सुविधा दिने गर्छ । जसमा बचत नभए पनि निश्चित रकमसम्म झिकेर आफ्नो व्यवहार टार्न सकिन्छ । 

डेबिट कार्ड

यो नेपालमा खुबै चलनमा छ । बैंकिङ क्षेत्रको आधुनिकीकरणसँगै यसको प्रयोग पनि बढेको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने प्रायःजसो सबै बचतकर्तालाई बैंकले यस्तो कार्ड दिने गर्छ ।

तर, संस्थागत (कम्पनीका नाममा खाता खोल्नेले) निक्षेपकर्ताले भने यस्तो कार्ड पाउँदैनन् । यसलाई एटिएम (अटोमेटेड टेलर मेसिन) कार्ड पनि भनिन्छ । 

यसको माध्यमबाट बैंकको एटिएम मेसिनबाट नगद झिक्न वा वस्तु, सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ ।

त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भनिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायत समस्याबाट मुक्ति गराउँछ ।

कागजी चेकजस्तै यसको प्रयोग पनि बैंक खातामा आफ्नो रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । 

 क्रेडिट कार्ड


क्रेडिट कार्ड र डेबिट कार्डबाट व्यापारिक कारोबार गर्ने एकै विधि हो । मात्र यी दुईबीच एक भिन्नता छ । त्यो हो, डेबिट कार्डमा आफूले पैसा राखेपछि मात्र झिक्न सकिन्छ, अन्यथा रकम भिक्न सकिँदैन । तर, क्रेडिट कार्डमा आफ्नो बचत रकम हुनैपर्छ भन्ने छैन, बैंकले विश्वास गरेर निश्चित रकम झिक्ने सुविधा दिएको हुन्छ । यो एक प्रकारको ओभर ड्राफ्ट सुविधाजस्तै हो । 

यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु तथा सेवा उधारोमा खरिद गर्न सक्छ । त्यो रकम बैंकले तिरिदिने हो । बैंकले ‘अहिले खर्च गर्दै गर, पछि तिर्दै गए हुन्छ’ भन्ने उद्देश्यले यस्तो कार्ड जारी गर्छ । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म विनाब्याज रकम पाउँछ । तर, त्यो अवधि नाघेको अवस्थामा उपभोक्ताले ‘विलम्ब शुल्क’ र सामान्यभन्दा केही बढी दरले ब्याज तिर्नुपर्छ । यो कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि सकिन्छ । तर, केही शुल्क भने तिर्नुपर्छ । 

विदेशमा जस्तो नेपालमा क्रेडिट कार्ड त्यति चल्तीमा छैन । बैंकहरूले क्रेडिट कार्ड जारी गर्न चासो देखाएको पाइँदैन । विशेष गरी बैंकहरूले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्छन् । विकसित देशमा उपभोक्ताको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचनाका आधारमा कतिसम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकालेर कारोबार गर्छन् । नेपालमा भने यस्तो प्रणालीको विकास भइसकेको छैन ।